अमेरिकाकाे म्याहाटनमा मिथिला सभ्यता,गुन्जिए मुरलीधर

बद्रि गौतम -दूरबिन नेपाल     ३० चैत्र २०७५, शनिबार ०४:१३    

बद्रि गौतम -दूरबिन नेपाल

 

न्युयोर्क, अप्रिल १२ ।  न्युयोर्ककको म्यानहटनमा मैथिली कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली महावाणिज्य दुतावास न्युयोर्क र नेप्लीज अमेरिकन फाउण्डेशनद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रमको उदघाटन संयुक्त राष्ट्रसंघकालागि नेपालका स्थायी प्रतिनिधि अमृत कुमार राईले गरेका थिए । उदघाटन कार्यक्रममा मिथिला महोत्सव, मिथिला सभ्यता र यसको महत्वबारे न्युयोर्कका नेपाली महावाणिज्यदुत पुष्पराज भट्टराईले आफ्नो धारणा राखेका थिए ।

 

महोत्सवमा अजित साह लगायतका कलाकारद्वारा बनाइएका मिथिला सभ्यता झल्कने विभिन्न चित्र तथा कलाकृतिहरु प्रदर्शनी र विक्रिमा राखिएका थिए । न्युयोर्कमा रहेका नेपाली र अन्य देशका विभिन्न समुदायहरुको उपश्थिति रहेको सो कार्यक्रममा नेपाली तथा मैथिली सांस्कृतिक प्रस्तुतीहरुपनि देखाइएको थियो । गोलार्धको ठिक विपरित ध्रुवमा रहेको अमेरिका र आप्रवासीको सहर न्युयोर्कमा १५ सय बर्ष भन्दा पुरानो सभ्यता बोकेको मिथिलाको झल्को दिने महोत्सवले मातृभुमिबाट टाढा रहेका नेपालीलाई भावुक बनायो ।

 

 

न्युयोर्क आसपासमा बसोबासगर्ने विभिन्न समुदायमाझ नेपाली सभ्यता र संस्कृति चिनाउने यस्ता प्रदर्शनीले नेपाल र नेपाली समुदायको विशिष्ट पहिचानलाई अझ उजागर गर्न सघाउने बाणिज्यदुत कृशु क्षेत्रीले बताए । यस्ता प्रदर्शनी र महोत्सवले गैर आवासीय नेपालीका सन्ततीहरुलाई नेपाली सभ्यता, कला र संस्कृतिको जानकारी दिलाउन महत्वपुर्ण भुमिका खेल्ने महोत्सवमा सहभागी रमेश साहले बताए । अमेरिकामा पहिलो पटक आयोजना गरिएको मिथिला महोत्सवले भिजिट एअर २०२० लाई सघाउने अपेक्षा गरिएको छ ।

 

गुन्जिए मुरलीधर, दिइयो लाइफ टाइम्स अचिभमेन्ट अवार्ड

 

 

नेपाली र मैथीली माषाका गायक, संगीतकार तथा अभिनेता मुरलीधरको प्रस्तुती मिथिला महोत्सवको मुख्य आकर्षण बनेको थियो । पहिलो पटक अमेरिकामा सांगितिक प्रस्तुती दिन आएका मुरलीधरले नेपाली तथा मैथीली भाषाका आधा दर्जन गीत तथा गजलहरु गाएका थिए । अघिल्लो राती नेपालबाट आएर थकित भएपनि नेपालीहरुमाझ आफ्नो प्रस्तुति दिन पाउंदा निकै प्रफुल्लित भएको मुरलीधरले बताए । मुरलीधरले “उडायो सपना सबै हुरीले” बोलको गीत गाईरहंदा दर्शक दिर्घा निकै भावुक बनेको देखिन्थ्यो ।

 

त्यस्तै “तिम्रो ओठ गुलाबी” बोलको गजल गाइरहंदा दर्शकहरु तालमा ताल मिलाइरहेका थिए । नेपाली र मैथीली चलचित्र क्षेत्रमात्र होइन बलिउडमा समेत कुशल अभिनेताको छवि बनाइसकेका मुरलीधरका कैयन नेपाली र मथीली गीतहरु लोकप्रिय छन । “उडायो सपना हुरीले”, “तिम्रो लागि सबै जागिर छोडिदिए” त्यस्तै नेपाली चलचित्र देउकीको “चिसो चिसो सिरेटोमा हिउं पर्ला जस्तो छ” “निष्ठुरीलाई माया गरी आफैलाई जोगी बनाए” बोलका गितहरु अझैपनि निकै लोकप्रीय छन । कार्यक्रममा मुरलीधरलाई लाइफ टाइम्स एचिभमेन्ट अवार्डले बिभुषित गरिएको थियो ।


३० चैत्र २०७५, शनिबार ०४:१३ मा प्रकाशित