एनआरएनए परिचय-पत्र बाहकहरुलाई विभिन्न सेवा प्रदायकहरुले आर्थिक छुट दिने पहिलो चरणमा आठ व्यापारिक प्रतिष्ठानसँग सहमति, अन्य १० सँग छिट्टै समझदारी-पत्रमा हस्ताक्षर हुने

सुजन पण्डित     ७ माघ २०७४, आईतवार २२:५८ | ११५९ पटक पढिएको

अमेरिका, जनवरी २०
गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए अमेरिका) ले जनवरीको पहिलो साता ह्युस्टनमा भएको बैठकबाट वितरण शुरु गरेको एनआरएनए परिचय-पत्र बाहक आफ्ना सदस्यहरूलाई उनीहरुले प्रयोग गर्ने विभिन्न सेवा बापत मूल्यमा छुट प्राप्त हुने व्यवस्था मिलाएको छ। ह्युस्टन बैठक स्थल मै कम्फर्ट सुइटका संचालक जगदिश काफ्लेसंग एक सहमतिपत्रमा हस्ताक्षर गरेर शुरुवात भएको यो अभियान अन्तर्गत हालसम्म अमेरिका स्थित बिभिन्न आठ स्थानीय व्यापारिक संस्थानहरुसँग सहमति भएको छ भने थप १० वटा संस्थाहरुसंग समझदारीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

एनआरएनए परिचय-पत्र बनाउन र साथमा लिएर हिंड्न समेत सदस्यहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले एनआरएनए अमेरिकाले विभिन्न व्यवसायिक प्रतिष्ठानहरुसंग सहकार्य गरेर उनीहरुको सेवा प्रयोग गरे बापत आर्थिक छुटको व्यवस्था गर्न पहलकदमी लिएको थियो। चुनाव आयो कि सदस्यताको बिवादमा अल्झेर निकै बिवादित बन्ने गरेको एनआरएनए अमेरिका वर्तमान नेतृत्वले शुरु गरेको परिचय-पत्र वितरण अभियान र व्यापारिक प्रतिष्ठानहरुसंग समझदारी गरेर छुटको प्रबन्ध गर्ने कामले भने निकै सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। पहिलेका कार्यसमितिहरुले पनि सदस्य परिचय-पत्र वितरणको प्रयास गरेका भएपनि अहिले आएर यसले सफलता पाएको छ। अमेरिकी एनआरएनहरुको निरन्तरको सुझाव र स्टेट च्याप्टरहरुको सक्रियतामा आइसीसीसंगको समन्वयमा शुरु भएको परिचय-पत्र वितरण र नयाँ बन्ने सदस्यहरुको छानबिन संगसंगै लैजान पर्ने धेरैको मत छ। सम्वन्धित स्टेट च्याप्टरहरुलाई संलग्न गराएर एनआरएनए अमेरिकाको दुखको रुपमा कहलिएको सदस्यता बिवादलाई संधैका लागि टुंग्याउनु पर्ने बिचार अधिकाँश एनआरएनए अमेरिकाका सदस्यहरुले बेलाबखत प्रकट गरिरहेको पाइन्छ। ‘अब पहिले नै दर्ता भैसकेका सदस्यहरुले परिचय-पत्र लिन फोटो अपलोड मात्र गरे हुने र सदस्यता निरन्तरताका लागि नविकरण गरे मात्र पुग्ने व्यवस्था गर्न लागिएको एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले बताए। डा. पौडेलका अनुसार आगामी दिनमा सकेसम्म सदस्यता बिवाद आउन नदिन नयाँ सदस्यता जारी गर्दा नै यथेष्ट छानबिनको व्यवस्था गर्न कार्यसमितिले गृहकार्य गरिरहेकोछ।

सम्वन्धित स्टेट च्याप्टरहरुको समन्वयमा हालसम्म समझदारी-पत्रमा हस्ताक्षर भैसकेका सिकागो कर हाउस, नेपाल हाउस रेस्टुरेन्ट, मुम्बई इन्डिएन ग्रिल र बिएम ट्याक्स एकाउन्टीङ सर्भिसले परिचय-पत्र बाहक एनआरएनलाई २५ प्रतिशत छुट उपलब्ध गराउने छन् । एनआरएनए अमेरिकाको परिचय-पत्र वितरण समितिका संयोजक गोपेन्द्र भट्टराईका अनुसार इलिनोयस राज्यका इभानस्टोन शहरस्थित माउण्ट एभरेष्ट रेस्टुरेन्ट, रेडहर चिली पेपरले २० प्रतिशत, सिकागो कै जेजे ट्याक्स एण्ड एकाउटिङले १५ प्रतिशत छुट दिने सहमति गरेको छ। यसैगरी टेक्ससको ह्युस्टन शहरस्थित कम्फर्ट सुइटले उनीहरुको सेवा प्रयोग गर्दा १० प्रतिशत छुट दिने छ। ‘एनआरएनए अमेरिकासंग भएको आपसी समझदारीहरुले हामी जस्ता नेपाली मुलका व्यवसायीहरुलाई प्रोत्साहन मिल्ने र सेवा लिने नेपालीहरुलाई समेत मूल्यमा आकर्षक छुट हुने व्यवस्था हुनु निकै राम्रो हो’, सहमतिबाट उत्साहित होटल व्यवसायी जगदिश काफ्लेको कथन छ।

हाल नेपालीहरुको स्वामित्वमा रहेको व्यवसायिक प्रतिष्ठानसंग समझदारी गर्दै परिचय-पत्र बाहक सदस्यहरुलाई छुट दिने समझदारी गरिरहेको एनआरएनए अमेरिकाले आगामी दिनमा ठूला र गैर-नेपाली व्यवसायिक प्रतिष्ठानहरुसंग पनि सहमति गरेर छुट पाउने व्यवस्था गर्ने तर्फ गृहकार्य भैरहेको कुरा अध्यक्ष डा. पौडेलले जानकारी गराए।

आइसीसीसंगको सहकार्यमा वितरण भैरहेको परिचय पत्र हालसम्म ३६३ जनाको बनेर एनआरएनए वितरणका लागि अमेरिकामा आइसकेको छ र सम्वन्धित स्टेट च्याप्टरहरु मार्फत वितरण शुरु गरिसकिएको छ। सबै दर्ता भएका सदस्यहरूलाई यथासक्य चाँडो एनआरएनएको वेबपेज https://us.nrna.org/index/ctl/SendPassword  मा गएर आफ्नो पासवर्ड परिवर्तनका साथै तस्बीर अपलोड गरेर परिचय-पत्र लिने प्रकृयामा सहभागी हुन संयोजक भट्टराईको आग्रह छ । यसका लागि थप कुनै शुल्क तिर्नु नपर्ने बरु परिचय-पत्र भए बापत विभिन्न सेवा सुविधा लिंदा मूल्यमा छुट पाउने व्यवस्था शुरु गरिएकोले सबै दर्ता भएका सदस्यहरुलाई परिचय-पत्र लिन एनआरएनए अमेरिकाले अनुरोध गरेको छ।


७ माघ २०७४, आईतवार २२:५८ मा प्रकाशित