मुद्दा टार्न सानफ्रानसिस्कोको नेपाली समाजमा अर्को सहमति एनसीसी सञ्चालनमा बन्ने भयो जम्वो समिति

दूरबिन नेपाल     २६ फाल्गुन २०७५, आईतवार ०९:०८    

सानफ्रानसिस्को ।

राजनीतिक र व्यक्तिगत टकराबले रणभुमि बनेको नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) र त्यसैसँग जोडिएको नेपाली सामुदायिक भवन निर्माण समिति (एन सी सी) को नेतृत्वमा प्रभुत्व जमाउने जारी द्वन्दलाई मत्थर गर्न शनिवार नयाँ सहमति भएको छ । डेढ महिना बिचमा भएको यो तेस्रो ‘कागजी सहमति’ हो ।

न्यान्सको महत्वकाक्षि परियोजना नेपाली सामुदायिक भवन निर्माण समितिमा नयाँ नेतृत्व चयनको प्रक्रिया र स्वार्थ बाझिने गरी गठन गरिएको निर्वाचन समिति विरुद्ध मुद्दा दायर गर्न एउटा समूहले तयारी गरिरहेका वेला त्यसलाई रोक्न यो सहमति भएको हो ।

एनसीसीको नेतृत्वमा आफ्नो समूहको अनुकलता नदेखिएपछि मात्र त्रुटि खोज्दै अदालत तर्फ दौडन लागेको समूह र विधि र प्रक्रिया भन्दा पनि वलजफति नेतृत्व हडप्न अगाडि बढेको समूह बिच समाजका अगुवा र मध्यस्थ कर्ताहरूको उपस्थितिमा शनिवार करिब ४ घण्टा लामो वार्तालाप भएको थियो ।

असन्तुष्ट पक्षलाई समेट्नका लागि एनसीसीको कार्यसमितिको आकारलाई दोब्बर ठुलो बनाउने सहमति भएको छ । सहमति पछि दूरबिन नेपालसँग कुरा गर्दै न्यान्सका अध्यक्ष रविन्द्र राईले भने “न्यान्सको परियोजना भएका कारण एनसीसीमा आवश्यकता अनुसार सङ्ख्या बढाउन सकिन्छ । विधानले यसमा कुनै छेकबार गर्दैन ।”

नेतृत्वका लागि उम्मेदवारी दिइसकेका यज्ञलाल श्रेष्ठको ११ जनाको समूहलाई यथावत् राख्दै समितिमा थप दश जना बढाएर २१ सदस्य रहने गरी नयाँ कार्यसमिति निर्वाचन समितिले एक साता बिचमा बाहिर ल्याउने छ । यसका लागि न्यान्सका अध्यक्ष रविन्द्र राई, महासचिव पृतेश कार्की, एनसीसीका अध्यक्ष उत्तम कार्की र यज्ञलाल श्रेष्ठ रहेको समितिले थप १० जना चयन गर्ने छ । एनसीसीको नेतृत्वका लागि उम्मेदवारी दिएका यज्ञलाल श्रेष्ठले दूरबिन नेपालससँग कुरा गर्दै भने “हाम्रो तर्फको प्रतिनिधि सुजित सिंह त्यहाँ सहभागी भएर सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् । हामी सहमतिलाई स्वीकार गरेर अगाडि बढ्छौ ।”


तस्बिर: सागर श्रेष्ठ


२६ फाल्गुन २०७५, आईतवार ०९:०८ मा प्रकाशित