अमेरिकाको ग्यास स्टोरमा लुटेराद्धारा नेपालीको हत्या

दूरबिन नेपाल     ७ माघ २०७४, आईतवार १८:४१ | ३६६३ पटक पढिएको

 टेक्सस, २१ जनवरी ।
अमेरिकामा नेपालीको बाक्लो बसोबास रहेको राज्य टेक्सासमा एक जनाको हत्या भएको छ । ड्यालसमा रहेको ग्यास स्टेशनमा (पेट्रोल पम्पमा) काम गर्ने नेपालीलाई मध्यरातमा आएका लुटेराले हत्या गरेका हुन् ।स्थानीय सन्चार माध्यम सिबिएस डिएफडब्लुले नेपालीको हत्या भएको समाचार प्रकाशित गरेको छ । मृतकको नाम भने उल्खेख गरिएको छैन । ग्यास स्टोरको मालिक पनि नेपाली नै भएको बताइएको छ ।

गैरआवसीय नेपाली संघ एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा नेपाली समाज टेक्सासका निवर्तमान अध्यक्ष कृष्ण लामिछानेले घटनाको पुष्टी गरेका छन्। “शनिवार मध्यरातमा घटना हुनासाथ मलाइ पनि खवर आएको थियो, परिवारको आग्रहमा नाम सार्वजनीक नगर्न भनिएको छ, म त्यो परिवारको सम्पर्कमा छु “, लामिछानेले भने।
उनका अनुसार मृतक र स्टोर मालिक पारिवारिक नातेदार हुन् । मृतक केही समय अगाडि मात्र अमेरिकाको टेक्सस आएका हुन् भने  उनकी श्रीमति पनि हाल यतै नै छिन् ।

मध्यरातमा लुटपाटमा आएकाहरूसँग प्रतिरक्षा गर्न खोज्दा दुखद घटना भएको जनाइएको छ । लुटेराहरूसँग प्रतिरक्षा नगर्न, आफू सुरक्षित रहनु र लुटेराहरू स्टोरबाट बाहिरिए पछि मात्र आफू सुरक्षित हुन्छु भन्ने लागेमा प्रहरीलाई खवर गर्नु भन्दै कतिपय स्टोरले आफ्ना कामदारलाई प्रशिक्षित गर्ने गरेको बताइन्छ ।

विषेश गरी ग्याँस स्टेशन र सेभेन इलभेन स्टोरहरूमा रातको समय लुटेराहरू आउन सक्ने भन्दै सदैव सर्तक रहन सुझाव दिने गरिन्छ । अमेरिकामा रहेका नेपालीहरु मध्ये ग्याँस स्टेशन र सेभेन इलभेन जस्ता कन्भिनियन्ट स्टोरहरुमा काम गर्नेको सख्या उल्लेख्य छ । त्यस्तै टेक्ससमा नेपाली नै मालिक रहेका ग्याँस स्टारहरू खुल्ने क्रम पनि बढदो छ ।
टेक्ससमा यस अघि पनि स्टोरमा काम गर्ने नेपालीको लुटेराबाट हत्या भएको थियो । यस्तै घटनामा दुई बर्ष अगाडि मात्र पनि नेपालमा झापा घर भएकी समिरा शिवाकोटीको हत्या भएको थियो ।

तस्वीर स्रोत: सिबिएस डिएफडब्ल्यू

Store Clerk Shot, Killed During Garland Robbery


७ माघ २०७४, आईतवार १८:४१ मा प्रकाशित