अछामीको सहयोगार्थ दशहजार डलर सङ्कलन

दूरबिन नेपाल     ८ माघ २०७४, सोमबार ०५:१६ | ४८५४ पटक पढिएको

क्यालिफोर्निया, २१ जनवरी / “अस्पतालमा जटिल रोगको उपचार गराई रहेको अवस्थामा कसैले आएर – के छ ? भनी सोध्दा समेत ठुलो राहत अनुभव हुँदो रहेछ ।” उपचार देखि नेपाल पठाउने समयसम्म अटुट सहयोग गरेका सुबिन अछामीका मित्र रमेश सिल्वालले एनआरएनए क्यालिफोर्निया च्याप्टरले लस एन्जल्समा आयोजना गरेको कार्यक्रममा बताएका थिए ।
भक्तपुर घर भै अमेरिकाको क्यालिफोर्निया बस्दै आएका ब्रेन ट्युमरका बिरामी वर्ष ३९ का अछामीलाइ जनवरी १५ सोमबार उनले काम गर्ने स्टोरका मालिक फैजल मेमन खानको साथमा नेपाल पठाइएको छ ।
बिरामी अछामीको परिवार अमेरिका ल्याउन भिसाको लागि हस्पिटल र एनआरएन अमेरिकाले समेत नेपाल स्थित अमेरिकी दूतावासलाई पत्राचार गरेका थिए । दूतावासले परिवारलाई भिसा नदिए पश्चात् परिवारको अनुरोधमा उनलाई नेपाल पठाइएको हो ।
उनी डिसेम्बर ८ मा साधारण ढाड दुख्ने समस्याको उपचारका लागि मेडिकल गएका थिए । समस्या बढ्दै गए पश्चात् उनी आकस्मिक सेवामा उपचारका लागि गएका थिए । जहाँ उनलाई उपचारको लागि एक महिना राखिएको थियो । डाक्टरहरूको लामो प्रयास पश्चात् पनि एउटा टिउमर निकाल्न असमर्थ भए पश्चात् थप उपचार कार्य जटिल भएको थियो ।
अमेरिकामा नजिकका आफन्त कोही नभएका अछामीलाई साथीहरूले नै सहयोग गरिरहेका थिए । सेभेन इलाभेनमा काम गर्ने अछामी जब अस्पतालमा थिए, उनी र साथीहरूले अस्पतालमा गएर दुईशब्द राख्दा समेत राहत महसुस हुने अनुभव गरेको सिल्वालले बताइरहेका थिए । सिल्वाल थप्छन् ” प्रवासको ठाउँमा तपाइले जति नै पैसा कमाएको भए पनि अन्तमा साथीभाइको साथ र सहानुभूतिका दुईशब्द नै प्रिय भएका हुँदा, कोही कतै बिरामी हुँदा वा आवश्यकता पर्दा उपस्थित भै दुई शब्द राख्न अनुरोध गर्दछु ।”
एनआरएन अमेरिकाका पदाधिकारीको पहलमा डिसेम्बर २२ बाट गोफन्ड खाता खोली सहयोग उठाउन सुरु गरिएको थियो । उनको सहयोगार्थ गोफन्डबाट १० हजार ३०६ डलर उठेको छ । सहयोग रकम श्रीमती सम्झना अछामीलाइ केही दिनमा दिने एनआरएनए क्षेत्रीय महिला संयोजक संगीता लम्साल शिवाकोटी र क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डेले जानकारी दिए ।


८ माघ २०७४, सोमबार ०५:१६ मा प्रकाशित