नेपालले वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गर्ने 

दूरबिन नेपाल     २० फाल्गुन २०७५, सोमबार १२:२८    

ललितपुर ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

यही फागुन ३ गते विश्वविद्यालयले पत्रकार सम्मेलन गरी वैशाखमा प्रक्षेपणको तयारी गर्ने भने पनि गते निश्चित गरिएको थिएन । “करीब ४०० किलोमिटरमाथि आकाशबाट भूउपग्रह प्रक्षेपण गर्ने तयारी अघि बढेको छ,” नाष्टका उपकुलपति सानोबाबु श्रेष्ठले भन्नुभयो, “त्यसका लागि नाष्टको कार्यालयमा विभिन्न योजना निर्माणको काम भइरहेको छ । ”

भूउपग्रह निर्माणबाट विगतमा नेपालले लिने गरेका विभिन्न तथ्य तथा तथ्याङ्क सङ्कलनमा खर्च हुने रकम जोहो हुने भएको छ । नेपालले भावी दिनमा आफ्नै पहलमा सम्पूर्ण जानकारी लिन सक्ने छ । सो भूउपग्रहका माध्यमबाट अन्य देशले प्रक्षेपण गरेको अर्काे भूउपग्रह नजीक पर्दा त्यसबाट पनि थप सेवा लिन सकिने बताइएको छ ।

रासस
–––


२० फाल्गुन २०७५, सोमबार १२:२८ मा प्रकाशित