‘एशिया प्यासिफिकमा सरकार सहयोगी मात्र’

दूरबिन नेपाल     १० मंसिर २०७५, सोमबार १५:१३    

काठमाडौँ, १० मङ्सिर / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं एशिया प्यासिफिक सम्मेलन आयोजक समितिका संयोजक माधवकुमार नेपालले उक्त सम्मेलनमा नेपाल सरकार सहयोगीका रुपमा मात्र रहने बताउनुभएको छ ।

सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले अति विशिष्ट व्यक्तिलाई निमन्त्रणा गर्न र उहाँहरुको सुरक्षा तथा यातायात व्यवस्थापनमा मात्र सरकारको भूमिका हुने स्पष्ट पार्नुभयो । सम्मेलन यही मङ्सिर १४ देखि १७ गतेसम्म काठमाडौँमा हुँदैछ ।

युनिभर्सल पिस फेडेरेशन (युपिएफ)को आयोजनामा हुने सम्मेलनको विषय ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन ः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता’ रहेको छ । सम्मेलनमा विभिन्न मुलुकबाट सात राष्ट्रका सरकारप्रमुख तथा उपप्रमुख, पाँच प्रथम महिला, १० पूर्वराष्ट्र प्रमुख, एक उपप्रधानमन्त्री, पाँच सभामुख तथा उपसभामुख गरी ४५ देशका एक हजार ५०० विदेशी अतिथिको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलन क्रिश्चियन धर्मको प्रचारका लागि नभएको स्पष्ट पार्र्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले सम्मेलनमा सबै धर्मका मानिस र धर्मगुरुहरुको सहभागिता हुने बताउनुभयो । सम्मेलन नेपालमा हुनु मुुलुकका लागि गौरवको विषय भएको उल्लेख गर्दै उहाँले सम्मेलनका दौरान विदेशी राष्ट्र÷सरकारसँग द्विपक्षीय भेटघाटसमेत हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा आयोजक समितिका सहसंयोजक एकनाथ ढकालले सम्मेलनको उद्घाटनपछि पाँच सत्रमा विभिन्न विषयमा छलफल हुने र सरकारको ‘समृद्ध नेपाल ः सुखी नेपाली’को दूरदृष्टिलाई सहयोग गर्नु मुख्य जोड रहने बताउनुभयो । युनिभर्सल पिस फेडेरेशन केन्द्रको प्रायोजन रहने सम्मेलनको अनुमानित खर्च रु २० करोड हुने उहाँले जानकारी दिनुभयो । रासस


१० मंसिर २०७५, सोमबार १५:१३ मा प्रकाशित