एनआरएनए अमेरिकामा बिवाद

तोया दाहाल     १५ माघ २०७४, सोमबार २३:२० | २५८४ पटक पढिएको

एनआरएनए अमेरिकामा वेबसाइट र मोबाइल एप्स बनाउने विषयलाई लिएर अन्तरद्वन्द चर्किएको छ । नयाँ वेबसाइट र एनआरएनए अमेरिकाको आफ्नै मोबाइल एप्स बनाउन समिति गठन गरी टेन्डर माग भएपछि कार्यसमिति सदस्यहरूबीचमा देखिएको अन्तरद्धवन्दले यो काम सहजै टुंगिने सम्भावना कम भएको हो ।
नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ उपाध्यक्ष सुनिल साहको संयोजकत्वमा वेबसाइट निर्माण र सहकोषाध्यक्ष पवन योन्जनको संयोजकत्वमा मोबाइल एप्स निर्माण गर्न समिति गठन गरेको थियो । मोबाइल एप्सका लागि साढे १२ हजार डलर लाग्ने प्रस्ताव योन्जनले कार्यसमितिमा पेस पनि गरे । लागत बढी भएको भन्दै केही सदस्यले तत्काल एप्सको प्रक्रिया अगाडि नबढाउन आग्रह गरेपछि मोबाइल एप्स बनाउने प्रक्रिया नै स्थागित भएको छ ।
एप्स मात्र होइन वेबसाइट निर्माण प्रकृया पनि अनिश्चित बन्दै गएको छ । टेन्डर रिभ्यू कमिटि वरिष्ठ उपाध्यक्ष सुनिल साह, कार्यसमिति सदस्य गोपेन्द्र भट्टराई र युवा संयोजक स्वराज खाती रहेको टेन्डर रिभ्यू समितिले काम जिम्मा दिने अन्तिम तयारी गरिरहेकै वेला यो प्रकृया समेत पछाडि सारिएको छ । निर्माण लागत र छनौट गरिएको कम्पनीको विषयमा केही सदस्यले प्रश्न उठाएपछि वेबसाइट निर्माण प्रक्रियालाई नै पछाडि सारिएको हो । साह संयोजक रहेको समितिले आएका चारवटा टेण्डर मध्येको एकलाई छनौट गर्दै ७ हजार ५ सय डलरमा वेबसाइट निर्माणको जिम्मा दिने निर्णय गरेको थियो । प्रवक्ता विनोद कुमार तिवारीका अनुसार जनवरी ६ र ७ मा बसेको कार्यसमितिको बैठकले वेबसाइट निर्माण समितिले माग गरेको रकम समेत स्वीकृत गरिसकेको छ ।
नयाँ कार्यसमितिको पहिलो बैठकले वरिष्ठ उपाध्यक्ष सुनिल शाहको संयोजकत्वमा वेबसाइट निर्माण गर्न तीन सदस्सिय समिति गठन गरी प्रकृया अगाडि बढाउन जिम्मा दिएको थियो । त्यसपछिका बैठकले यस समितिमा अरू पाँचजनालाई थप गरेको छ । कृष्ण लामिछाने, बाल जोशी, अमृत कट्टेल, बिनोद कुमार तिवारी र अर्जुन बन्जाडे समितिमा पछि थप भएका हुन् । संख्यासँगै बिवाद पनि थपिँदै गएको छ । गत शुक्रवार बसेको आठ सदस्यीय समितिको कन्फरेन्स कल बैठकले पहिले गरिएको निर्णलाई उल्ट्याउदै वेबसाइट निर्माणका लागि पून टेन्डर आह्वान गर्ने निर्णय समेत गरेको छ । प्रवक्ता तिवारीले दूरबिन नेपालसँग कुरागर्दै भने यो भन्दा अझ कम लागतमा निर्माण गर्न सकिन्छ की भन्दै केही सदस्यहरूले चासो राखेपछि आगामी फेब्रुवरी ४ तारिख बस्ने कार्यसमितिको बैठकबाट यस विषयमा टुङ्गो लगाइने भएको छ ।
संयोजक सुनिल साहले आफू निकट व्यक्तिलाई वेबसाइट निर्माणको जिम्मा दिन लागेको केही सदस्यहरूको आशङ्का रहेको छ । साह भने यो आरोपलाई अस्वीकार गर्दै भन्छन्-“मेरा नाता गोता र कोही आफन्त यो टेन्डर हाल्नेमा संलग्न छैनन्।”
एनआरएनए भित्रको राजनीतिलाई नजिकबाट हेरिरहेकाहरुको बुझाइमा गत निर्वाचनमा वेबसाइट ह्याक गरेर नक्कली सदस्य बनाउने र वेबसाइट आफ्नो कन्ट्रोल बाहिर जान नदिने पक्षको छाया युद्धको आरम्भ मात्र हो । निर्वाचनको अवधिमा वेबसाइटमा देखिएका कमीकमजोरी हटाएर राम्रो, सजिलो र त्रुटि रहित बनाउने प्रयासलाई भने स्वार्थको लडाइले टुङ्गोमा पुग्न नदिने हो कि भन्ने आशंका बढाएको छ।


१५ माघ २०७४, सोमबार २३:२० मा प्रकाशित