नारी ! तिमी अर्धआका़श हौ । अघि बढ़ ! प्रा. डा. दुर्गा दाहाल

दूरबिन नेपाल     २४ फाल्गुन २०७५, शुक्रबार ०७:२२    

प्रा.  डा. दुर्गा दाहाल 

 

संसारको आधाभन्दा बढी भूभाग र आकाश ढाकेका नारीहरूका बारेमा जति बखान र प्रशंसा गरेता पनि थोरनै हुन्छ तथापि नारी दिवसको अवसरमा समस्त महिलाहरू प्रति माया  र श्रद्धाका  केहि शब्दसुमनहरू चढाउँदै आफ्ना धारणाहरू राख्न मन  लाग्यो ।

 

पुरूषमा नहुने कतिपय विशिष्ट र जन्मजात गुणहरू प्रत्येक नारीमा विद्यमान रहन्छन । यिनै गुणगरूका कारणले गर्दा महिलाहरूलाई कतिपय अवस्था र परिवेशमा पुरूषहरू भन्दापनि शीर्षस्थानमा राखिएको छ ।
प्रकृति ( महिला ) र पुरूष एक अर्काका परिपूरक हुन । सृष्टिको सफल संचालन र निरन्तरताका निम्ति यी दुवैको मिलन अनिवार्य र महत्वपूर्ण छ ।यी दुईमध्ये नारीलाईनै उच्च मानिन्छ ।
देवताका पालामा नवदुर्गा, लक्ष्मी, सरस्वती जस्ता भगवतीहरूको महिमा र  साहसको  उच्च मूल्याँकन गर्दै  उनीहरूको आराधना गरि पूजा-अर्चना गरियो  र सर्वोच्च स्थानमा राखियो जुन क्रम अद्यपरिमित विद्यमान छ । त्यस युगमा नारीलाई घृणा होईन; आदर – सम्मान गरिन्थ्यो, उपेक्षा होईन, पूजा गरिन्थ्यो ।
द्वापर तथा त्रेतायुगमा आईपुग्दा नारीलाई अलिकति उपेक्षित गरेको पाईन्छ । सीताको पवित्रता जाँच्नलाई अग्निपरीक्षा  लिइन्छ भने साधारण धोबीको कुरामा लागेर पारपाचुके (सम्बन्ध) विच्छेद समेत गरिन्छ ।
अहिलेको कलियुगमा आएर त नारीलाई योग्य नमानी ( अपवाद बाहेक ) केवल भोग्यसामग्रीका रूपमा लिइने र उनीहरमाथि भयंकर शोषण, उत्पीड़न र बलात्कार गर्ने राक्षसी प्रवृति बढदै गएको छ । नेपालको परिप्रेक्ष्यमा हालैको निर्मला हत्याकाण्ड प्रकरण एउटा ज्वलन्त, निन्दनीय, घृणित र घोर भर्त्सनापूर्ण दुष्कार्य हो । निर्मला त केवल एउटी प्रतिनिधि पात्र मात्रै हुन ।
हुनत आज आएर विश्वमानै विभिन्न स्थानीय, राष्ट्रीय र अन्तराष्ट्रीय संस्थाहरूले नारी  विकास र उत्थानका लागि विभिन्न पाइलाहरु चालेका छन भने नारी हरूमाथि हुने सबै प्रकारका भेदभाव हरूलाई अन्त्य गर्न संयुक्त राष्ट्रसंघले सन १९६९ डिसेम्बर १८ का दिन (The United Nations Convention on the elimination of all forms of discrimination against women) संयुक्त राष्ट्रसंघको महासभाद्वारा घोषणापत्र जारी  गरेको छ र नेपाल लगायत विभिन्न राष्ट्रहरूले अनुमोदन समेत गरि सकेका छन । पुरूष सरह नारीहरूले पनि समान अधिकार पाउनु पर्छ र निर्णायक भूमिकामा पनि उनीहरूको समान हक़ र अधिकार सुरक्षित हुनु पर्छ भन्ने भावना उक्त घोषणापत्रले अंगीकार गरि सकेको अवस्था छ ।
