जबः अमेरिकाकाे न्युयोर्कमा सगरमाथा टल्कियो

बद्री गाैतम-दूरबिन नेपाल      २६ फाल्गुन २०७५, आईतवार १३:४१    

बद्री गाैतम-दूरबिन नेपाल 

न्युयाेर्क ।  विश्वकै व्यापारिक राजधानी भनेर अमेरिकाकाे प्रख्यात शहर न्युयाेर्कलाई भन्ने गरिन्छ । हुनपनि याे शहरमा लगभग विश्वका सबै क्षेत्रका मानिस अटाएका छन् । न्युयोर्कको क्वीन्सस्थित ज्याक्सन हाईट्स जहाँ नेपालीको बसोबास उल्लेख्य छ । ज्याक्सन हाईट्समा पुग्ने जो कोही नेपालीलाई युराेप – अमेरिका पुगेजस्तो भान पर्दैन । किनकी यो क्षेत्र दक्षिण एसीयाकै कुनै स्थान जस्तो लाग्न सक्छ । यहाँ नेपालीमात्र होइन भारतीय, बंगलादेशी, पाकिस्तान, भुटानी तथा तिब्तियनहरु  पाइलै पिच्छे भेटिने भएकाले यो क्षेत्रका चोक तथा गल्लीहरुले  दक्षिण एशियाकै कुनै एक शहरकाे  अनुभुुति गराउँछन ।

 

 

माउन्ट एभरेष्ट वे र नेपालीको शान ज्याक्सन हाईट्सको रुजवेल्ट एभिन्युको ७५ स्ट्रीटबाट उत्तर तर्फ करिब १५ मिनेटको पैदल दुरी पार गरेपछि ३१ एभिन्युको सडक, जहाँपुगेपछि जो कोहि नेपालीको शिर गर्वले उचो हुन्छ । नहोसपनि किन ? जहाँ सगरमाथा नामको सडक जो छ । जहाँ सगरमाथा हुन्छ त्यहाँ हाम्रो पहिचान र मौलिकतापनि जोडिन्छ अनि नेपालीको शान पनि झल्किन्छ ।

त्यसमाथी विश्वको अति वैभवशाली मुलुक अमेरिकामा विश्वकै शिखर अर्थात नेपालीको पहिचान सगरमाथाको नामबाट बाटोको नामाकरण गरिएको छ । संसारका अधिकांश मानिसले सगरमाथा जानेका छन । अनि सगरमाथाको महिमा नगाउने सायदै होलान । त्यहि सगरमाथाको नामबाट न्युयोर्कको कुनै सडकको नाम राखिंदा खुशीले फुरुङ्ग नहुनेपनि को होला र ? त्यहि सगरमाथाको नाम विश्वको विपरित गोलार्धमा भेटिंनु न्युयोर्कमा रहेका नेपाली समुदायको लागि निकै ठुलो उपलब्धि हो ।

 

 

कुनै सडकलाई सगरमाथाको नाम राख्नु सामान्य लाग्ला, संसारकै शक्तिशाली मुलुकमा नेपालीको पहिचान जोडिनु कम्ती उपलब्धि होइन । तर यो उपलब्धि त्यसै हासिल भएको भने होइन, यसमा अहोरात्र खटिएका छन् नेपाली समुदाय । यहि खटाइ र अनुरोधका कारण कारण सिटी काउन्सिल अफ न्युयोर्कले सन २०१८ डिसेम्बर १९ का दिन सो स्थानलाई माउन्ट एभरेष्ट वे नामाकरण गर्ने औपचारिक निर्णय गरेको थियो ।

 

 

माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रमका लागि अहोरात्र खटिने न्युयोर्कका नेपाली बाणिज्यदुत कृशु क्षेत्री र एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी लागायतका व्यक्तिहरुले यो चानचुने उपलब्धि नभएको र यसमा न्युयोर्कमा रहेका सबै नेपाली संघ संस्थाहरुको उत्तिकै योगदान रहेको बताए । मध्यान्ह १२ बजे शुरु भएर झण्डै साँझ पाँच बजेसम्म चलेको कार्यक्रम केहि लामो अवस्य भएको थियो । तर न्युयोर्कमा रहेका विभिन्न नेपाली संघ संगठनका प्रतिनिधि सहित नेपाली समुदायको उल्लेख्य उपस्थिती रहेको माउन्ट एभरेष्ट वे नामाकरण कार्यक्रम स्थल वास्तवमा नेपालको कुनै स्थान झैं लाग्थ्यो ।

 

 

