अमेरिकामा नेपालीको दशै, खसी किन्ने ठाउँमा घुइँचो

बिष्णु हरि घिमिरे     ३१ आश्विन २०७५, बुधबार १८:५०    

बिष्णु हरि घिमिरे

-अमेरिका १७ अक्टोवर/
पुर्ख्यौली घर प्युठान भएका २७ वर्षीय बिष्णु पोखरेल अमेरिका आएको पाँच वर्ष भयो । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्ने पोखरेलका लागि नेपालमा जस्तै दशैमा खसी किन्नु नियमित काम नै हुने गरेको छ ।
सामान्यतया अमेरिकामा मासु दैनिक खानामा पर्दछ । तै पनि दशैमा सिङ्गो खसी नकिनी मनै मान्दैन, पोखराकी सिला कतिलालाइ । शिला अमेरिकामा बस्न थालेको १३ वर्ष भयो । घरको फ्रिजमा मासु कहिल्यै टुट्दैन उनको ।


यी दुई त प्रतिनिधि पात्र मात्र हुन, अमेरिकामा बस्ने र दशै मान्ने अघिकांस नेपालीलाई अहिले खसीको जोहो गर्नु चटारो छ । नेपालमा जस्तो अमेरिकामा खसी–बोका नै ल्याएर घर घरमा मार हान्न पाइँदैन । तोकिएको ठाउँमा गएर आफूले छानेको खसी त्यही काटमार गरी ल्याउन पाइन्छ ।
न्यु जर्सी, मेरिल्याण्ड र पेन्सिलभेनियाका पशु फारममा नौरथा शुरु भए सँगै नेपालीको भिड् ह्रवात्तै बढ्दछ । फारम संचालनकहरुले पनि नेपालीको दशै कहिले पर्छ भनेर सोधी खोजी गर्ने गर्दछन् । बिदाको दिनमा एउटा खसी किन्नका लागि चार घण्टा सम्म कुर्नु पर्ने हुन्छ । त्यस्तै भिडमा भेटिएका हुन बिष्णु पोखरेल, खसी लिनका लागि उनले सभा घण्टा ड्राइभ गरे । बिहान पाँच बजे हिँड्दा पनि उनको पालो १३ औ नम्बरमा थियो । दशैमा मासु खाने परम्परा जस्तै भएको पोखरेलको अनुभव छ ।
“म बुटवलमा हुर्केको, पछि काठमाडौँमा बसियो,दशैमा प्युठानको घर जान्थ्यौ,खसी काट्थ्यौ, हामीले सानै देखि त्यस्तै गर्दै आयौ, हाम्रो अग्रजहरूले पनि दशैमा खसी बोका ढाल्ने मासु खाने भन्ने भयो, हामी जसरी हुर्कियौ, त्यो एउटा परम्परा नै भयो ।”
स्वभावतः सिला कतिलालाई काटमार मन पर्दैन, तर यो पटक उनलाई आफै नगई भएन, “नेपालमा काटमार गर्ने ठाउँमा जाँदैन थिए, मलाइ त्यस्तो हेर्न नरमाइलो लाग्छ, तर अहिले मेरो बुबा आउनु भएको छ, उहाँले खसीको ताजा मासु खाने भन्नु भयो, श्रीमान व्यस्त हुनु भयो म नै आए ।”


आमालाई साथै लिएर सिला पनि एक घण्टा टाढाबाट खसी किन्न आएकी हुन । आइतबारको बिहान नौ बने शिला फारममा पुगेकी थिइन, उनको पालो ५० जना पछि थियो । त्यस पछि पनि खसी किन्ने आउने नेपालीको सख्या थपिँदै थियो । खसी किन्न नेपालीको खख्या बढ्दै जाँदा अमेरिकाको पशु फारमको माहौल पनि काठमाडौँका खसी बजार जस्तै बनेको थियो ।
अमेरिकामा नेपालीको खख्या बढे सँगै चाडबाड पनि रमाइलो हुँदै गएको अनुभव सिलाको छ । “पहिला धेरै मान्छे थिएनन्, अहिले त नेपालीको सख्या नै धेरै भयो, प्रायको परिवार इष्टमित्र पनि यतै छन् रमाइलै भएको छ ।”
त्यसो त बाल्टिमोर आसपासमा नेपालीको सख्या उलेख्य छ, शिलाकी आमा मिनाका लागि अमेरिकाको दशै नौलो अनुभव ।
“हाम्रो लागि त धेरै नै फरक हुन्छ, नेपालमा जमरा राखे देखि नै च हल पहल हुने, यहाँ त टिकाको दिन मात्र चहलपहल हुने रहेछ । नौरथा लागे देखि नै घर सरसफाइ गर्ने, नयाँ कपडा किन्ने, मन्दिर जाने गरिन्थ्यो यहाँ त्यस्तो कहाँ पाउनु ।”
“खसी किन्ने ठाउँमा नेपालीको भिड देख्दा कता कता नेपाल नै हो कि जस्तो लाग्छ । तर त्यस्तो हुँदो रहेनछ, छोराछोरी छन् र ठिक लागेको छ तर हामीलाई त नेपाल नै रमाइलो ।” अमेरिकाको उकुसमुकुस मिनाले एकै पटक खोलिन ।
पशु फारमको प्रकृति हेरी खसीको मुल्या तोकिएको हुन्छ, कुनै ठाउँमा जोखेर खसी किनबेच हुन्छ भने केही फारमले सोलोडोलो मूल्य तोक्ने गर्दछन् । ग्राहकले खसी छाने पछि त्यसको वध गर्ने, सरसफाइ र मासुको थान छुट्याउने काम फारममा रहेका कामदारले गरिदिन्छन् ।


३१ आश्विन २०७५, बुधबार १८:५० मा प्रकाशित