नेपाल धेरैले चिन्दैनन्, कसरी चिनाउने ?

नारायण अधिकारी     १३ मंसिर २०७५, बिहीबार १९:४५    

खास भन्ने हो भने बाहिर संसारमा नेपाल चिनाउने कुनै नयाँ आधुनिक विशेषताहरू केही छैनन् । नेपाल वीर गोरखालीको देश भन्नु धेरै पुरानो कुरा भइसक्यो । यो युग स्काइ वार, साइवर वार हुने युग हो । सगरमाथाको देश भन्नु चीनले दावी नगरेसम्म मात्र हो, सगरमाथाको उत्तरी मोहडा त चीन मै पर्दोरहेछ । गौतम बुद्धको देश भनौं भने बुद्ध भारतले नै खाइसक्यो । अधिकांश समाचार स्रोत, विदेशी पाठ्यपुस्तक तथा जर्नलहरूमा बुद्ध धर्मबारे पढ्दा “बुद्ध धर्मका प्रवर्तक गौतम बुद्ध भारतमा जन्मिएका थिए ।” भन्ने उल्लेख गरेको पाइन्छ । कतिपय स्रोतमा स्पस्ट भारत नलेखिएको ठाउँमा “उत्तरी भारत”मा भनेर लेखिएको पनि पाएको छु । सीताको नेपाली गौरव पनि विश्वमा नेपाल चिनाउने अवस्थामा छैन । भृकुटी चीनतिरै गइन् । 

हिजो हामीसँग काम गर्ने एउटा अ‍ेमरिकनले सोध्यो– When Nepal will be a part of India ?  अर्थात् (नेपाल कहिले भारतको एउटा भूभाग हुन्छ ?) अरू धेरै अमेरिकन लगायत अमेरिका बस्ने अन्य मुलुकका आप्रवासीहरूले नेपाल भन्दा “नेपोल” सम्झन्छन् र भन्छन्– Is this a part of Italy ? (के यो इटलीको कुनै भूभाग हो ?) 

उनीहरूको नेपालसम्बन्धी माथिका यी अज्ञानताहरूलाई चिर्दै बल्ल नेपाल एउटा छुट्टै सार्वभौम राज्य हो भनेर चिनाइसकेपछि यो कहाँ पर्छ ? भन्ने प्रश्नको जवाफमा धेरै नेपालीहरूले “भारतको उत्तरपट्टि पर्छ ।” भन्ने गरे पनि म भने “चीन र भारतका बीचमा पर्छ ।” भन्छु । त्यतिबेला उनीहरूको पहिलो प्रतिक्रिया हुन्छ, “के यो भारतको एक अंश हो ?” फेरि पनि उही कुरा । धेरैलाई बुझाउन नसकेपछि, जब नेपाल र नेपालको भौगोलिक अवस्थितिबारे अनभिज्ञ भइसकेपछि उनीहरू भन्ने गर्छन्, ओके, भरे म गुगलमा सर्च गर्छु है ! भन्दै बाटो लाग्छन् ।

अब नेपाल सुन्दर देश हो, नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भनेर के गर्नु ? नेपालीको वीरगाथा, सगरमाथा, बुद्ध आदि भनेर के गर्नु ? 

साँचै भन्ने हो भने हाम्रो प्रजातन्त्र, लोकतन्त्र अन्य देशको व्यवस्थासँग तुलनायोग्य छ । हाम्रो संविधान विश्वका उत्कृष्ट संविधानमध्येमै पर्दछ । हाम्रो जातीय विविधता, धार्मिक सहिष्णुता त विश्वमै उत्कृष्ट छ । हाम्रो भौगोलिक अवस्था स्वीजरल्याण्डसँग तुलना गरिन्छ, यो पनि सत्य नै हो । जलस्रोतमा हामी विश्वको दोस्रो धनीमा पर्छौं भन्ने कुरा सत्य असत्य जे भए पनि हामीलाई चाहिने विद्युत उर्जा र पिउनका लागि हामीसँग पानी प्रशस्त छ । तर यी र यस्ता उत्कृष्टताहरू विश्वमा नेपाल चिनाउने माध्यम हुन सकेका छैनन्, यिनीहरू नेपाल चिनाउन माध्यम बन्न सकेका छैनन् । 

यहाँसम्म त ठीकै थियो, कत्ति भारतीयहरू मसँगै “नेपाल भारत का ही एक हिस्सा तो है” भनेर सीधै भन्ने गर्छन् । यो भयो नेपालको बाहिरी अवस्था भने नेपालभित्रै पनि एउटा ठूलो बौद्धिक, राजनीतिक एवम् जन हिस्सा छ जो “नेपाल भारतको एक भाग भइदिए हुन्थ्यो ।” भन्ने चाहन्छ । 

यी सबको कारण के हो भने इतिहासको व्याज खाएर आधुनिक संसारमा बाँच्न कठिन भएको हो । इतिहासमा हामीले दौड जितेका थियौं भनेर वर्तमानमा चौतारीमा सुतेर यात्रा तय गर्न सकिँदैन । वर्तमानका लागि विगत इतिहास बने जस्तै भविष्यका लागि वर्तमान इतिहास बन्दछ । आधुनिक संसारमा बाँच्न आफूलाई सबै उपायबाट आधुनिकीकरण गरे मात्र देशको समृद्धि र पहिचान बढ्दछ जस्तो सिंगापुर, दुवाइ, कतार जस्ता नेपालभन्दा एक तिहाइ साना राष्ट्रहरूलाई विश्वमा कसैले चिनाइरहनुपर्दैन । देशभित्र एन.जि.ओ., आइ.एन.जी.ओ.हरूको खेती गरिए, देशका प्राकृतिक संशाधनहरूको सदुपयोग नगरिए, ऐतिहासिक अवस्थाको जगमा उभिएर आफूलाई आधुनिक बाटोमा नहिँडाए हामी कहीं पुग्दैनौं, सगरमाथा र बुद्धले मात्र देश चिनिँदैन ।

(भद्रपुर झापा, नेपाल निवासी नारायण अधिकारी हाल भर्जिनिया, अमेरिकाका स्थायी बासिन्दा हुन्। कविता, कथा, निबन्ध लगायतका साहित्यिक विधामा कलम चलाउने अधिकारीको सूत्र कविता अन्तर्गत हाइकु-संग्रह ‘इन्द्रेनीका रङहरू’ प्रकाशित छ- सम्पादक))


१३ मंसिर २०७५, बिहीबार १९:४५ मा प्रकाशित