आठौं राष्ट्रिय खेलकुद : बास्केटबल र कवड्डीकाे  स्वर्ण विभागिय टिमलाई

दूरबिन नेपाल     ४ बैशाख २०७६, बुधबार १३:१८    

काठमाडाैँ, ४  बैशाख ।  आठौं राष्ट्रिय खेलकुद अन्तर्गत  बास्केटबलमा पुरुष तर्फ  आर्मी र महिला तर्फ  प्रहरी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा प्रदेश ३ चुक्यो ।

 

दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुष फाइनलमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित गर्यो । आर्मीका रामकृष्ण घतानेले २३ अंक जोडे । प्रहरीले प्रदेश ४ ७४–५४ ले हराउदै तेश्रो भयो । प्रहरीका विकास गुरुङले १४ अंक जोडे ।

 

महिलाको उपाधि भिडन्तमा प्रहरीले प्रदेश ३ लाई ४५–२९ ले पाखा लगायो । प्रहरीकी अनुषा मल्लले १३ स्कोर गरिन् । आर्मीले तेश्रो स्थानमा चित्त बुझायो । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ५१–३९ ले पन्छायो । विजयी टिमका लागि ग्रीष्मा सिलवालले ११ अंक जोडिन् । पुरुषमा १० र महिलामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

 

 

गल्फ : टंक र प्रतिभालाई स्वर्ण

 

आठौं राष्ट्रिय खेलकुदमा गल्फ तर्फ टंकबहादुर कार्की र प्रतिभा राईले स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको पुरुषमा टंक र महिलामा प्रतिभा पहिलो भएका हुन् ।

 

गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको पुरुषमा शुक्रबहादुर राई दोश्रो तथा निरज तामाङ तेश्रो भए । महिलामा कश्मिरा शाहले रजत तथा तारा कार्कीले कांस्य जिते । शीर्ष तीन स्थान हात पार्ने पुरुष खेलाडी प्रदेश १ तथा महिला खेलाडी प्रदेश ३ का हुन् ।

 

पुरुष टिममा प्रदेश १ (शुक्र, बविन्द्र राई, निरज) पहिलो, आर्मी (निश्चयजंग रायमाझी, सुवास तामाङ, राहुल विक) दोश्रो तथा गण्डकी प्रदेश (मदन गुरुङ, लक्ष्मीप्रसाद गुरुङ, महेन्द्र थगामी) तेश्रो भए । तीनदिने प्रतियोगितामा ६ महिलासहित ३४ खेलाडी सहभागी थिए । तीन स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

 

कबड्डी :  आर्मीलाई दोहोरो उपाधि

 

कबड्डीको पुरुष÷महिला दुवैको उपाधि आर्मीले जितेको छ । सातौं राष्ट्रिय खेलकुदमा पनि पुरुष÷महिला दुवैमा च्याम्पियन बनेको थियो । बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित गर्यो । महिला फाइनलमा आर्मीले अर्को विभागीय टोली प्रहरीलाई ३६–२१ ले हरायो । चैत ३० गतेदेखि सुरु प्रतियोगिताको पुरुष÷महिला दुवैमा समान १०–१० टिम सहभागी थिए ।

 

बुद्धिचाल : पुरुषोत्तम पहिलो

 

 बुद्धिचालको खुलामा प्रहरीका पुरुषोत्तम चौलागाईं पहिलो भएका छन् । प्रहरीका मनीष हमाल दोश्रो तथा आर्मीका सचिन महर्जन तेश्रो भए । नौ चरणको खेलमा तीनै खेलाडीले समान ७–७ अंक जोडेपनि हेड टु हेडका आधारमा शीर्ष तीन स्थान छुट्टाइएको हो । मनीषले पुरुषोत्तम र सचिन दुवैसंग बराबरी खेलेका थिए भने सचिन पुरुषोत्तमसंग पराजित भएका थिए ।

 

बर्दियाको ठाकुरद्वारामा भएको प्रतियोगिताको महिलामा आर्मीकी सिन्दिरा जोशी दोश्रो तथा प्रदेश १ की कृपा अधिकारी तेश्रो भए । नवौं चरणको खेलमा सिन्दिराले ७ तथा कृपाले ६.५ अंक जोडे । आर्मीकी सुजना लोहनीले यसअघि मंगलबार नै एक खेल अगावै स्वर्ण पक्का गरिसकेकी थिइन् । बुधबार नवौं चरणमा पनि जित हात पार्दै सुजनाले शत प्रतिशत जित निकालिन् । ९ अंक जोड्ने क्रममा सुजनाले अन्तिम खेलमा गण्डकीकी पूजा भण्डारीलाई पन्छाइन् । चैत २९ देखि सुरु प्रतियोगितामा ५२ पुरुष र २६ महिला खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

 

फुल कन्ट्याक्ट कराते : रुपक र मन्जु पहिलो

 

आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जु च्याम्पियन बनेका हुन् ।

 

नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । अघिल्लो खेलमा विनोद घाइते भएकाले वाक ओभर दिएका हुन् । मन्जुले फाइनलमा प्रदेश १ की सुजाता राईलाई हराइन् ।

 

पुरुष ६५ केजीमा प्रदेश ४ का गोविन्द रोकाले प्रदेश ५ का प्रकाश खड्का, ६० केजीमा प्रदेश ३ का सन्तोषकुमार लामाले प्रदेश २ का विश्व लामा, ५५ केजीमा आर्मीका चोपबहादुर बुढाथोकीले प्रदेश ४ का जीवन गुरुङ, ५० केजीमा प्रदेश ५ का रोमन सिन्जालीले एपीएफका सञ्जय राई र ४५ केजीमा आर्मीका धर्मेन्द्र रामले प्रदेश २ का विशाल कुश्वारलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते ।

 

 

महिला ५५ केजीमा आर्मीकी अनुपमा नेपालीले प्रदेश ४ की प्रिज्मा कुँवर, ५० केजीमा प्रदेश ४ की युनिका शेरचनले आर्मीकी शान्ति थापा मगर र एपीएफकी दीपा शाहीले प्रदेश ४ की सर्गम कुमाललाई पन्छ्याउदै पहिलो स्थान हात पारे ।

 

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा पुरुषमा ६ र महिलामा ४ गरी १० स्पर्धा समावेश थिए । ५४ पुरुष र ३६ महिला खेलाडी सहभागी थिए ।

 


४ बैशाख २०७६, बुधबार १३:१८ मा प्रकाशित