अत: यो एकक्काइसौँ शताब्दीमा आएर पनि मूर्ख मनुष्यहरूले नारीलाई केवल भोग्य वस्तु, बच्चा उत्पादन गर्ने यन्त्र र दासीको रूपमा मात्रै स्वीकार गर्नु अत्यन्त लज्जाष्पद, घृणित र जघन्य अपराधपूर्ण कार्य हो र त्यस्ता धन्धुकारी, लम्पट र बलात्कारी हरूलाई यथाशीघ्र कानुनको कठघरामा उभ्याई अधिकतम दण्ड र सबक़ दिनु वाँछनीय देखिन्छ ।
* महिलाको बहुआयामिक भूमिका:
महिलाहरूमा कारूणिकता, वात्सल्यता, त्याग , समर्पण, मातृत्व , , साहस, धैर्य, विवेक, सहिष्णुता, आदर्श, सच्चरित्रता आदि इश्वरप्रदत्त र जन्मजात गुणहरू विद्यमान रहन्छन ( अपवाद बाहेक ) जस्को जति मूल्याँकन र  प्रशंसा गरे पनि थोरैनै हुन्छ भन्ने कुरा मैले पहिले पनि भनि सकेको छु । व्याख्या निष्प्रयोजन छ ।
सन १८५० देखि यता विश्वव्यापी रूपमा  महिलाहरू  पनि राजनीतिमा समेत सशक्त र सकृय रूपमा अघि बढ़न थालि सकेका छन । यस्को एक दशक भित्रै अर्थात सन १९६० मा तेश्रो विश्वको राष्ट्र श्रीलंकामा श्रीमती सिरिमाओ भण्डारनाइके प्रधानमंत्री भइन भने त्यसपछि इन्दिरा गान्धी भारतमा, गोल्डामेयर इज़रायलमा, मार्गरेट थ्याचर बेलायतमा, बेनज़ीर भुट्टो पाकिस्तानमा, बेगम ख़ालिदा जिया बंगलादेशमा, टान्सुसिलर टर्कीमा, किम क्याम्पबेल क्यानाडामा, ग्रेहिर्लम ब्रन्टल्याण्ड नर्वेमा, मारियालीवस पिट्रस नेदरल्याण्डमा, युजिनिम चार्ल्स डोमेन्कामा र विद्यादेवी भण्डारी नेपालमा क्रमश राष्ट्रका प्रमुख बन्दै गए ।  अब नेपालमा पनि प्रथम महिला प्रधानमंत्री बन्ने पालो आएको छ र बनाउनु पर्छ निकट भविष्यमा हामी सबै मिलेर ।
* महिला विकासका निम्ति, नीति निर्माणमा ख़्याल राख्तै  कार्यान्वयन गर्नु पर्ने बुँदाहरू:
१. महिलामाथि भएका भेदभावपूर्ण कानुनहरूमा सुधार हुनु पर्छ ।
२. पारिवारिक सम्पत्ति र दायित्वमा समान दाबी र वितरण हुनु पर्छ ।
३. घरायसी काममा उपयुक्त र उन्नत प्रविधिको अन्वेषण र वितरण हुनु पर्छ ।
४. पुरूषहरूले विवाह पश्चात पनि नारीहरूलाई महाविद्यालय, विश्वविद्यालय र प्रशिक्षण केन्द्र हरूमा पठाई वृतिविकासको सुविधा उपलब्ध गराई दिनु पर्छ ।
५. महिलावर्गको आर्थिक क्षेत्रमा गुणात्मक विकासका निम्ति अर्थतंत्रका परंपरागत एवं आधुनिक क्षेत्रसंग संबन्धित कार्यक्रम ल्याउनु पर्छ ।
६. उपयुक्त र सशक्त रणनीतिको तर्जुमा गरि महिलाहरूको निम्ति सकारात्मक किसिमका औपचारिक तथा अनौपचारिक तालिमको व्यवस्था गरिनु पर्छ ।
७. महिलावर्गको शारिरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यका निम्ति परिवार नियोजन कार्यक्रमलाई (विशेष गरि ग्रामीण समुदायमा) अझ प्रभावकारी बनाउनुका साथै पुरूषवर्गलाई पनि सहभागी बनाउनु पर्छ ।