चन्द्र सुर्य अंकित नेपाली राष्ट्रिय झण्डा अमेरिकाको सडकमा फहराइरहँदा, नेपाली पहिचान झल्कने विभिन्न झाँकी तथा नेपालका विभिन्न जातजातीले प्रयोग गर्ने बाजा गाजा सहितको प्रस्तुतीले आफ्नो जन्मथलोबाट निकै टाढा रहेका नेपालीलाई साँच्चै भावुक बनाउने खालको थियो । माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रमको औपचारिक समापन सँगै शुरु भएको नेपाली सांस्कृतिक प्रस्तुतिले नेपालका विभिन्न स्थानमा हुने महोत्सवमा हुने सांस्कृतिक कार्यक्रमको याद दिलाउथ्यो ।

 

 

तामाङ सेलो होस वा मारुनी तथा कुमारी नाच र नेपालका विभिन्न जात, जाती तथा समुदायहरुले  आफ्नो मौलिक पहिचान दिने सांस्कृतिक नाचगानले वास्तवमा कार्यक्रम निकै रोमाञ्चक बनाएको थियो । कार्यक्रम स्थलमा नेपाली पहिचानसँग जोडिएका खानाका विभिन्न परिकारहरुपनि राखिएको थियो । सांस्कृतिक कार्यक्रमको शुरुमै नेपाली राष्ट्रगान बज्दा नेपालीहरुमा राष्ट्रिय भावना जाग्रित भएको थियो ।

 

 

माउन्ट एभरेष्ट वेमा लोडसेडिङ हिरो सिटी

 

 

काउन्सिल अफ न्युयोर्क र नेपाली महावाणिज्य दुतावासको संयुक्त आयोजनामा भएको माउन्ट एभरेष्ट वे घोषणा कार्यक्रममा एक्कासी कुलमान घिसिङलाई देख्दा धेरै सहभागी अचम्मित बनेका थिए । नेपालमा लामो सामदेखि जारी रहेको लोडसेडिङ अन्त्य गर्न उल्लेख्य भुमिका खेलेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यक्रमका अर्का आकर्षण बने । कुलमानलाई देखेपछि उनीसंग फोटो खिच्नेमात्र होइन, उनीसंग कुरा गर्न न्युयोर्कमा रहेका नेपाली संचारकर्मीहरुपनि तछाडमछाड गरिरहेका थिए ।

 

 

न्युयोर्कमा भएको यस्तो ऐतिहासिक कार्यक्रममा उपस्थित हुन पाउनु आफ्नो लागि पनि निकै गर्वको विषय भएको कुलमानले बताईरहंदा नेपाललाई उज्यालो बजाउने कुलमानलाई ऐतिहासिक अवसरमा पाउंदा निकै प्रफुल्लित भएको कार्यक्रममा उपश्थित रमाकान्त सेढाईंले बताए । घोषणा कार्यक्रम सकिएपछि कुलमान घिसिङलाई सम्मान गरिएको थियो । कुलमानलाई दोसल्ला आढाउने मानिसहरुको लाइन नसकिएपछि सम्मान गर्ने कार्यक्रमलाई छोट्याइएको थियो ।

 

 

कार्यक्रमलाई सफल पार्न न्युयोर्क स्थित नेपाली महावाण्ज्यि दुतावास, गैर आवासीय नेपाली संघ अमेरिका अन्तर्गतको न्युयोर्क च्याप्टर तथा न्युयोर्कमा रहेका विभिन्न नेपाली संघसंस्थाहरु लामो समयदेखि खटिएका थिए । कार्यक्रमलाई मर्यादित र शान्तिपुर्ण बनाउन विभिन्न सामाजिक सञ्जालमार्फत अनुरोध गरिएको थियो । जहाँ रहेपनि नेपाली पहिचान कहिल्यैपनि मेटिदैन बरु नेपालीको पहिचान र शानलाई झल्काउने सगरमाथाको नाममा सडकको नाम राखिनु अन्य देशका मानिसहरुमाझ पनि नेपाली र नेपालप्रति सकारात्मक भावना जगाउन सक्छ ।

 

विश्वमै धेरै आप्रावासी भएको शहर न्युयोर्कमा संसारका अधिकांश मुलुकका मानिसहरु बस्छन । यसकारण नेपाललाई चिनाउने यस्ता कार्यक्रमले नेपालमा पर्यटन प्रवद्र्धनमा मात्र भुमिका खेल्दैन नेपाल अनेकतामा एकता रहेको संसारको शान्त र सुन्दर मुलुक हो भन्ने संन्देशपनि जान्छ । तर यस्ता कार्यक्रमहरु अझै व्यवस्थित छोटो समयमै समापन गर्न सकिन्छ । आगामी दिनमा यसबारेमा पनि सोच्न सक्नुपर्छ ।

तस्वीरहरु : ईन्द्र तामाङ


२६ फाल्गुन २०७५, आईतवार १३:४१ मा प्रकाशित