डी.भी. चिठ्ठा खारेज गर्ने कानुन संसदमा प्रस्तुत , कानुन पारित भएमा डी.भी. खारेज हुने

दूरबिन नेपाल     ५ माघ २०७४, शुक्रबार ००:३३ | ५२२८ पटक पढिएको

अमेरिका, १८ जनवरी / भर्जिनियाका सांसद बब गोडालेत्तेले जनवरी १०, २०१८ मा “सेकुरिंग अमेरिकाज फ्यूचर एक्ट २०१८” प्रस्तुत गरेकाछन् । सो बिललाई २५ रिपब्लिकन सांसदले समर्थन जनाएका छन् भने कुनै डेमोक्रेटिक सांसदले समर्थन गरेका छैनन् । यस बिलमा सेंचुअरी सिटि र ल इनफोर्समेन्टसंग समन्वय, असाइलममा कडाइ, बोर्डर सुरक्षा, क्रिमिनल अलाइनलाइ नियन्त्रण लगायतका विषयहरू उल्लेख गरिएकाछन् । यसै बिलको सेक्सन ११०१ मा फेमिली स्पन्सर्ड इमिग्रेशन प्रायोरोटिज्, सेक्सन ११०२ मा डाईभर्सिटी भिसा कार्यक्रमको खारेजी, सेक्सन ११०३ मा इम्प्लोईमेन्ट बेस्ड इमिग्रेशन प्रायोरोटिज् राखिएको छ । यो बिल पास भएमा डी.भी. चिठ्ठा कार्यक्रमको अन्त्य हुनेछ ।
अध्यागमनसँग सम्बन्धित विषयमा न्युयोर्कका डेमोक्रेटिक सांसद भेलाजक्वेज नैडियाले “अमेरिकन प्रोमिस एक्ट २०१७” प्रस्तुत गरेका छन् । यस बिललाई ७० डेमोक्रेटिक सांसदले समर्थन गरेका छन् भने कुनै पनि रिपब्लिकन सांसदले समर्थन गरेकाछैनन् ।
फ्लोरिडा राज्यका रिपब्लिकन सांसद कर्बेलो कार्लोसले अक्टोबर ३१, २०१७ मा एच आर ४१८४ (ESPERER) बिल प्रस्तुत गरेका थिए । यस एक्टले हैटी, निकारागुवा, एलसाल्भाडोर वा होन्डुरसबाट अमेरिकामा टि.पी.एस. सेवा लिएर बसेकालाई तोकिएका प्रावधान पुरा गरी ग्रिन कार्ड लिन सक्ने व्यवस्था गरेको छ । यस बिललाई ८ डेमोक्रेटिक र ४ रिपब्लिकन सांसदले समर्थन गरेकाछन् ।
मेरिल्याण्डका डेमोक्रेटिक सिनेटर क्रिस भान होलेनले नोभेम्बर १६,२०१७ मा सेकुर एक्ट प्रस्तुत गरेका थिए । यस बिललाई १७ डेमोक्रेटिक सिनेटरले समर्थन जनाएका छन् भने कुनै पनि रिपब्लिकन सिनेटरले समर्थन जनाएका छैनन् ।
अमेरिकाको सिनेटमा ५१ रिपब्लिकन, ४७ डेमोक्रेटिक र २ स्वतन्त्र गरी १०० सिनेटर छन् । कङ्ग्रेसमा कुल ४३५ मध्य २३९ रिपब्लिकन सांसद रहेकाछन् भने राष्ट्रपति रिपब्लिकन पार्टीबाट छन् । वर्तमानमा सिनेट, कङ्ग्रेस र वासिङ्टन तीनै स्थानमा रिपब्लिकन पार्टीको बहुमत सहित नियन्त्रण रहेको छ ।
संसद र सिनेटमा अध्यागमनका विषयमा प्रस्तुत भएका बिलहरूमा कुन कसरी पारित हुन्छ भनी अनुमान गर्न कठिन छ । सन् अप्रिल २०१३ मा सिनेटमा प्रस्तुत भै जुन २०१३ मा ६८-३२ भोटले पारित भएको अध्यागमन सम्बन्धी बिल ११३ औ संसदमा छलफल नै नभई सकिएको थियो ।


५ माघ २०७४, शुक्रबार ००:३३ मा प्रकाशित