८. महिलावर्गलाई प्राविधिक दक्षता र क्षमताको अभिवृद्धिका साथै उद्यमशीलताको निम्ति ऋण सुविधा सरल र सहज ढंगले प्रदान गरिनु पर्छ ।
९. महिलाहरूद्वारा गरिएका घरेलू कार्यहरू र अवैतनिक कार्यले पारिवारिक र राष्ट्रीय मान्यता पाउनु पर्छ ।
१०. घरेलू हिंसा र दमनविरूद्ध अझ कड़ा कानुन बनाई हिंसक र दमनकारीलाई उचित दण्ड दिनु पर्छ ।
१०. महिलावर्गको सन्तानोत्पादन, खान- पकवान र बच्चाहरूको लालन-पालनको दायित्व बढी  हुने भएकाले उनीहरूले यो जटिल कार्यमा फँस्नु पर्दा कतिपय सँस्थाहरूले रोज़गारी दिन हिच्किचाउने एवं यिनै कामका कारणले यदाकदा अनुपस्थित हुँदा जागीर समेत खोस्ने प्रवृति देखिन्छ । महिला सहभागिता र सकृयता बिना राष्ट्रीय विकासको मूलप्रवाह अवरूद्ध हुने हुँदा यस्ता भेदभावमूलक कानुन तथा कार्यहरू खारेजी र समाप्त गर्नु पर्छ ।
* महिला उत्थान र विकासका लागि जोड़ दिनु पर्ने क्षेत्रहरू:
१. शिक्षा  २. स्वास्थ्य ३. विज्ञान र प्रविधि
४. उद्योग ५. राजनीति ६. कृषि ७. रोज़गार
८. व्यापार  ९. पर्यटन आदि – इत्यादि ।
* महिला शक्ति संबर्धनका अवरोधहरू
१. अशिक्षा २. साँस्कृतिक पृष्ठभूमि र परिवेश
३. आर्थिक विपन्नता र परनिर्भरता ४. संयुक्त परिवार ५. रूढ़िवादी र परंपरागत समाज
६. संचार माध्यमहरूमा महिलाहरूलाई लिएर दुरूपयोगपूर्ण प्रस्तुति
७. हाल आएर कानुनत: समान अधिकार दिएता/भनिएता पनि व्यवहारमा छोरालाई मात्रै उत्तराधिकार र अंशाधिकार रहने असमान सामाजिक व्यवस्था
८. स्थानीय, प्रादेशिक र केन्द्रीय तहमा नारी हरूलाई समान राजनैतिक, सामाजिक र आधिकारिक मान्यता र स्थान नदिएको भेदभावपूर्ण नीति- नियमहरु
९. राजनैतिक दल र राज्यका तर्फबाट पर्याप्त सहयोगको अभाव आदि-इत्यादि ।
* समाधानका उपायहरू:
१. पारिवारिक तहबाट धारणात्मक परिवर्तन हुनु पर्छ ।
२. महिला र पुरूषबीच रहेका/ बचेका अन्य सबै सबै प्रचलित भेदभावमूलक नीति- नियम र कानुनहरू संशोधन र खारेजी हुनु पर्छ ।
३. नीति-निर्माण र कार्यान्वयन गर्ने निकायहरूमा महिला सहभागिता गराउनुका साथै संसद, राष्ट्रीय योजना आयोग, न्यायालय, कुटनैतिक सेवा, विभिन्न आयोगहरू, राजनैतिक नियुक्ति र अन्य प्रशासनिक क्षेत्रहरूमा समेत महिलाहरूको संख्या वृद्धि गरिनु पर्छ ।
४. बाल्यविवाह र बहुविवाहलाई निरुत्साहित र दण्डित गरिनु पर्छ ।
५. विधवा र  एकल महिलाहरूलाई विशेष सुविधा, जागीर र घरेलू तथा लघु उद्योगका निम्ति निम्नतम  ब्याजमा ऋण उपलब्ध गराउनु पर्छ ।
