एनआरएनए अमेरिकाको अध्यक्षमा सञ्जय थापाको उम्मेदवारी

दूरबिन नेपाल     २७ फाल्गुन २०७५, सोमबार ०६:०८    

अमेरिका ।

एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर सञ्जय थापाले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । न्यूयोर्कमा पत्रकार र आफ्ना केही सहयोगीहरूको बिचमा थापाले आइतबार आसन्न निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने बताए ।
दुई वर्ष बिचमा संस्थामा रहँदा गरेका कामको चर्चा गर्दै आफ्ना भावी कार्ययोजना र लक्ष पनि सार्वजनिक गरे । थापाले आफ्नो घोषणा पत्र वाचन गर्दै भने “स्थापना देखि एनआरएनए अमेरिकाले आफूलाई जनमुखी बनाउँदै लगेको छ । यद्यपि थप सेवामुखी र विस्वासनिय बनाउन अझै पनि प्रशस्त काम बाकी छन् ।”
विगतमा जस्तै अव पनि सबै मिलेर एनआरएनएलाई सशक्त बनाउनु पर्ने थापाको धारणा छ । थापाले भने “म विगत देखि नै गैह्र आवासीय नेपालीहरूको अधिकार स्थापित र सुरक्षित गर्न लागि परेको छु ।” थापाले यसको निरन्तरताका लागि अध्यक्षमा आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

संस्था भित्रको विकृति विसङ्गतिको अन्त गर्ने, सदस्यतालाई सरल र विस्वासनिय बनाउने, नेपाली सङ्घ संस्था र नियोगका प्रमुखलाई सल्लाहकार समितिमा राख्ने थापाको घोषणा पत्रमा उल्लेख छ । जीवन बिमा र दुर्घटना बिमाको लागि पहल गर्ने, नेपालीहरूको सिप दक्षता विकास, कला संस्कृतिको प्रवर्द्धन लगायतका काम गर्ने कुरा पनि थापाले उल्लेख गरेका छन् ।

एनआरएनए अमेरिकाका अध्यक्ष डाक्टर केशव पौडेललाई अहिलेको कार्य समिति भित्रका आकाङ्क्षीहरूलाई मिलाएर एउटा टिम निर्माणमा पहल गर्न आफूले आग्रह गरेको बताए । यसरी निर्माण हुने टिममा वरिष्ठ उपाध्यक्ष देखि सदस्यसम्म आफू जुनसुकै पदमा रहेर काम गर्न लचक भएको जानकारी गराउँदा पनि कुनै पहल नभएको थापाले खुलासा गरे । अव सार्वजनिक रूपमा अध्यक्षको उम्मेदवारी घोषणा भएपछि भने पछाडि हटेर सहमति निर्माण गर्न सहज नहुने थापाको तर्क छ ।


२७ फाल्गुन २०७५, सोमबार ०६:०८ मा प्रकाशित