सवारी साधनको परीक्षणमा कडाइ

दूरबिन नेपाल     ११ मंसिर २०७५, मंगलवार १०:४७    

रसुवा, ११ मङ्सिर / नेपाल—चीनबीच व्यापार व्यवसाय सञ्चालन भइरहेको पासाङल्हामु राजमार्गमा गुड्ने सवारी साधनप्रति निगरानी गर्ने काम अगाडि बढेको छ ।
जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार व्यापार व्यवसायका नाउँबाट गैह्रकानुनी क्रियाकलाप गरी विदेशी मुद्रा अपचलन गर्न थालेको पाइएपछि ठाउँठाउँको चौकीबाट हुने नियमित जाँचको अलावा राजमार्गका विभिन्न भागमा समेत गस्तीको माध्यमबाट निगरानी कामलाई तीव्रता दिएको हो ।
प्रहरी गस्तीले गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ त्रिशूली नदी क्षेत्रमा यही मङ्सिर १ गते वा १ य १४४६ नम्बरको स्कारपियो जीपमा सवार चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं ६ मोहना गडौली बस्ने ५६ वर्षीय श्रीराम चौधरीका साथबाट रु २६ हजार आठ सय र रौतहट जिल्ला गुजरा नगरपालिका—६ सिमन भवानीका ३२ वर्षीय विकासप्रसाद चौधरीका साथबाट एक हजार आठ सय अमेरिकी डलर फेला परेपछि केरुङ जाने सबै व्यवसायीप्रति निगरानी बढाइएको प्रहरीले बताएको छ ।
पक्राउ परेका ती दुवै जनालाई विदेशी मुद्रा गैरकानुनी तवरले अपचलन गरेको आरोपमा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवनमा बुझाइसकिएको प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो । रसुवा प्रहरीबाट बरामद भएको अमेरिकी डलरकोे रुपैयाँ नेपालीमा रुपान्तरण गर्दा रु ३२ लाख ९९ हजार ८६८ कायम भएको र मुद्दा दायर गर्ने तयारी भइरहेको राजस्व अनुसन्धान विभागले बताएको छ ।
यस्तै गस्तीका माध्यमबाट ट्राफिक प्रहरीले सवारी साधनको मापदण्ड र नेपाल प्रहरीले सवारी साधनमा सवार व्यक्तिको लेखाजोखा एवं निगरानी तीव्रता दिएको प्रहरी प्रमुख तामाङले बताउनुभयो । लाङटाङ राष्ट्रिय निकुञ्जको भूभागमा राजमार्ग भएकाले नेपाली सेनासमेत बेत्रावतीदेखि रसुवागढीसम्म ११ भन्दा बढी सुरक्षा चौकीको अलावा ठाउँ ठाउँमा गस्तीका प्रहरीले समेत परीक्षण गरी गैह्रकानुनी क्रियाकलाप रोक्ने कार्य गरिरहेको बताइएको छ । रासस


११ मंसिर २०७५, मंगलवार १०:४७ मा प्रकाशित