सलमान खानले खुम्बुमा ब्रेकफास्ट गर्ने

दूरबिन नेपाल     ५ माघ २०७४, शुक्रबार २२:१४ | ३९६३ पटक पढिएको

बलिउड अभिनेता एवं निर्देशक सोहेल खानले सलमान खानसहितका बलिउड कलाकार नेपाली मंचमा प्रस्तुति दिन उत्सुक रहेको बताएका छन् । आगामी फागुन २५ गते काठमाडौँ टुँडिखेलमा आयोजना हुन लागेको दबंग टुरबारे आयोजित प्रेसमिटमा सोहेलले सो जानकारी दिएका हुन् ।

उनका अनुसार सोनाक्षी सिन्हा, कृति सेनन, प्रभु देवा, डेजी शाह, मिट ब्रदर, मनिष पौलसहित नेपाली कलाकारले समेत प्रस्तुति दिनेछन् । ‘आउन नपाएपनि अक्षय कुमार, रणवीर कपुर र वरुण धवनसमेत सुन्दर देश नेपालमा फ्यानमाझ आफ्नो प्रस्तुति दिन तयार छन्’ उनले भने ।
सोल्टी क्राउन प्लाजामा आयोजित प्रेसमिटमा सोहेल आफ्ना प्रतिनिधि, नेपाल आयोजक र अंगरक्षकसहित उपस्थित थिए । आफू १४ वर्षको उमेर हुँदा स्कुल भ्रमणको सिलसिलामा बस चढेर नेपाल आएको स्मरण गर्दै सोहेलले नेपाली सौन्दर्य र नागरिकको खुलेर प्रशंसा गरे ।
दुई घण्टा लामो स्टेज कार्यक्रममा सलमानले आफ्ना चर्चित फिल्मका गीतमा प्रस्तुति दिने समेत सोहलले बताए । यसअघि क्यानिडियन गायक ब्रायन एडम्सलाई नेपाल ल्याएको ओडिसी इन्टरटेनमेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो ।
ओडिसी प्रमुख सीमान्त गुरुङले ५० हजार दर्शकलाई टुँडिखेलमा उतार्ने लक्ष्य राखिएको बताए । उनले चाँडै कन्सर्टमा प्रस्तुति दिने नेपाली लाइनअप रिभिल गरिने जनाए । सोहेल खान इन्टरटेनमेन्ट र जेए इभेन्ट्ससँग मिलेर ओडिसीले कार्यक्रम गर्न लागेको हो ।
राम्रो रकम सङ्कलन भए केही निश्चित रकम सामाजिक कार्यमा समेत खर्चने गुरुङले जनाए । भूकम्प र नाकाबन्दी पछि नेपालको पर्यटनमा परेको नकारात्मक प्रचारलाई न्यूनीकरण गर्दै विश्वमाझ नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश दिन कन्सर्ट गर्न लागिएको ओडिसीले जनाएको छ । अहिले सलमानका प्रतिनिधिहरू नेपालमा रहेर कार्यक्रम तालिका मिलाइरहेका छन् ।
सलमानलाई सगरमाथा आधार शिविरसम्म हेलिकोप्टरमार्फत अग्ला हिम चुचुरा देखाउने कार्यक्रम समेत छ । अग्लो स्थानमा रहेको खुम्बु क्षेत्रको होटेल एभरेस्ट भ्यूमा सलमानले ब्रेकफास्ट लिनेछन् । जसको नाम ब्रेकफास्ट इन एभरेस्ट दिइएको छ ।
सोल्टी होटेलमा बस्ने सलमानले चन्द्रागिरी भ्रमण गर्नेछन् । उनलाई हेलिकोप्टरमार्फत चन्द्रागिरी लगिने भएको छ । कार्यक्रमको अघिल्लो दिन बेलुका सलमानसहितका कलाकारले टुँडिखेलमा रिहर्सल गर्ने कार्यक्रम छ ।
कार्यक्रममा नेपालीपन झल्कने सगरमाथा, गौतम बुद्ध आदि थिमको स्टेज, लाइट र साउन्ड सिस्टमको व्यवस्था गरिने भएको छ । टिकट दर २ हजारदेखि १० हजारसम्म राखिएको छ । माघ १८ गतेदेखि टिकट विक्री खुला गरिने भएको छ ।
यसअघि दबंग द टुर भारतको राजधानी नयाँ दिल्ली, लन्डन, अस्ट्रेलिया, न्यूजिल्यान्ड र हङकङमा सम्पन्न भएका छन् । काठमाडौँपछि भारतको पुने, क्यानडा र अमेरिकामा समेत टुर चल्ने सोहेलले बताए ।


५ माघ २०७४, शुक्रबार २२:१४ मा प्रकाशित