अमेरिकामा मनायो दक्षिण एशियाली एसोशिएशनले होली

दूरबिन नेपाल     १ बैशाख २०७६, आईतवार ००:३७    

ल्यानक्यास्टर, अप्रिल १३ । अमेरिकाको पेन्सलभेनिया स्थित ल्यानक्यास्टरमा बसोबास गर्ने दक्षिण एशियाली नागरिकले
शनिवार संयुक्त रूपमा होली मनाएका छन् ।

 

साउथ एशियन एसोशिएशन ल्यानक्यास्टरद्वारा आयोजित होली कार्यक्रममा नेपाली, भारतीय तथा स्थानीय बासिन्दा एकै ठाँउमा जम्मा भई आपसमा रंग दलेर शुभ कामना साटासाट गरेका थिए ।

 

तिथिअनुसार तीन साता अगाडि नै होली भए पनि मौषमका कारण अहिले सामुहिक रूपमा मनाईएको आयोजकको भनाई छ । ‘तिथि अनुसार हामीले घरघरमा होली मनाएका हौ, तर यसरी पार्कमा आएर आपसमा खुसी र शुभ कामना साटासाट गर्न मौषम बाधक बनेकाले आज साईत जुराएका हौ,’ एशोशिनका महासचिव मनिष झुनझुनवालाले बताए ।

 

सार्वजनिक पार्कमा भएको होलीमा विषेश गरि बालबालिकाले रमाइलो मानेका दिए । अविभावक सहित आएका रैथाने बालबालिका पनि आपसमा रंग दल्दा दड्ग देखिन्थे ।

 

एसोशिएशनका सदस्य सन्जीव घिमिरेले बालबालिकालाई आफ्नो संस्कृति र परम्पराबारे जानकारी गराउन पनि यस्तो कार्यक्रम फलदायी हुने बताए । ‘ हाम्रो उदेश्य भनेको नै बालबालिकालाई आफ्नो संस्कृति बारेमा अपडेट गराउनु हो, अर्को तर्फ स्थानीय बालबालिकालाई पनि हाम्रो परम्परा बारे जानकारी हुने भयो ।’

 

‘हाम्रा बालबालिका अमेरिकाको चाडपर्व सँग अभ्यस्त हुदै गएका छन्, सार्वजनिक रूपमा यसरी चाड मनाउदा हाम्रा बालबालिका मात्र नभएर स्थानीयलाई पनि हिन्दु संस्कार बारे अबगत हुन्छ,’ घिमिरेले थपे ।

 

सोही अवसरमा बालबालिका बीचमा दौडको पनि आयोजना गरिएको थियो ।

 


१ बैशाख २०७६, आईतवार ००:३७ मा प्रकाशित