नेता चौधरीको दाहसंस्कार

दूरबिन नेपाल     ९ मंसिर २०७५, आईतवार १४:१५    

तौलिहवा, ९ मङ्सिर / शुक्रबार राति गोली प्रहारबाट हत्या गरिएका शुद्धोधन गाउँपालिका वडा नं ४ का राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरीको आज दाहसंस्कार गरिएको छ ।

हत्या गरिएका ३० वर्षीय नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता चौधरीको शुद्धोधन गाउँपालिकास्थित सन्त घाटमा हिन्दू धर्म परम्पराअनुसार सर्वसाधारणको ठूलो उपस्थितिमा दाहसंस्कार गरिएयो ।

हत्याको आरोपमा मृतक परिवारले शुद्धोधन गाउँपालिका–४ मोतीभारीका अजित पाण्डेयसहित सात जनाउपर कर्तव्य ज्यान मुद्दाका लागि जाहेरी दिएका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्यूतम् पुडासैनीले बताउनुभयो ।

हत्याको आरोप लागेका स्थानीय अजित पाण्डेयको घर गोदाम शनिबार मृतक चौधरीका आफन्तजन र शुभेच्छुकले आगजनी गरी ध्वस्त पारेका छन् । आगजनीबाट हत्याको आरोप लागेका पाण्डेयको रु दुई करोड बढीको धनमाल जलेर नष्ट भएको छ ।

हत्याका मुख्य आरोपी अजित पाण्डेय गोली प्रहार भएको दिन शुक्रबार राति नै भारततर्फ फरार भइसकेको प्रहरीले जनाएको छ । सीमावर्ती भारतीय क्षेत्रमा भागका भए पनि भारतीय समकक्षीसँगको सम्पर्क र समन्वयमा चाँडै नै आरोपीलाई पक्राउ गरिने प्रहरीले जनाएको छ ।रासस


९ मंसिर २०७५, आईतवार १४:१५ मा प्रकाशित