अन्तराष्ट्रिय साहित्य समाज ह्युस्टन च्याप्टरले महाकवि देवकोटा जयन्ती मनायो अनेसासको कोषमा एकहजार पाँचसय डलर संकलन

दूरबिन नेपाल     १० मंसिर २०७५, सोमबार १९:१०    

ह्युस्टन (अमेरिका), नोभेम्वर २५/ अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरले महाकवि लक्ष्मी प्रसाद देवकोटाको एक सय नवौं जन्म जयन्ती एक खुल्ला साहित्यिक कार्यक्रमका साथ मनाएको छ। ह्युस्टनस्थित आर्थर स्टोरी पार्कमा नोभेम्वर १८ मा आयोजित देवकोटा जन्म जयन्ती कार्यक्रममा ह्युस्टनस्थित अनेसासका पदाधिकारी र साहित्य अनुरागीहरुको उपस्थिति थियो। कार्यक्रममा अनेसास ह्युस्टन च्याप्टरका संस्थापक अध्यक्ष एवं संरक्षक गंगा लिगल तथा अनेसास ह्युस्टन च्याप्टरका अध्यक्ष शेष शर्माद्वारा अनेसासको दोश्रो बार्षिक साहित्यिक प्रकाशन ‘दीयो’को संयुक्त विमोचन समेत गरिएको थियो। 

महाकविको जन्मजयन्तिका अवसरमा सहभागीहरुले कार्यक्रमस्थलमै देउसी-भैलो खेलेर करीब चारसय डलर संकलन गरेर अनेसास-ह्युस्टनको कोषमा जम्मा भएको अध्यक्ष शर्माले जानकारी गराएका छन्। जन्मजयन्ती समारोहमा विभिन्न महानुभावहरुले आ-आफ्ना साहित्यिक रचना बाचन गरेका थिए भने साना बाबु-नानीहरुले समेत आफ्ना साहित्यिक रचना बाचन गरेका थिए। 

प्रवासमा नेपाली भाषा-संस्कृतिलाई बचाइराख्न अनेसासको प्रयासलाई प्रवासी नेपालीहरुको निकै ठूलो सहयोग र सद्भाव रहिआएकोले अनेसास ह्युस्टन च्याप्टर नेप्लिज एशोसियसन अफ ह्युस्टन लगाएतका स्थानीय संस्थासंग मिलेर नेपाली भाषा कक्षाको पून: संचालन गर्ने प्रयासमा रहेको अध्यक्ष शर्माले दूरबिन नेपाललाई जानकारी गराएका छन्। 

यसैबीच अनेसासको साहित्यिक गतिविधिहरुलाई सहयोग पुर्याउन अनेसास ह्युस्टन च्याप्टरले कोष संकलन अभियान चलाएको छ। अनेसासको उक्त अभियानमा जनक लिगल, शेष शर्मा, आनन्द दाहाल, सुरेश श्रेष्ठ, अनिल पौडेल, आश्वासन केसी, शंकर पराजुली, राजु खनाल, नारायण घिमिरे, सन्दिप भुसाल, बिनोद पन्थी, हेम तिवारी, यज्ञनिधी पुडाशैनी, सुदिप श्रेष्ठ, बिनोद केवट लगाएतका महानुभावहरुबाट प्राप्त नगद सहयोग र देवकोटा जयन्तीमा खेलिएको देउसी भैलो समेतबाट एकहजार पाँचसय डलर संस्थाको कोषमा जम्मा भएको अध्यक्ष शर्माले जानकारी गराएका छन्। 

देवकोटा जयन्ती समारोहको शुरुमा गत सेप्टेम्वर २५ का दिन दिवंगत हुनु भएका अनेसास ह्युस्टन च्याप्टरका सदस्य टंक प्रसाद खरेलको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। 

तस्वीर सौजन्य: शेष शर्मा, अनेसास/ह्युस्टन


१० मंसिर २०७५, सोमबार १९:१० मा प्रकाशित