नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा सिलिण्डर ग्यास विष्फोट

दूरबिन नेपाल     ५ बैशाख २०७६, बिहीबार १३:४९    

चितवन, ५ वैशाख : नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ । बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित भीमनगरमा घोल खेत नजिकै कुलोमा टायर राखेर ग्यास सिलिण्डर पड्काएको हो । यस्तै कालिका नगरपालिका–८ स्थित कालिका मन्दिर नजिकै रहेको कयर खोलामा राखिएको सिलिण्डर ग्यास पनि पड्किएको छ ।

 

खैरहनी नगरपालिका–३ चैनपुरस्थित लदरी खोला नजिकै खेतमा ग्यास सिलिण्डर राखिएकोमा पड्कन नपाएको रेग्मीले बताउनुभयो । बन्दको प्रभाव जिल्लामा परेको छ । बिहानैदेखि ठूला सवारी साधन चल्न सकेका छैनन् भने शिक्षण सस्था, बजार कलकारखाना ठप्प भएका छन् । साना सवारी साधन म्याजिक, भ्यान, अटोे रिक्सा, इ रिक्सा, मोटरसाइकल भने सञ्चालन भइरहेका छन् । राजमार्गमा चलेका सवारीलाई प्रहरीले सुरक्षा दिइ गन्तव्यमा पुर्याएको छ ।

रासस

फाेटाे : झोला चेकजाँच गर्दै प्रहरी, तनहुँको दमौलीमा बिहीबार फेला परेको शङकास्पद झोला चेकजाँच गर्दै प्रहरी । तस्वीर : कृष्ण न्यौपाने, दमौली, (तनहुँ), रासस


५ बैशाख २०७६, बिहीबार १३:४९ मा प्रकाशित