एनआरएनए अमेरिकाद्वारा फेब्रुअरी १७ बाट हेल्प-डेस्क संचालन गर्ने टेक्ससको अस्टिनबाट सेवा शुरु गरिने, टोल-फ्री नम्बर 1-844-676-2872 को व्यवस्था

दूरबिन नेपाल     १५ माघ २०७४, सोमबार २०:४३ | ६८५ पटक पढिएको

अमेरिका, जनवरी २९/ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, (एनआरएनए) अमेरिकाले अमेरिकामा बस्ने नेपालीहरूलाई उनीहरुका विविध खालका समस्याहरुका बारेमा आवश्यक सहयोग एवं सुझाव दिनका लागि केन्द्रीय स्तर र च्याप्टर स्तरमा समेत हेल्प-डेस्क समितिहरु गठन गरेर सेवा संचालन गर्न लागेको छ। हेल्प डेस्कको लागि टोल-फ्री नम्बर 1-844-NRNA USA अर्थात 1-844-676-2872 समेत व्यवस्था भइसकेको जानकारी एनआरएनए अमेरिकाले जनाएको छ। टोल-फ्री नम्बर मार्फत सेवाग्राही नेपालीहरुलाई सेवादिने कार्यको औपचारिक थालनी भने आगामी फेब्रुअरी १७ देखि टेक्ससको अष्टिन शहरबाट गर्न लागिएको जानकारी एनआरएनए अमेरिकाका मिडिया कोरअर्डिनेटर बाल जोशीद्वारा उपलब्ध गराइएको प्रेस-नोटमा जनाइएको छ।

हेल्प-डेस्क मार्फत अमेरिकामा रहेका सेवाग्राही नेपालीहरूलाई आपत्कालीन बाहेकका सेवाहरूका लागि उनीहरुको आवश्यकता अनुसार अमेरिकामा रहेका स्थानीय संघ-संस्थाहरुसंगको सहकार्यमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको एनआरएनए अमेरिका, टेक्सस च्याप्टरका अध्क्षय एवं केन्द्रीय हेल्प-डेस्क समिति सदस्य भानु खरेलले दूरबिन नेपाललाई बताए। हाल शुरुवाती चरणमा सानो स्वयंसेवक समूहमा आबद्द व्यक्तिहरु मार्फत टोल-फ्री नम्बरमा फोन गर्ने सेवाग्राहीहरुलाई आवश्यक साधारण जानकारी/ सूचना दिने व्यवस्था मिलाइएको र एनआरएनए अमेरिकाले विशेषज्ञ सेवा भने नदिने समेत च्याप्टर अध्यक्ष खरेलले जानकारी गराए।

हेल्प-डेस्कबाट सेवा लिन चाहनेहरुले टोल-फ्री नम्बरमा सम्पर्क गरेपछि प्राप्त हुने भ्वाइस-कमाण्ड अनुरुप सेवा लिने प्रक्रिया सम्वन्धित सेवाग्राहीले पालना गर्नु पर्ने हुन्छ। उदाहरणका लागि दिइएको नम्बरमा सम्पर्क गरेपछि भाषा छनौट गर्ने र इमरजेन्सी सेवा चाहिएको हो भने ९११ डायल गर्न र अन्य सेवा हो भने सम्वन्धित राज्यको लागि छुट्टयाइएको एक्सटेन्सन नम्वर जस्तै क्यालिफोर्नियाका लागि ३, टेक्ससका लागि ४, न्यूयोर्कका लागि ५ वा कोलोराडोका लागि ७०२ डायल गर्ने अप्सन प्राप्त हुने छ र सोही अनुरुप विभिन्न राज्यमा बस्ने नेपालीहरुका लागि हेल्प-डेस्क मार्फत सेवा दिइने व्यवस्था एनआरएनए अमेरिकाले मिलाएको छ।

“गैर-आवासीय नेपाली संघले पहिलो पटक अमेरिकाबाट शुरु गर्न लागेको हेल्प-डेस्क सेवा संचालन र व्यवस्थापनमा एनआरएनए अमेरिकाले टोल-फ्री नम्बरको व्यवस्था गरेको छ भने अरु सबै सेवा सम्बन्धित स्टेट च्याप्टरहरुको सक्रियतामा बन्ने स्वयंसेवी समूहको सहयोगमा दिने प्रवन्ध मिलाइएको छ”, एनआरएनए अमेरिकाकी क्षेत्रीय उपाध्यक्ष एवं केन्द्रीय हेल्प-डेस्क संयोजक उमा कार्कीले भनिन्। टोल-फ्री नम्बरमा सम्पर्क गरेर हेल्प-डेस्क यूनिटबाट सेवा लिन भने आगामी फेब्रुअरी १७ सम्म पर्खनु पर्ने संयोजक कार्कीले दूरबिन नेपाललाई टेलिफोन मार्फत जानकारी गराइन् ।


१५ माघ २०७४, सोमबार २०:४३ मा प्रकाशित