विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने

दूरबिन नेपाल     १३ मंसिर २०७५, बिहीबार १५:२४    

काठमाडौंँ १३ मङ्सिर / काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ ।

यातायात व्यवसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएका छौं, त्यसका लागि सबै पक्षसँग सहकार्य गरेर वातावरणमैत्री यातायात सेवा सञ्चालनमा प्रोत्साहन गर्नेछौं ।”

यातायात व्यवसायी भेषबहादुर थापाले काठमाडौंका सडक र बसको क्षमता जाँच गरी सामान्य उकालो र खाल्डाखुल्डीमा पनि सहजै गुड्न सक्ने बस ल्याइने जानकारी गराउनुभयो । सुन्दर यातायात प्रा.लिले अबको दुई महीनामा ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका तीन वटा विद्युतीय बस सञ्चालन गर्ने तयारीसमेत गरेको थापाले जानकारी गराउनुभयो । रासस


१३ मंसिर २०७५, बिहीबार १५:२४ मा प्रकाशित