मध्यअमेरिकी बालबालिकालाई पुनर्मिलनका लागि बाटो खुल्यो

दूरबिन नेपाल     ३० चैत्र २०७५, शनिबार १३:५१    

 वासिङ्टन, ३० चैत  – ट्रम्प प्रशासनले मध्यअमेरिकी देशहरुमा अलपत्र परेका करिब दुई हजार ७०० बालबालिकालाई उनीहरुका संयुक्तराज्य अमेरिकामा रहेबसेका बाबुआमासँग पुनर्मिलन गर्न अनुमति दिन सहमति जनाएको छ ।

 

अमेरिकी अदालतमा ट्रम्प प्रशासनले बुझाएको कागजातमा बालबालिकाको पुनर्मिलन गर्ने उल्लेख गरिएको अदालत प्रशासनले स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकामा कानुनी रुपमा रहेबसेका बाबुआमाका मध्यअमेरिकामा रहेका बालबालिकालाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा गर्नुभएको आदेश विरुद्धमा अदालतमा मुद्दा विचाराधीन थियो ।

 

सन् २०१४ मा आरम्भ भएको मध्यअमेरिकी बाल कार्यक्रम मार्फत अमेरिकामा कानुनी रुपमा बसिरहेका बाबुआमाले आफ्ना बालबच्चालाई शरणार्थीको रुपमा अमेरिका ल्याउन पाउने व्यवस्था गरिएको थियो । यो व्यवस्था खासगरी मध्यअमेरिकी देशहरु ग्वाटेमाला, एलसाल्भाडोर र होन्डुरसमा लागू थियो ।

 

यी बालबालिकाका अधिकांश बाबुआमा अमेरिकामा अस्थायी संरक्षित व्यवस्था अनुरुप बसिरहेका छन् । यो व्यवस्था बमोजिम प्राकृतिक प्रकोप, नागरिक द्वन्द्व वा अरु समस्याबाट ज्यान जोखिममा रहेको अवस्थामा संयुक्तराज्य अमेरिकाले अस्थायी आश्रय दिन्छ । गत महिना, सानफ्रान्सिस्कोस्थित अमेरिकी मजिस्ट्रेट न्यायाधीश लरेल बीलरले सन् २०१७ को प्रावधान बमोजिम बालबालिकाको पुनर्मिलन कार्यक्रम पुनः आरम्भ गर्न ट्रम्प प्रशासनलाई आदेश दिनुभएको थियो ।

 

पुनर्मिलन प्रक्रियाको अन्तिम चरणमा रहेपनि ट्रम्प प्रशासनको आदेशबाट रोकिएको सम्पूर्ण प्रक्रिया पुनः आरम्भ हुनेछ । यसबाट करिब दुई हजार ७०० बालबालिकाले राहत पाउनेछन् । ट्रम्प प्रशासनको आदेश विरुद्ध मुद्दा दायर गरेको अन्तर्राष्ट्रिय शरणार्थी सहयोग परियोजना (आइआरएपी) ले एक वक्तव्य प्रशासन गरी सरकारले सबै बालबालिकाको आवेदनलाई स्वीकृत गर्ने र संयुक्तराज्य अमेरिका भ्रमण गर्न अनुमति दिने विश्वास व्यक्त गरेको छ ।

 

“अदालतको आदेशबाट हामी ज्यादै प्रसन्न छौं किनभने यस आदेशपछि वर्षौंदेखि अलगअलग रहेबसेको परिवारको पुनर्मिलन हुनेछ,” आइआरएपीका वकील लिन्डा इभार्ट्सले बताउनुभयो । अदालतको आदेशका बारेमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले कुनै प्रतिक्रिया दिएको छैन ।

(रासस-एपी)
––


३० चैत्र २०७५, शनिबार १३:५१ मा प्रकाशित