अमेरिकाबाट नेपाली विद्यार्थी फर्काइयो सी बि पीका गतिविधि अहिले अलि बढी आक्रमक भएका हुँदा विद्यार्थी र अरू भिसामा आउनेलाई फर्काउने क्रम बढेको हो । पछिल्ला केही महिनामा सानफ्रानसिस्को विमानस्थलबाट ६ जना नेपाली फर्काइएको छ ।

तोया दाहाल     १० माघ २०७४, बुधबार ०४:०६ | १८१६० पटक पढिएको

 प्रदिप थापा (नाम परिर्बतन गरिएको)लाई जनवरी महिनाको पहिलो साता सान्फ्रानसिस्को अन्तर्राष्ट्रिय एयरपोर्ट सुरक्षा जाँचले नेपाल फर्काइदिएको छ । तीन वर्ष अमेरिका बसेका उनी नेपाल गएर फर्कने क्रममा अध्यागमनले सोधपुछ गर्दै फर्काइदिएको हो । उनको ओकल्याण्ड स्थित लिंकन युनिभर्सिटीको अन्तिम वर्षको पढाई अलपत्र हुने अवस्था सिर्जना भएको छ । यो घटनाले उनका कलेजका सहपाठीहरु समेत चिन्तित भएका छन् । अध्यागमनले आफूलाई फर्काईदिएको जानकारी थापाले लिंकन युनिभर्सिटीलाई समेत गराईसकेका छन् । युनिभर्सिटीमा रहेका अरू नेपाली विद्यार्थीको अनुरोधमा युनिभर्सिटीले उनको बाँकी अध्ययन नेपालमा नै बसेर अनलाइनबाट पुरा गर्न सक्ने सुविधा भने थप गरिदिएको छ । यसका लागि लाग्ने खर्च उनले ब्यहोर्नु पर्ने हुन्छ । कलेजका उनका सहपार्टी र केही सहयोगी मिलेर उनलाई बाँकी अध्ययनका लागि चाहिने खर्च जुटाउने तयारी गरिरहेका छन् ।

लिंकनमा अध्ययन गर्न आउने विद्यार्थी सानफ्रान्सिस्को एयरपोर्ट अध्यागमनले फर्काएको पहिलो घटना भने होइन । एक वर्ष बिचमा अरू दुई जनालाई पनि फर्काइसकेको जानकारी दूरबिन नेपाललाई प्राप्त भएको छ । लिंकन युनिभर्सिटीमा एमबिए प्रोग्राममा छनौट भई आवश्यक रकम र अरू प्रक्रिया पुराएर आउने क्रममा सानफ्रान्सिस्को अध्यागमनले नम्रता कार्की (नाम परिवर्तन गरिएको ) लाई एयरपोर्टबाटै फर्काइदिएको थियो । उनका आफन्तहरूका अनुसार उनलाई २४ घण्टा एयरपोर्टमा नै राखेर नेपाल फकाईदियो ।

लिंकन कलेजमा नै एमबिए गर्न आएका राधेश्याम अधिकारी (नाम परिवर्तन गरिएको) लाइ पनि सानफ्रानसिस्को एयरपोर्टबाट फर्काइदिएको थियो । सानफ्रानसिस्को बे एरियामा धेरै नेपाली विद्यार्थीले अध्ययन गर्ने अमेरिकाका युनिभर्सिटी मध्येको एक हो लिंकन । अमेरिकाका युनिभर्सिटीमा अध्ययनका लागि आउँदै गरेका विद्यार्थी फर्काइएका केही प्रतिनिधि घटना मात्र हुन् यी । ऋण लिएर महँगो भर्ना शुल्क र प्लेन टिकट तिरेर पनि सुन्दर भविष्यका लागि उत्साहित हुँदै आउने कति नेपाली विद्यार्थी अमेरिकाका युनिभर्सिटी टेक्न नपाउँदै एयरपोर्टवाटै फर्किएका छन् । त्यसको एकिन तथ्याङ्क भने प्राप्त हुन सकेको छैन ।

अध्यागमन सम्बन्धी जानकार वकिल गोपाल शाहाका अनुसार विमानस्थलमा रहने बोर्डर सुरक्षा निकाय (सी बि पी )ले आवश्यक जाँचबुझ गर्दा शङ्का लागेमा फर्काउने गरेको बताउँछन् । सी भी पीका गतिविधि अहिले अलि बढी आक्रमक भएका हुँदा विद्यार्थी र अरू भिसामा आउनेलाई फर्काउने क्रम बढेको हो । पछिल्ला केही महिनामा सानफ्रानसिस्को विमानस्थलबाट ६ जना नेपाली फर्काइएको छ ।

कसरी फर्काइयो ?

