डिभी लोट्री बन्द हुने संकेत, राष्ट्रपति ट्रम्पद्वारा ‘चारखम्बे’ आप्रवासन नीतिको घोषणा

दूरबिन नेपाल     १७ माघ २०७४, बुधबार ०५:२७ | ३४९० पटक पढिएको

अमेरिका, जनवरी ३०

मंगलवार साँझ आफ्नो पहिलो ‘स्टेट अफ द यूनियन’ मा राष्ट्रपति ट्रम्पले राष्ट्रपति चुनाव प्रचारका बेला गरेका धेरै प्रतिबद्धताहरु झल्कने खालको भाषण दिएकाछन्।एक घण्टा २० मिनेट लामो सम्वोधनका क्रममा उनले केही समययता दोहर्याइरहेको डिभी लोट्रीको खारेजीको विषयलाई नयाँ ‘चारखम्बे आप्रवासन सुधार नीति’ अन्तर्गत राखेर प्रस्तुत गरेका छन्। उनले अमेरिकी जनताको सुरक्षाको हितमा हुन लागेको आप्रवासन सुधार कानून बनाउन सहयोग गर्न दुबै पार्टीका सांसदहरुलाई आव्हान गरेका थिए। नको चारखम्बे आप्रवासन नीति भित्र डिभी लोट्री खारेजी संगै श्रीमान/श्रीमती र नाबालक छोराछोरी बाहेकका बृहत परिवारका सदस्यहरुलाई समेत ग्रिनकार्ड मार्फत अमेरिका आउन सक्ने प्रावधान (फ्यामली-चेन-माइग्रेसन) तत्काल बन्द गर्ने, मेरिट-बेज्ड आप्रवासन प्रणाली, अबैध र आपराधिक समूहको घुसपैठ, लागुपदार्थको तस्करी नियन्त्रणका लागि मेक्सिको बोर्डरमा पर्खाल निर्माण र बाल्यकालमा नै परिवारका साथ अमेरिका आएका ड्रिमर्स भनिने कागजपत्र बिहिन बालबालिकाहरुलाई अमेरिकामा स्थायी बसोवासको व्यवस्था सहित कुनै अपराधजन्य कार्यमा नलागेकाहरुलाई १२ बर्ष भित्र अमेरिकी नागरिकता पाउने निश्चित गर्ने जस्ता निकै महत्वपूर्ण आप्रवासन सुधार योजना समेटिएका छन्।

उनको घोषणा बमोजिम संसदमा बिचाराधिन विधेयक पारित भयो भने डिभी लोटरी मार्फत सहज अमेरिका आगमन र परिवारका सदस्यलाई समेत अमेरिका ल्याउन पाउने व्यवस्थामा हुने परिवर्तनले नेपालीहरु समेत प्रभावित हुने निश्चित छ। आमा-बुवा तथा दाजुभाई-दिदीबहिनीहरुलाई समेत ग्रिनकार्डका लागि स्पोन्सर गर्ने योजनामा भएका कैयन अंगिकृत (नेचुरलाईज्ड) अमेरिकी नागरिकहरुलाई संभावित आप्रवासन सुधार योजनाले प्रभाव पार्ने देखिन्छ।

अमेरिकी संसदको दुबै सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ’ र ‘सिनेट’को संयुक्त बैठकलाई सम्वोधन गर्दै राष्ट्रपति ट्रम्पले अन्तराष्ट्रिय सम्वन्ध, राष्ट्रिय सुरक्षा, व्यापार, रोजगारी बृद्दी, कर कटौती, कामकाजी परिवारका लागि तलबी-पारिवारिक बिदा जस्ता विषयहरु जोडदाररुपले उठाएका थिए। यस अतिरिक्त अमेरिकी सेनालाई अत्याधुनिक बनाउने, उत्तर कोरिया र इरानबाट अमेरिकी सुरक्षामा पैदा हुन सक्ने खतरा र आणविक हतियारको आधुनिकीकरण, उर्जा र निर्माणका नयाँ अवसर सृजना जस्ता विषय पनि उनको ‘स्टेट अफ द यूनियन’मा समेटिएको थियो। पूर्व राष्ट्रपति ओवामाको घोषणा विपरीत ‘ग्वान्टानामो वे’ स्थित संघीन अपराधमा संलग्न आतंकवादीहरुलाई राख्ने कैदखाना निरन्तर संचालनको आदेश दिएको बताएका ट्रम्प प्रशासन आइसआइस लगाएतका आतंकवादीहरुप्रति अझै आक्रामक रुपमा प्रस्तुत हुने संकेत दिएका थिए।

संसदमा सम्वोधनका क्रममा गत अगष्टमा टेक्ससमा आएको हर्रिकेन हार्भी तथा क्यालिफोर्नियाको डँढेलो जस्ता विपदहरुबाट कैयौंको जीवन रक्षा गर्न सफल सुरक्षाकर्मी र अग्नी नियन्त्रकहरुको उच्च प्रशंसा समेत गरेका ट्रम्पले देशलाई माया गर्ने अमेरिकी जनताको हितको रक्षालाई जहिल्यै पहिलो स्थानमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ट्रम्पले बारम्बार भन्ने गरेको ‘मेक अमेरिका ग्रेट एगेन’ र अमेरिका पहिलो’ शैलीको सम्वोधनका क्रममा धेरै पटक गड्गडाहट ताली र सांसदहरुको ‘स्ट्याण्डिंग ओवेसन’ समेत पाएका थिए।

केही डेमोक्रेट सांसदहरुले भने राष्ट्रपतिको सम्वोधन बहिष्कार गरेका थिए। राष्ट्रपति ट्रम्पको सम्बोधनको राजनीतिक प्रतिक्रिया जस्तो आएपनि सर्वसाधारण अमेरिकनहरुले उनको राष्ट्रवादी शब्दहरु सहितको भाषणलाई निकै मन पराउने संभावना छ।

तस्वीर: सिएनएन


१७ माघ २०७४, बुधबार ०५:२७ मा प्रकाशित