७. राज्यका तर्फबाट महिलाहरूलाई व्यवसायिक शिक्षा, महिला शिक्षा, महिला छात्रवृत्ति, नेतृत्वविकास सम्बन्धी तालीम, नीति निर्माण र अन्य विविध किसिमका तालीम, कार्यशाला गोष्ठी र सेमिनार हरूको व्यवस्था गरिनु पर्छ ।
८. महिलाहरूलाई पितृप्रधान समाज र व्यवस्थाबाट तथा आर्थिक परनिर्भरताबाट मुक्ति दिन नेपालको सामाजिक, साँस्कृतिक, आर्थिक र राजनैतिक परिदृश्यलाई मध्यनजर राख्दै पैतृक सम्पत्ति र अन्य सबै तह र तप्कामा समान अधिकार र सुविधा उपलब्ध गराउनु पर्छ ।
९. प्रत्येक पुरूषले आ- आफ्ना घरमा भएका नारीहरूलाई (आमा, दिदी-बैनी, छोरी-बुहारी र श्रीमतीलाई) माया, आदर र श्रद्धा गर्नु पर्छ आदि-इत्यादि ।
* महिलाहरूका आफ्नै दुर्बलताहरू:
१. आत्मसम्मान नहुनु र आत्मविकास नगर्नु
२. सकारात्मक सोचको कमी हुनु
३. स्वास्थ्य र शिक्षा प्रति खुद सचेत र सजग नहुनु
४. स्वाभिमानको कमी हुनु
५. पुरूषहरूको अधीनस्थ भई आँफै दासी र प्यासी भई बस्नु
६. राष्ट्रीय- अन्तराष्ट्रीय गतिविधि र अवसर हरूसंग बेख़बर हुनु
७. आँफूमा भएको अन्तर्निहित र जन्मजात क्षमता, शक्ति र गुणहरूको पहिचान गर्न नसक्नु
८. आँफै कुण्ठा, निराशा र अज्ञानता पालेर बस्नु
९. अबला छु/ हूँ भनेर अघि बढ़ने हिम्मत नगर्नु आदि- इत्यादि ।
यति धेरै गुण, संभावना र योग्यता भएका नारीहरूलाई म यसो पो भनौँ कि:
“नारी हुन जननी,दिदी र बहिनी साथी संगिनीपनि
मानवको  केन्द्रमात्र नभई; हुन यिनीनारायणी,
दासी र प्यासी मात्र नभै हुन यिनी अर्धागिंनी
नारी-रमणी खुशी भए देव- देवता हुन्छन ज्ञानी”
तर स्मरण रहोस: नारी स्वतंत्रता र नारी अधिकारको कुरा गर्दै गर्दा पुरूष स्वतंत्रता र अधिकार किंचित मात्र पनि स्खलित, कुण्ठित र अमर्यादित नहोस ।
कुनै पनि परिवार, समाज, समुदाय,राष्ट्र र विश्वको समुन्नत, सन्तुलित र सर्वांगीण विकासका लागि महिला र पुरूषको समान सहभागिता, सकृयता र समावेशिता आवश्यक मात्रै नभई अपरिहार्य हुन जान्छ ।
*
“Male and female are the two balls of eyes” – DDD
“Without a female the building is just a house but with a female it becomes a home”- DDD
“A male is incomplete and impractical without a female” – DDD
अन्तराष्ट्रीय नारी दिवसका अवसरमा संसारभरिका समस्त नारीहरूप्रति मेरो असीम माया, ममता, शुभेच्छा, शुभकामना र हार्दिक श्रद्धा ज्ञापन गर्दछु
( क्यालिफोर्निया निवासी प्रा. . डा. दुर्गा दाहाल मानवअधिकारवादी तथा अन्तराष्ट्रीय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार  समेत हुनुहुन्छ )

२४ फाल्गुन २०७५, शुक्रबार ०७:२२ मा प्रकाशित