प्रदिप विमानबाट झरेर फटाफट विमानस्थल सुरक्षा जाँचको भिडमा लामबद्ध भए । उनलाई सी भी पी अधिकृतले अमेरिका आउनुको कारण सोधिखोजि गरे । प्रदिपका साथीहरू भन्छन् उनलाई नेपालबाट कति पैसा लिएर आएको र यहाँ बसेर पढ्न सक्ने अरू आधारका बारेमा पनि सोधिखोजी गर्यो । उनले आफ्नो साथमा दुईसय डलर मात्र रहेको यथार्थ बताए । त्यसपछि सहयोग गर्न सक्ने आफन्तहरूको बारेमा पनि जानकारी दिए । आफ्नो अन्तिम वर्षको अध्ययन मात्र बाकी रहेको र त्यसका लागि आफूले खर्च ब्यहोर्न सक्ने बताए पनि अध्यागमन अधिकृत प्रवेश अनुमति दिन तयार भएनन् । विद्यार्थी भिसामा यस्तो महँगो ठाउँमा बसेर अध्ययन गर्न सक्ने विस्वासिलो आधार नभएको भन्दै फर्काइएको हो ।

लिंकन युनिभर्सिटीमा पहिलो वर्षको अध्ययनका लागि आउँदै गरेकी नम्रता कार्कीले पनि उस्तै उस्तै प्रश्नको सामना गर्नु पर्यो । उनका नातेदार समिर कार्की भन्छन् “साथमा ल्याएको पैसा र अमेरिकामा अध्ययन अवधिभर रहँदा सहयोग गर्नसक्ने आफन्तहरूको बारेमा सोधिखोजी गर्यो । अध्यागमन अधिकृतलाई उनले दिएको फोननम्वरमा सम्पर्क हुन सकेन । उनी जाने ठेगाना र अपार्टमेन्ट लिजका लागि सहयोग गर्नसक्ने मानिसको सम्पर्क नम्बर पनि अध्यागमन अधिकृतले मागे । त्यसमा फोन गरेर उनले बताएको कुरालाई पुष्टि गर्न प्रयास गरे । कार्कीले एक वर्ष सोही अपार्टमेन्टमा बस्ने बताएकी थिइन । तर अपार्टमेन्टका लागि सहयोग गर्ने व्यक्तिले उनलाई केही हप्ताका लागि मात्र बस्ने व्यवस्था मिलाईदिएको जानकारी दिए । दुई जनाको फरक कुरा आएपछि सीभीपीले उनलाई नेपाल फर्काई दियो ।”

लापरबाही

काम गर्न नपाउने प्रकृतिका भिसामा अमेरिका छिरेर काम गर्नु जोखिम उठाउनु हो । यस्तो जोखिम उठाउँदै काम गर्नेहरूको संख्या अमेरिकामा उल्लेख्य छ । विद्यार्थी भिसामा छिरेर लिएको सोसल नम्बर प्रयोग गरी काम गर्ने अझ बढी जोखिममा हुन्छन् । आफ्नै लापरबाहीले विद्यार्थीको पुन: प्रवेशमा समस्या हुने गरेको छ । सानफ्रान्सिस्को एयरपोर्टबाटै फर्काइएका तीन मध्ये एक जना नेपालीलाई विद्यार्थी भिसामा बसेर काम गरेको भन्दै फर्काइएको थियो । इमिग्रेसन वकिल गोपाल शाह भन्छन् “पर्याप्त जानकारीको अभावमा पनि नेपालीहरू अमेरिकाका एयरपोर्टमा आइपुगेर फर्किन बाध्य भएका हुन् । अमेरिका आउँदा केही महिना पुग्ने डलर साथमा नल्याइनु, बस्ने ठाउँको टुङ्गो नहुनु, काम नगरी बस्न र फर्कनसक्ने आधार नदेखिनु जाँच अधिकृतका लागि शङ्का गर्ने आधार हुन् । बस्ने ठेगाना, सहयोगीका फोन नम्बर र सही सूचना दिन नसक्दा पनि विमानस्थलमा नेपालीहरूलाई समस्या हुने गरेको हो ।” शाह भन्छन् “जाँच अधिकृतलाई विश्वास लाग्ने आधार नदिँदा फर्काइ दिन्छ ।”


१० माघ २०७४, बुधबार ०४:०६ मा प्रकाशित