आठौं राष्ट्रिय खेलकुद : एथलेटिक्स सुरु, चन्द्रकलाको कीर्तिमान,ह्यान्डबलमा आर्मीको दोहोरो जित

दूरबिन नेपाल     ५ बैशाख २०७६, बिहीबार १३:२०    

दाङ, बैशाख ५  । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत बिहीबारदेखि दाङको बेलझुण्डीमा एथ्लेटिक्स सुरु भएको छ । १ सय मिटर दौडमा महिलातर्फ नेपाल आर्मीको सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छिन् । उनले १२ मिनेट १९ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश पाँचकी जयरानी चौधरीले रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरीले कास्य पदक जित्न सफल भइन् । यसैगरी एक सय मिटर पुरुष दौडमा एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले ११ सेकण्डमा दूरी पुरा गरे । कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनार ११ दशमलब १० सेकेण्डका साथ रजत पदक जित्दा आर्मीका आनन्द देव चौधरी ११ दशमलब १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भए ।

 

१० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन् । दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पँछाईसँग समय भने समान रहेको थियो । विश्वरुपाको टाइमिङ ३७ मिनेट ३० दशमलब ९ सेकेण्ड रहेको थियो । यस्तै प्रदेश तीन की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलब ६ सेकेण्डका साथ कास्य पदक जितिन् ।

 

१० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । उनले ३१ मिनेट ०३ दशमलब १ सेकेण्डमा दूरी पुरा गरेका छन् । गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलब ८ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८ दशमलब ३ सेकेण्डका साथ कास्य पदक जिते ।

 

सटपुट तर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन् । उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते । यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन् ।

 

त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले कीर्तिमानी स्वर्ण पदक जितिन् । उनले १२.०४ मिटरका साथ उनले स्वर्ण पदक जित्दा नयाँ रकेर्ड बनाइन् । उनले इटहरीमा भएको राखेप च्याम्पियनसिप बनाएको ११ मिटर ५६ सेन्टिमिटरको कीर्तिमानमा सुधार गरेकी हुन् । यसैगरी प्रदेश पाँचकी संगीता अधिकारी १० मिटर १५ सेन्टिमिटरका साथ रजत पदक जित्दा नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटरका साथ कास्य पदक जितिन् ।

 

ह्यान्डबल : आर्मीको दोहोरो जित

 

आर्मीले आठौं राष्ट्रियअन्तर्गत ह्यान्डबलमा दोहोरो जित हात पारेको छ । पुरुषमा आर्मीले प्रदेश ५ लाई ४२–१७ ले पराजित गर्यो । नेपालगन्ज रंगशाला परिसरको ह्यान्डबल मैदानमा भएको प्रतियोगिताको पुरुषमै गण्डकीले कर्णाली प्रदेशलाई ४०–१५ ले हरायो ।

 

नेपालगन्जको सदरलाइनस्थित जिल्ला प्रशासन कार्यालयमा भएको महिलाको प्रतिस्पर्धामा आर्मीले प्रदेश ३ लाई ३३–४ तथा प्रदेश ५ ले कर्णालीलाई १०–७ ले पन्छाए ।

 

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच शुभारम्भ गरे । पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् । पुरुषको १९ औं र महिलाको १० औं संस्करण हो । फाइनल बैशाख १० गते हुने छ ।

फाेटाे : राखेप


५ बैशाख २०७६, बिहीबार १३:२० मा प्रकाशित