राष्ट्रपति ट्रम्पद्वारा अठार लाखलाई स्थायी बसोबास गर्न दिने प्रस्ताव बदलामा अमेरिका-मेक्सिको बोर्डरमा पर्खाल लगाउने तथा डिभी चिठ्ठा खारेज गर्नुपर्ने प्रस्ताव

दूरबिन नेपाल     ११ माघ २०७४, बिहीबार २३:२४ | ५२८९ पटक पढिएको

बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालयले अठार लाख कागजपत्र बिहीन आप्रवासीहरुलाई स्थायी बसोबास गर्न दिने प्रस्ताव गरेको छ । राष्ट्रपति ट्रम्पले गत सेप्टेम्वरमा डिफर्ड एक्सन फर चाइल्डहुड अराइभल (डाका) कार्यक्रम अन्तर्गत रहेकाहरुको अमेरिकामा बस्न पाउने  कानूनी हैसियत आगामी मार्च महिनाको पहिलो साताबाट समाप्त गर्ने घोषणा गरेका थिए।   सिएनएन लगाएतका अमेरिकी संचार माध्यमहरुका अनुसार ‘डाका’ अन्तर्गत बसिरहेकाहरुलाई स्थायी बसोबास अनुमति दिएर  अमेरिकी नागरिकता प्राप्त गर्नसक्ने बाटो खुल्ला  गर्न  ह्वाइट हाउस तयार भएको छ। तर यसको बदलामा राष्ट्रपति ट्रम्पको बहुप्रचारित अमेरिका-मेक्सिको बोर्डरमा पर्खाल लगाउने योजनाका लागि २५ अर्ब  डलर  बजेट उपलब्ध गराउनु पर्ने , पारिवारिक चेन इमिग्रेशन र डि.भी. चिठ्ठाको खारेजी सहित मेरिट प्रणालीको आप्रवासन कार्यक्रम शुरुवात गर्न समेत प्रस्ताव गरेको छ ।

अमेरिकी सिनेटमा कानुन पास गराउन ६० भोटको आवश्यकता पर्ने र रिपब्लिकन पार्टीको ५१ सिनेटर मात्र भएकाले डेमोक्र्याटहरुको समर्थन नलिई त्यसो गर्न  संभव छैन। तसर्थ आफ्नो महत्वपूर्ण योजना सफल बनाउनका लागि डेमोक्य्राटहरुसंग ’गिभ एण्ड टेक’को   सिद्धान्त अन्तर्गत नै सानै उमेरमा बाबु-आमाहरुसंग अमेरिका छिरेका कागज-पत्र बिहीन बालबालिकाहरुलाई अमेरिकी नागरिकता प्राप्त गर्ने सम्मको बाटो खुल्ला गर्ने मनस्थितिमा ट्रम्प प्रशासन पुगेको हो भन्ने अनुमान गरिएको छ।

समाचार श्रोत: सिएनएन


११ माघ २०७४, बिहीबार २३:२४ मा प्रकाशित