खुकुरी फुटबल क्लब बन्यो नयाँबर्ष-एनएचयू कप सकर च्याम्पियन

दूरबिन नेपाल     १ बैशाख २०७६, आईतवार १९:५१    

ह्युस्टन, एप्रिल १३/ नेप्लिज हेरिटेज यूनियन (एनएचयू)ले नेपाली नयाँबर्ष २०७६ को उपलक्ष्यमा आयोजना गरेको फुटबल (सकर) टुर्नमेण्ट अन्तर्गत आज भएको फाइनल खेलमा खुकुरी फुटबल क्लब बिजयी भएको छ। फाइनलमा खुकुरी क्लबले डेड रनर फुटबल क्लबलाई ६-२ गोलले हराएर प्रतियोगिताको च्याम्पियन घोषित भएको हो। यसअघि आजै भएको सेमिफाइनल खेलमा डेड रनरले चन्द्रसूर्य क्लबलाई हराएको थियो भने खुकुरी क्लबले ह्युस्टन थण्डरलाई हराउँदै फाइनलमा डेडरनरसंग आफ्नो भिडन्त निश्चित गरेको थियो। स्थानीय आठ वटा फुटबल क्लबहरुबीचको प्रतियोगितामा दुई चरणमा गरेर जम्मा १६ खेलहरु भएका थिए। आज दुईवटा सेमिफाइनल खेलहरु सहित फाइनल खेल पनि खेलाइएको थियो। 

ह्युस्टनस्थित कुलेन पार्कमा रहेको सकर ग्राउण्डमा बिहान साढे आठ बजेबाट शुरु भएको खेल हेर्न ह्युस्टनमा नेपाली समुदायबीच समाजसेवीका रुपमा चिनिएका ज्ञानेश्वर श्रेष्ठ, बच्चा तिवारी, चेज गुरुंग लगाएतका महानुभावहरु देखि क्लबका समर्थक नेपाली तथा नेपाली भाषी भुटानी युवाहरुको राम्रो उपस्थिति रहेको देखिन्थ्यो। 

बिजेता खुकुरी क्लबले नगद पाँचसय डलर सहित च्याम्पियन्स ट्रफी समेत प्राप्त गय्रो भने उपबिजेता डेडरनर फुटबल क्लबले नगद तीनसय र ट्रफी प्राप्त गरेको छ। त्यसैगरी तेश्रो स्थानको लागि समेत आज भएको खेलमा चन्द्रसूर्य फुटबल क्लबले नेपाली भाषी भुटानी युवाहरुको ह्युस्टन थण्डर फुटबल क्लबलाई हराउँदै  तेश्रो भएर नगद दुई सय डलर र ट्रफी हात पारेको छ।  

प्रतियोगितामा खुकुरी क्लबका खेलाडी विकास मगर सबै भन्दा बढी गोल गर्दै उत्कृष्ट गोल स्कोरर घोषित भए भने उत्कृष्ट गोलरक्षकको उपाधि पनि खुकुरी कै आशुतोष श्रेष्ठले पाउन सफल भए। यसैगरी चन्द्रसूर्यका खेलाडी कुशल कार्की ‘प्लेयर-अफ-दि-टुर्नमेण्ट’ घोषित भए। तिनैजना उत्कृष्ट खेलाडीहरुलाई नगद ५० डलर र ट्रफी प्रदान गरिएको आयोजकहरुले बताएका छन्। 

प्रवासमा छरिएर रहेका युवाहरुलाई खेलको माध्यमबाट एकिकृत गर्ने र नेपाली नयाँबर्षको शुभकामना पनि साटासाट गर्ने उद्देश्यले एनएचयूले नयाँ बर्ष कै अवसर पारेर ‘नयाँबर्ष-एनएचयू सकर कप’ यसपालीबाट शुरु गरेको पूर्व अध्यक्ष बिदुर दवाडीले दूरबिन नेपाललाई बताए। खेलले समाजमा एकता गर्न मद्दत गर्ने र समाजसेवी र सहयोगीहरुको सहयोग र सद्भाव पनि प्राप्त हुने भएकोले एनएचयूले सामुहिक खेल र नेपालीहरुबीच निकै चर्चित खेल सकर (फुटबल)  प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा दवाडीले प्रसन्नता व्यक्त गरे। 

सिटिजन्स अटो फाइनान्स मुख्य प्रायोजक रहेको ‘नयाँबर्ष- एनएचयू सकर कप’लाई आशियाना रेष्टुरेण्ट, हाम्रो अटोमोटिभ, न्यूयोर्क लाइफ़ इन्स्योरेन्सका बच्चा तिवारी, व्यवसायी तथा समाजसेवी ज्ञानेश्वर श्रेष्ठले सहयोग गरेको दवाडीले बताए। यसैगरी स्टर्लिंग म्याक्कल टोयोटा, शुभतारा एलएलसी, यूएसए फिस-गेम, कन्टिनेन्टल अटो सर्भिस र बिनोद ढकालले पनि खेल आयोजनाका लागि आर्थिक सहयोग गरेका थिए। 

एनएचयूका खेल संयोजक एवं उपाध्यक्ष जनार्दन कँडेल ‘जेके’ले संयोजन गरेको खेललाई सफल पार्न स्थानीय व्यवसायी तथा समाजसेवीहरुको सक्रिय सहयोग प्राप्त भएकोमा सबै सहयोगीहरुलाई कँडेलले धन्यवाद दिएका छन्। 

तस्बिर: बिदुर दवाडी/एनएचयू तथा सुजन पण्डित/दूरबिन नेपाल


१ बैशाख २०७६, आईतवार १९:५१ मा प्रकाशित