‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’

दूरबिन नेपाल     ११ मंसिर २०७५, मंगलवार १४:५५    

काठमाडौँ, ११ मङ्सिर ९ / योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएकामा मजदुरहरुले ऐक्याबद्धता जनाउँदै आज साँझ माइतीघर मण्डलामा दीपावली गरेका छन् । संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको आयोजनामा भएको दीपावली कार्यक्रममा सहभागी मजदूरहरुले उक्त कार्यक्रम आफूहरुको हितमा रहेको भन्दै खुशीयाली मनाएका हुन् ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मैनबत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा मजदुरहरुले ‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’ भन्ने नारा लगाएका थिए । समन्वय केन्द्रका अध्यक्ष विश्वनाथ प्याकुरेलले उक्त कार्यक्रम शुभारम्भ हुनु मजदूरहरुका लागि महत्वपूर्ण उपलब्धि हो भन्दै सरकारी कदमको प्रशंसा गर्नुभयो ।

आजै पहिलो सामाजिक सुरक्षा दिवस मनाउँदै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ भएको घोषणा गरेको थियो । आज राजधानीमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको शुरुआत भएको भन्दै श्रम गरेबापत उचित पारिश्रमिक दिने राज्य आफ्ना नागरिकको अभिभावक भएको बताउनुभएको थियो ।रासस


११ मंसिर २०७५, मंगलवार १४:५५ मा प्रकाशित