तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्निया प्रेम लामा तामाङ समुदायको तथ्याङ्क सङ्कलन, गुम्बा निर्माण र लोसारको तयारी

दूरबिन नेपाल     ११ मंसिर २०७५, मंगलवार ०५:५६    

सानफ्रानसिस्को २६ नोभेम्बर
तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको दुई वर्षीय कार्यकालका लागि प्रेम लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

रेणु लामा योञ्जन उपाध्यक्ष (कार्य योजना), बुद्धिमान तामाङ- उपाध्यक्ष (आर्थिक), सुरज पाख्रिन-महासचिव, ज्ञान लामा-सचिव, प्रतिमा लामा -कोषाध्यक्ष, सदस्यहरूमा अमृत घिसिङ, पदम तामाङ, विजय लामा, रमा योञ्जन र सुक्देव तामाङ रहेका छन् । तामाङ समाज उत्तर अमेरिकाका वरिष्ठ उपाध्यक्ष शेर लामाको प्रमुख आतिथ्यतामा २४ नोभेम्बर शनिवार सानफ्रानसिस्को वे एरियामा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । नव निर्वाचित अध्यक्ष प्रेम लामाले दूरबिन नेपालसँग कुरा गर्दै सानफ्रानसिस्को बे एरियामा रहेका तामाङहरूको तथ्याङ्क सङ्कलन र गुम्बा निर्माणका लागि अर्थ सङ्कलनको काम तत्काल अगाडि बढाउने बताए । अमेरिका भित्र न्यूयोर्कमा सबैभन्दा बढी तामाङहरू रहेका छन् । त्यसपछि सानफ्रानसिस्को, बोष्टन र टेक्ससमा तामाङ समुदायका मानिसहरूको बढी बसोबास भेटिन्छ ।


रत्तु लामा, भोजकुमार दोङ, राजेन्द्र लामा,विद्यासागर योञ्जन, शेर बहादुर लामा र ज्ञान दीप लामा संस्थापक भएर सन् २००९मा तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्निया स्थापना भएको हो । संस्थापक मध्येका एक विद्यासागर योञ्जनका अनुसार यो संस्थाले स्थापनाको उद्देश्य अनुसार नै तामाङ र नेपाली समुदायको हितमा काम गर्दै आएको छ । नेपालमा गएको महाभूकम्पका बेला राहत वितरण, बाढिपहिरो पीडितलाई सहयोग, असहाय बिरामीलाई आर्थिक सहायता प्रदान गर्दै आएको छ । तामाङ भाषा, संस्कार, संस्कृति, जोगाई राख्नका लागि पनि संस्थाले आफ्ना गतिविधिहरू अगाडि बढाइरहेको छ । तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्नियाको आगामी कार्यसमिति बैठकमा लोसारको तयारी लगायतका विषयमा पनि छलफल हुने भएको छ ।


११ मंसिर २०७५, मंगलवार ०५:५६ मा प्रकाशित