न्युयोर्कको सामुदायिक शिक्षा परिषदमा डा. अबिन ओझाको उमेदवारी मेरो उमेदवारीले नेपाली, दक्षिण एशीयाली तथा अन्य विद्यार्थी तथा अभिभावकको प्रतिनिधित्व गर्नेछ: प्राध्यापक ओझा

दूरबिन नेपाल     १ बैशाख २०७६, आईतवार ०५:१५    

दूरबिन नेपाल, न्युयोर्क अप्रिल १३

न्युयोर्कको सामुदायिक शिक्षमा परिषद अर्थात कम्युनिटि एडुकेशन काउन्सिलमा नेपाली मुलका प्राध्यापक डा अबिन ओझाले उमेद्वारी दिएका छन । न्युयोर्क राज्यको शिक्षा विभाग अन्तर्गत डिष्ट्रिक ३० को शिक्षा परिषदको सदस्यमा डा ओझाले उमेदवारी दिंदै भनेका छन, “ मेरो उमेदवारीले नेपाली, दक्षिण एशीयाली तथा अन्य विद्यार्थी तथा अभिभावकको प्रतिनिधित्व गर्नेछ । न्युयोर्कको सामुदायिक शिक्षा परिषदमा नेपालीको उमेदवारी सम्भवतः पहिलो पटक हो । नेपाली मुलका डा ओझा यदि शिक्षा परिषदमा निर्वाचित भएमा परिषदबाट मिल्ने सेवा सुविधाबाट नेपाली समुदाय लाभान्वित हुन सक्ने विस्वास गरिएको छ ।

नेपाल हुंदै अमेरिकासम्म लामो समयदेखि शिक्षण पेशामा आवद्ध प्राध्यापक ओझाले न्युयोर्कको क्वीन्सका सामुुदायिक विद्यालयमा पनि करिब दुइ बर्ष अध्यापन गराइसकेका छन । हाल सिटी युनिभर्सीटी अफ न्युयोर्क अन्तर्गतको योर्क कलेजमा प्राध्यापन गरिरहेका डा. ओझाले यदि न्युयोर्कको शिक्षा परिषदमा प्रतिनिधितव गरेमा अमेरिकामा, विशेष गरि न्युयोर्कमा रहेका नेपाली विद्यार्थीहरु लाभान्वित हुन सक्ने देखिन्छ । न्युयोर्क लगायत अमेरिकाभरी नै सामुदायिक शिक्षा परिषदलाई निकै सम्मानित रुपमा लिइन्छ । सामुदायिक शिक्षा परिषदले राज्यको शिक्षा विकास तथा योजना तर्जुमामा महत्वपुर्ण भुमिका खेल्न सक्छ । त्यस्तै परिषदले छात्रवृत्ति तथा राज्यबाट पाउने शैक्षिक सेवा सुविधामा छनौटकर्ताको भुमिका पनि खेलिरहेको छ । शिक्षा परिषदको निर्वाचनमा हरेक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्ष, कोषध्यक्ष, तथा सचिवले भोट हाल्न पाउनेछन । निर्वाचन मे २ देखि १४ तारिखसम्म अनलाइन भोटिङका आधारमा हुने छ ।


१ बैशाख २०७६, आईतवार ०५:१५ मा प्रकाशित