नयाँवर्ष अर्थात सृष्टि रचनाको सुरुवात र यसको महत्त्व भगवान ब्रह्माले यसै पवित्र तिथि र मितिमा सृष्टिको रचनाको सुरुवात गरेका थिए

प्रा.डा. दुर्गा दाहाल     ३० चैत्र २०७५, शनिबार १५:३६    

प्रा.डा. दुर्गा दाहाल
“ चैत्रमासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि
शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति !”
नयाँवर्ष  हरेक बाह्र महिनामा आउने गर्छ । पोहोर पनि आएको थियो, अहिले पनि आँगनमा आई सकेको छ र आगौँ पनि आउँछ ।

यसरी आउनु खुशीको विषय हो । किनभने यो आशा, विश्वास, अनुभूति र नवीनताको सन्देश लिएर आउने गर्छ ।
* महत्व:
हिन्दु धर्मशास्त्रको सिद्धान्त अनुसार नयाँवर्षको शुभारंभ चैत्र महिनाको शुक्ल प्रतिप्रदाबाट हुन्छ । हाम्रो धार्मिक मान्यता अनुसार भगवान ब्रह्माले यसै पवित्र तिथि र मितिमा सृष्टिको रचनाको शुरूवात गरेका थिए ।
महान गणितज्ञ भाष्कराचार्यले प्रतिपादन गरे अनुसार सत्ययुगको शुभारंभ पनि यसै दिनदेखि भएको थियो ।
यो दिनदेखि प्रकृति  पनि आँफै बोल्न थाल्छिन र नयाँवर्षलाई स्वागत गर्छिन । हामीले प्रकृतिको भाषा र भाव-भंगिमालाई बुझ्न सक्नु पर्छ । अनुभव गर्न सक्नु पर्छ । वृक्ष- वनस्पति हरूले आफ्नो जीर्ण वस्त्रहरू त्यागेर नवीनवस्त्र धारण गर्न थाल्छन । वायु र वर्षाले प्रकृतिको सर-सफ़ाई शुरू गर्छन । बोट-विरूवा र वृक्षहरू अंकुरित, पल्लवित, पुष्पित र फलित हुन थाल्छन । वायुमण्डलमा सुगंध र मादकता आउन थाल्छ । पशु- पंक्षीहरू पनि खुशीमा कुद्न, रमाउन र गीत गाउन थाल्छन । यत्र, तत्र सर्वत्र कोइलीको  सुमधुर आवाज़ र मयुरको मनमोहक नृत्य हेर्न पाईन्छ । पुष्पलता हरूको सुगंधबाट वायुमण्डलमा “सुगंधिम पुष्टिवर्धनम” को परिवेश र वातावरणको निर्माण हुन थाल्छ । भूमण्डल स्वच्छ र सुसज्जित हुन्छ । नवीन परिवर्तनको आभाष हुन्छ । तर हामीले महसूस र अनुभूत गर्न सक्नु पर्छ । प्रकृतिको संकेत, सन्देश र भाषा हामीले बुझ्न सकिउँ भने नयाँवर्ष संगको सन्निकटता, प्रेम र तादात्म्यता बढेर जान्छ ।
आकाश अथवा अन्तरिक्ष हाम्रो लागि एउटा विशाल प्रयोगशाला हो । ग्रह, नक्षत्र, तारा हरूको प्रभाव र दर्शनले  हाम्रो देह, मन र मष्तिष्क, गति र स्थितिमा युति, उदय र अस्तको अनुभूति हुन थाल्छ । भएन भने शारिरिक, मानसिक, सामाजिक अथवा आध्यात्मिक स्वास्थ्य मध्ये कुनै एउटा स्वास्थ्य ख़राब रहेछ भन्ने बुझ्नु पर्छ र तुरून्तै चिकित्सकको सल्लाह-परामर्श लिई हाल्नु पर्छ ।
नयाँवर्षको आगमनमा हाम्रो तन, मन, वदन र वतनमा नवीन परिवर्तनको आभाष र अनुभूति पैदा हुन्छ र प्रकृतिसंगको सन्निकटता महसुस हुन्छ ।
१. मधुमासको शुभारंभ हुने दिन
२. वसंत महिनाको आगमन
३. प्रकृति र पुरूषको शुभारंभको दिन
४. आभामंडलमा प्रकृतिको स्पर्श भएको दिवस
५. संसारभरि निर्मलता र कोमलताको प्रवेश
६. खेत-बारीमा हरियाली हुनु
७. मन, तन र बदनमा खुशी, उमंग, उत्साह र उर्जा प्रवेश हुनु
८. भगवान रामचन्द्रको राज्याभिषेकको पहिलो दिन
९. शक्ति, भक्ति र आराधनाको नवौँदिन
१०. नक्षत्रहरू शुभस्थितिमा जाने महान दिन
११. भगवान विष्णुको अवतारको पहिलो दिन
१२. आर्यसमाजको स्थापना दिवस
१३. पावनकाल: नाशीतोष्ण( न शीत न उष्ण ) आदि-इत्यादि
अत: नयाँ वर्ष ( नवसंवत्सर ) हाम्रोलागि एउटा महानचाड हो । मनुष्ययले प्रकृतिसंग प्रेम गरेको पहिलो दिन हो ।  सभ्य र भव्य ढंगले मनाउनु पर्छ यो दिवसलाई ।
* कसरी मनाउने ?
१. यो दिनमा सबैभन्दा पहिले ब्रह्ममुहूर्तमै उठेर स्नान गरि देवी-देवताको आराधना गर्नु पर्छ ।
२. सबैको कल्याणको निम्ति प्रार्थना गर्नु पर्छ ।
३. आफ्ना नराम्रा बानी हरूलाई आजै देखि परित्याग गरि नयाँ संकल्प ( new resolution)
लिनु पर्छ ।
४. सपरिवार मठ-मन्दिरमा गई पूजा-आजा गर्नु पर्छ ।
५. कुनै नयाँ बोट- विरूवा लगाएर ( भरसक घरका प्रत्येक सदस्यले ) प्रकृतिलाई स्वागत र सम्मान गर्दै यो धरालाई सुन्दर बनाउनु पर्छ ।
६. साथी-भाई अथवा घर- परिवारका सदस्य हरूसंग पिक्निक अथवा मनोरंजन गृहहरूमा जान सकिन्छ ।
७. कुनै उद्यान ( resort ) अथवा होटल- रेष्टुराँमा गएर प्रेमपूर्वक खाना खान सकिन्छ ।
८. कुनै टापू अथवा समुद्री उपकुल ( beach ) मा जान सकिन्छ ।
९. बनभोजका लागि जान सकिन्छ आदि-इत्यादि ।
आ- आफ्नो रूचि-अभिरुचि, सामर्थ्य, अनुकूलता, समय, परिवेश र स्थिति- परिस्थिति र अवस्था अनुसार विभिन्न किसिमले यो पर्व मनाउन सकिन्छ ।
अन्त्यमा, यो पंक्तिकारको तर्फबाट सबैलाई नयाँवर्षको हार्दिक मंगलमय शुभकामना छ ।
नयाँवर्षमा यहाँहरूका सबै चाहना, कामना, सदिच्छा र सपनाहरू साकार होउन भन्दै म परमपिता परमेश्वरसंग प्रार्थना गर्दछु ।
सबैको कल्याण होस ! जय नेपाल !

३० चैत्र २०७५, शनिबार १५:३६ मा प्रकाशित