सुनिल साह र डा.अर्जुन बन्जाडे बिच तालमेल प्रमुख पदमा अगाडि बढाउने नामहरूमा छलफल

दूरबिन नेपाल     ४ बैशाख २०७६, बुधबार ००:०९    

अमेरिका ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका प्रमुख दाबेदारहरू मध्येका दुई जना वरिष्ठ उपाध्यक्ष सुनिल साह र बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बनजाडे मिलेर निर्वाचनमा जाने भएका छन् । सहमति अनुसार अध्यक्षमा सुनिल साह र वरिष्ठ उपाध्यक्षमा डाक्टर बनजाडेले मनोनयन दाखिला गर्ने भएका छन् । दुई प्रतिस्पर्धीलाई मिलाउन प्रयासरत संस्थापन पक्षले अध्यक्षका अरू दाबेदारहरूलाई पनि मिलाएर लाने कसरत गरिरहेको छ ।

अध्यक्षका दाबेदार देखिएकालाई मिलाउन महासचिवमा ल्याउने प्रयास चलिरहेको छ । यो प्रयास सफल नभएमा पशुपति पाण्डे, गोपेन्द्र भट्टराई र वर्तमान महासचिव वी आर लामा मध्ये एक जनालाई संस्थापन पक्षले महासचिवमा अगाडि बढाउने छ । यो समाचार तयार गर्दासम्मको समीकरण कायम रहेमा महासचिवमा पाण्डेको सम्भावना बलियो भएको छ । सचिवमा भानु खरेल र अमृत कटेल मध्ये एकजनालाई लिने विषयमा पनि छलफल चलिरहेको छ । संस्थापन पक्षले कोषाध्यक्षमा बन्धु पोखरेललाई अगाडि बढाउने लगभग निश्चित देखिएको छ ।

प्रमुख पदहरूमा समीकरण भएपछि आज राती सम्म क्षेत्रीय उपाध्यक्षहरूमा कसलाई अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने छ ।

अध्यक्षका दाबेदार सूर्य लम्साल, सञ्जय थापा र विनोद कुमार तिवारीलाई मिलाउने विषयमा पनि संस्थापन पक्ष र अरू पक्षहरू बिच छलफल चलिरहेको छ ।


४ बैशाख २०७६, बुधबार ००:०९ मा प्रकाशित