रामकृष्ण ढकालका सुमधुर गीत सुन्दै ह्युस्टनका नेपालीहरुले नयाँबर्ष २०७६ उत्सव मनाउने

दूरबिन नेपाल     २१ चैत्र २०७५, बिहीबार ०१:३४    

ह्युस्टन/ नेपाली नयाँ बर्ष २०७६ यो पटक ह्युस्टनका नेपालीहरुले आधुनिक नेपाली गीत/संगीतका चर्चित गायक रामकृष्ण ढकालको ‘लाइभ’ सुमधुर गीतको मज्जा लिंदै मनाउन पाउने भएका छन्। 

नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले आगामी एप्रिल १३ का दिन साँझ सात बजे ह्युस्टनस्थित ताज हलमा आयोजना गर्न लागेको नयाँबर्ष २०७६ उत्सवका सन्दर्भमा रामकृष्ण ढकाललाई प्रत्यक्ष सुन्ने व्यवस्था मिलाएको हो। स्वर सम्राट नारायण गोपालको जस्तै ‘मेलोडियस’ स्वरका लागि समेत परिचित ढकालका कैयन उत्कृष्ट गीतहरुले उनका फ्यानहरुलाई मोहित बनाएका छन्। उनले विसं २०४५ सालमा १४ बर्ष कै उमेरमा रेकर्ड गराएको ‘हाम्रो सुन्दर संसार थियो’ बोलको गीत निकै मन पराइएको गीतमा पर्दछ। सानैदेखि नारायण गोपालका गीतहरु दुरुस्तै गाएर चर्चा कमाएका गायक तथा कम्पोजर ढकालले हिन्दी गीत/संगीतकी सुप्रसिद्ध गायिका लता मंगेस्कर संगै ‘बाचुन्जेली’ लाई भन्ने गीत समेत गाएका छन्। 

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ बोलको राष्ट्रिय गीत होस् कि ‘ओराली लागेको हरिणको चाल भो’ आधुनिक गीत उत्तिकै मन छुने खालका छन्। नेपाली गीत संगीतलाई नै मुख्य कर्म बनाएर संसार भर छरिएका नेपालीहरुलाई आफ्नो सुरिलो स्वरले मन्त्रमुग्ध बनाएका रामकृष्ण ढकाललाई प्रत्यक्ष सुन्न ह्युस्टनका नेपालीहरुले ३० डलरको प्रवेश पास लिनु पर्ने छ। कार्यक्रमबाट बचेको रकम नेपालीहरुको आफ्नै पशुपतिनाथ मन्दिर ह्युस्टनका लागि प्रयोग हुने गरि आयोजना गरिएको नयाँबर्ष उत्सव तथा रामकृष्ण ढकाल सांगितिक साँझमा बृहत सहभागिताका लागि एनएएचले सबै ह्युस्टनवासी नेपाली तथा नेपाली भाषी समुदायमा हार्दिक अपील गरेको छ।


२१ चैत्र २०७५, बिहीबार ०१:३४ मा प्रकाशित