कालुको साढे आठ दशक

दूरबिन नेपाल     १० चैत्र २०७४, शनिबार १३:४१    

ललितपुर, १० चैत/ जीवनको साढे आठ दशक माटोसँगै काट्नुभएका कालु कुमालेलाई अझै विश्राम लिन मन लागेको छैन । ८५ वर्षीया कुमालेले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चित धेरै मूर्ति बनाउनुभयो । हिजोआज पनि उहाँ दैनिक मूर्ति बनाइरहनुभएको छ । मूर्ति बनाउँदा–बनाउँदै मर्ने उहाँको रहर छ ।

केही समयपहिले मात्रै कालुले छ फिट अग्लो भैरबको मूर्ति बनाउनुभएको थियो । अहिले सुतिरहेको गणेश र सतीदेवी बोकको शिवको मूर्ति बनाइरहनुभएको छोरा राकेश अवाले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले उहाँ माग गरिएको भन्दा पनि आफ्नो इच्छाअनुसारका मूर्ति बनाइरहनु भएको छ ।”

नेपाल मात्रै नभएर अरू धेरै देशका मठ–मन्दिर र गुम्बामा उहाँले बनाउनुभएको मूर्ति पुगेको छ । ती देशहरुमा पुग्दा आफूले बनाएको मूर्ति देखेर खुशी लाग्ने कालुले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरको पनि माथिल्लो तला वा विशेष ठाउँमा ती मूर्ति राखेको रहेछ ।”

दलाइ लामाका लागिसमेत कालुले मूर्ति बनाइसक्नुभएको छ । लामा सन् १९७६ मा अजिमा बनाउने व्यक्तिको खोजीमा पाटन आएका थिए । त्यहाँका स्थानीयमध्ये धेरैले कालुको नाम लिएपछि लामा कालु भेट्न आइपुगे । कालु भन्नुहुन्छ, “उहाँले भने जस्तो अजिमा मैले बनाएको थिएँ ।”

कुमाले रिसाएको अनुहार (एङ्ग्री फेस) बनाउनका लागि प्रख्यात हुनुहुन्छ । उहाँले हिन्दू र बौद्ध दुवै धर्मसम्बन्धी भगवान्का मूर्ति बनाउनुभएको छ । नेपालका विभिन्न समयमा हराएका मूर्तिको उहाँले जस्ताको तस्तै बनाउँदै आउनुभएको छ ।

पाटन बालकुमारी मन्दिरमा रहेको भैरबको मूर्ति, धन्नटोलीमा रहेको बराही मूर्ति, सङ्खमूलमा रहेको राधारुक्मणी मूर्ति, त्यागलमा गणेश र भैरबको मूर्ति, महाबौद्धमा रहेको मूर्ति, सतुङ्गलको विष्णुदेवी मन्दिरमा रहेको अष्टमातृका गणसहित १३ देवी मन्दिरका मूर्ति कालुका सिर्जना हुन् ।

मूर्तिकला आफैँले सिक्नुभएका उहाँले माटोको काम भने बुबाबाट सिक्नुभएको हो । उहाँका बुबाले माटोको काम गर्नुहुन्थ्यो र उहाँले पनि माटोबाट विभिन्न सामग्री बनाउन सिक्नुभयो । उहाँको परिवारले पुस्तौँदेखि मच्छिन्द्रनाथका लागि माटोका भाँडा बनाउँदै आएको छ । यो परिवारलाई थकु र दक्ष पनि भनिन्छ ।

कात्तिक नाच अन्तर्गतको अष्टमातृका नाचमा मुकुट हेरेर उहाँले विभिन्न आकृति बनाउन थाल्नुभयो । बिस्तारै उहाँको रुचि जीवजन्तु र चराचुरुङ्गी बनाउनतिर भयोे । उहाँको सीप देखेर महाबौद्धका एकजना व्यापारीले उहाँलाई अर्डर दिए । उहाँका छोरा अवाले भन्नुहुन्छ, “पहिले बनाएका सामान अरूलाई बाँड्ने गर्नुभएकामा बुबाले त्यसपछि व्यावसायिक रुपमा बनाउन थाल्नुभएको रहेछ ।”

महाबौद्धका ती व्यापारीले विदेशी पर्यटकलाई बिक्री गर्नका लागि मुकुण्डो, बाजा गणलगायत विभिन्न सामग्रीको अर्डर दिन्थे । दुई दशकसम्म उहाँले तीनै व्यापारीको मागअनुसार सामान बनाउनुभयो ।

सन् १९६४÷६५ मा तिब्बतको एउटा समूहले विभिन्न मूर्तिको मर्मतका लागि कालुसम्म आए । मन्दिरका भित्री भागमा रहेका गोप्य देवी–देवताका मूर्तिको मर्मतको जिम्मेवारीले उहाँलाई नयाँ मूर्ति बनाउनसमेत निपूर्ण बनायो । झण्डै १२ वर्ष लगाएर उहाँले तिब्बतबाट ल्याइएका टुटे–फुटेका मूर्ति बनाउनुभयो । उहाँ भन्नुहुन्छ, “तिब्बतीले टुटेका इष्ट देवताको मूर्ति मर्मत गर्दागर्दै बुबाले मूर्तिकला सिक्नुभएको रहेछ ।” त्यहीँबाट उहाँले रिसाएको अनुहारको मूर्ति कुद्न सिक्नुभएको हो ।

नेपालमा धेरै मठ–मन्दिर र गुम्बामा उहाँले बनाउनुभएको मूर्तिहरु छन् । तिब्बत, भुटान हङकङ, थाइल्याण्ड, सिंगापुर, जापान कोरियासम्म उहाँले बनाउनुभएको मूर्ति पुगेको छ । क्रोध अनुहार र शान्त दुवै अनुहार भएका मूर्ति उहाँ बनाउनुहुन्छ । शिव, काली, भैरब, महाकाल, जोगिनी, सम्बाराह लगायतका मूर्ति उहाँले बनाइसक्नुभएको छ । उहाँका पाँच छोरामध्ये दुई जना अहिले मूर्तिकलामा आबद्ध छन् । देश र विदेशमा समेत बाबुका कला फैलिएको देख्दा सन्तान गौरवको महसुश गर्छन् । सञ्चिता घिमिरे/रासस


१० चैत्र २०७४, शनिबार १३:४१ मा प्रकाशित