स्थानीय तहको भवनलाई पाँचदेखि १५ करोडसम्म

दूरबिन नेपाल     ३० श्रावण २०७५, बुधबार १३:४० | १२८ पटक पढिएको

काठमाडौँ, ३० साउन /  स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ । मन्त्रालयले महानगरको भवन निर्माण गर्न रु १५ करोड, उपमहानगरपालिकालाई रु १० करोड, नगरपालिकालाई रु आठ करोड र गाउँपालिकालाई रु पाँच करोड रकम दिने भएको छ । आफ्ना भवन नहँुदा स्थानीय तहलाई काममा समस्या भएको छ । “सबै स्थानीय तहको भवन तीन वर्षभित्रमा बनाउन हामीले बजेट विनियोजन गरेका हौँ ,” उहाँले भन्नुभयो ।

मन्त्रालयले सवै वडा कार्यालयका लागिसमेत बजेट विनियोजन गरेको छ । प्रवक्ता अधिकारीका अनुसार कार्यविधिमा महानगर र नगरपालिकाका वडा कार्यालय बनाउन रु एक करोड ५० लाख र गाउँपालिकाका वडा कार्यालय बनाउन एक करोड दिइने उल्लेख छ । सात सय ५३ स्थानीय तहमा करीब छ हजार ६६८ वडा कार्यालय छन् । रासस


३० श्रावण २०७५, बुधबार १३:४० मा प्रकाशित