मेरो बाबाका हत्यारा भट्टराईलाई अमेरिकामा कालो झण्डा देखाउँछु मारिएका आफ्नो दर्द र पिडा पोख्न भौतिक रूपमा उपस्थित हुन सक्दैनन् । बाचेका तपाइ हाम्रो दायित्व हो जघन्य अपराधको विषयमा बोल्ने ।

हरि भट्ट     २ आश्विन २०७५, मंगलवार ०३:११    

हरि भट्ट
बाबुराम भट्टराईले पठाएको माओवादी जत्थाले २०५७ भदौ ६ गते साँझ खाना खाँदै गरेको अवस्थामा बाबा शिव प्रसाद भट्टलाई घिसार्दै लगे । खुकुरीले रेटी–रेटी, छिया–छिया पारेर चरम यातना दिएर हत्या गरे । म जस्ता १७ हज्जार परिवारका सदस्यका आँखा अगाडि भएका यस्ता घटना तपाइका आँखा अगाडि भएका थिए भने आज बाबुरामलाई किन कालो झण्डा देखाइयो भनेर तपाइले प्रश्न गर्ने वा बौद्धिक बिलासिता प्रदर्शन गर्नु हुने थिएन ।
बाबाको हत्या पछि न्यायको खोजीमा माओवादी पीडित भएर काठमांडौको सडक गल्ली चहारे । बाबुराम–प्रचण्डले आतङ्कको बलमा सबै क्षेत्र तहसनहस पारी सकेका थिए । माओवादी पार्टीको भन्दा फरक विचार राख्नु र उनीहरूका ज्यादती विरुद्ध बोल्नु भनेको काललाई निम्त्याउनु थियो । फरक विचार भएकै कारण मेरा बाबा सहित १७ हजार मारिए । हज्जारौ घाइते र अपांग बने । ज्यान जोगाउन पाँच लाखभन्दा बढीले घरबार छोडेर देश भित्रै आन्तरिक शरणार्थी भए । पहुँच भएका भनौ वा भाग्यले साथ दिएका कतिपय तपाइहरू अमेरिकासम्म आइपुग्नु भयो । नरसंहार पछि माओवादीहरू शान्ति सम्झौताका नाममा राज्यसत्ताको बागडोर सम्हाल्न पुगे । माओवादी आतङ्कले सबैको स्वर दबिएको थियो । आतङ्कको रवाफमा उभिएकाहरूलाई राज्य सत्ताको उपहार मिल्यो । आतङ्क र राज्यसत्ताको बलमा उनीहरूले गरेका सबै कर्मलाई जायज ठहर्याइयो । वास्तविक पीडितहरूको स्वरलाई झनै दबाइयो । अमेरिका आएर पनि हामीहरू उनीहरूका युद्ध अपराध र नरसंहारका बारेमा बोल्न हिचकिचाइरहेका छौ । माओवादीले आफ्ना जघन्य अपराधलाई ओझेलमा पार्न व्यापक प्रयोग गरेका शब्दजालमा फसेर हामी उनीहरूकै बचाउमा बोलिरहेका छौ । कहिल्यै मेटिन नसक्ने चोट र पिडाका आवाज निकाल्नेलाई ‘असभ्य’ र उनीहरूलाई स्वागत र सम्मान गर्नु ‘सभ्य र बौद्धिक’ देखिने मनरोगले सामाजिक सञ्जाल रंगिएका छन् । देश भित्र रगतमा होली खेलेर आएकाहरूसँग बसेर अमेरिकामा कसरी ह्यांग आउट गर्न सक्नु हुन्छ तपाइहरू ? बाबुराम र हिसिलासँग चेस गर्ने तरल वस्तुमा रगतको हरक आउँछ । कथित जनयुद्धका नाममा हत्या र विध्वंस नभएको भए आज तपाइ हामी मध्ये धेरैजसो नेपाल भित्रै कुनै पेसा र उद्योग गरिरेका हुने थियौँ । अमेरिकामा पसिना चुहाउँदै अगाडि बढेको जिन्दगीको नयाँ यात्रामा पुरिँदै गएको पिडाको घाउमा बाबुराम हिसिलाले पुन नुन चुक दली दिए । यस्ता युद्ध अपराधीलाई कालो झण्डा देखाउने सच्चा मित्रहरूलाई सलाम ।
संसारमा कुनै सैद्धांतिक,वैचारिक, धार्मिक,सामुदायिक,जातीय पहिचान र स्वभाव फरक–फरक नभएको हुँदैन र छैन । भिन्न स्वभाव,आस्था,विचार र प्रवृत्ति नै मानवको विशेषता एवं सुन्दरता हो । सैद्धान्तिक र राजनैतिक आस्था अनुसार अवलम्बन गर्ने बाटो र प्राप्त गर्ने उचाइ पनि फरक–फरक हुन्छ ।
नेपालमा पनि २०५२ फागुन १ गतेबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको नाममा हिंसात्मक दन्द्दको औपचारिक थालनी भयो । जसको श्रीगणेश प्रचण्ड र डा.भट्टराईले गरेका हुन् ।
१० वर्षसम्म सशस्त्र दन्द्दको नाममा फरक विचारकालाई सफाया गरेर शान्ति प्रक्रियाका नाममा २ तिन पटक सत्ता सम्हालिसकेका छन् । माओवादी पार्टीको प्रमुख योजनाकार हुँ भनेर गर्व गर्दै हुंकार गर्ने अहिले अमेरिकामा छन् । पूर्व प्रधानमन्त्री डा.भट्टराईको हामीले अमेरिकामा विरोध गरेको होइन । उनको योजनामा भएको नरसंहारको हामी सधैँ विरोध गर्छौ । यो अपराधबाट कहिले पनि उन्मुक्ति दिन मिल्दैन । बाबुराम र उनको पार्टीले गरेको मानवअधिकार हनन र मानवताविरूद्दको अपराधको विषयमा आवाज बुलन्द गर्नुपर्छ । यिनीहरूका कारण मारिएका आफ्नो दर्द र पिडा पोख्न तपाईँ हामीसँग भौतिक रूपमा उपस्थित हुन सक्दैनन् । जसोतसो बाचेका तपाइ हाम्रो दायित्व हो जघन्य अपराधको विषयमा बोल्ने । तपाईँ आफ्नो दायित्व पुरा गर्न सक्नु हुन्न भने पनि यस्ता जनहत्याराको विरोध गर्नेहरूलाई हतोत्साहित बनाउने काम नगर्नुस् ।


२ आश्विन २०७५, मंगलवार ०३:११ मा प्रकाशित