एनआरएनए अमेरिकामा देखियो आश्चर्यजनक मिलाप मेलमिलाप र समीकरण निर्माणका सूत्रधार

तोया दाहाल     ५ बैशाख २०७६, बिहीबार १४:०२    

तोया दाहाल

एनआरएनए अमेरिकाको निर्वाचनमा यस पटक मेल, बेमेल र तालमेलका आश्चर्यजनक घटनाहरू विकास भइरहेका छन् । परस्पर विरोधी व्यक्ति र समूहहरूको कतै मेल र कुनै समयका आफ्ना परम सहयोगी मित्रहरू बिचमा भने द्वन्द र दुश्मनी । अहिलेसम्म विकास भएको घटनाले नयाँ मोड लिएन भने एनआरएनए अमेरिकाको निर्वाचन पूर्व नै परिणामको सबैले अनुमान लगाउन सक्ने देखिन्छ ।

हाइकमाण्डको कमाल

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षका दाबेदारहरूलाई मिलाउन एक साता अगाडि विचित्रको हाइकमाण्ड गठन भयो । नेपाली जनसम्पर्क समिति र एनआरएनए अमेरिकाको राजनीतिमा दुस्मन भनेर सबैले चिनेका प्रमुख चार पात्र हाइकमाण्डमा बसे । एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जी सी, वर्तमान अध्यक्ष केशव पौडेल , नेपाली जन सम्पर्क समितिका अध्यक्ष आनन्द विष्ट र जनसम्पर्क समिति विश्व सञ्जालका अध्यक्ष विष्णु सुवेदी सम्मिलित हाइकमाण्ड बन्यो । ‘राजनीतिमा कोही स्थायी शत्रु र मित्र हुँदैन’ भन्ने युक्ति यहाँ पनि मिल्न गएको छ । एक अर्कोलाई सिध्याउन कुनै कसर बाकी नराख्ने यी पात्रहरू अहिले मिलाप र समीकरण गराउन एक ठाउँमा आइपुगेका छन् ।

पहिलो चरणमा उपाध्यक्ष सुनिल साह र बोर्ड अफ डाइरेक्टर डाक्टर अर्जुन बन्जाडे मिलाउने र अध्यक्षका अरू दाबेदारलाई पनि मिल्न प्रस्ताव गर्ने उनीहरूको रणनीति बन्यो ।

यो हाइकमाण्डको पछाडि डाक्टर यादव पण्डित, गौरि जोशी, हरिबोल भण्डारी, वेद खरेल, तरुण पौडेल लगायतका केही पात्रहरू प्रमुख भूमिकामा रहेका छन् । हरिबोल भण्डारीले डाक्टर वनजाडेलाई भेटेर एक कदम पछाडि हटेर मिल्ने वातावरण बनाउन आग्रह गरे । डाक्टर वनजाडे राजी भएनन् । तर भण्डारीका आकर्षक प्र्स्ताव र सुझाव पछि भने डाक्टर वनजाडे केही लचिलो बने । जित निस्किएमा इतिहास रचिन्छ । अति राम्रो । हारेर बिलाउने वा पुन अगाडि बढ्न सक्ने विकल्प सुरक्षित गर्ने भन्ने कुराको दुबिधामा परे डाक्टर वनजाडे ।

त्यस लगतै जनसम्पर्क समितिले विगतमा जस्तो कुनै उम्मेदवारलाई समर्थन गरेर गल्ती नगर्ने आशयको सन्देश खगेन्द्र जी सी र आनन्द विष्टबाट पाए । विष्णु सुवेदी र वेद खरेलको भूमिका पहिला नै प्रस्ट थियो । डाक्टर केशव पौडेल साथीहरूको सल्लाह र सुझाव अनुसार अगाडि बढ्दा राम्रो भन्दै मध्ये मार्गी धारमा उभिए । टेक्ससको तानातान र वेमेलमा कुनै पक्षमा उभिएर अर्को समूहलाई शत्रु बनाउनु भन्दा मिलाउन सक्दा राम्रो भन्ने सोचले यसमा सकारात्मक सहयोग गौरि जोशीको पनि रह्यो । सहकार्य र मिलापका लागि यी लगायतका प्रमुख पात्रहरूलाई संवादमा ल्याएर एउटै विन्दुमा पुर्‍याउने भूमिका खेले तरुण पौडेलले । अन्ततः सुनिल साह र डाक्टर वनजाडे मिलेर जानै पर्ने परिस्थिति निर्माण भयो ।

लम्सालको पाटो

डाक्टर बनजाडेलाई वरिष्ठमा अगाडि बढाउने तय भइसकेपछि महासचिवमा सूर्य लम्साललाई मिलाउने प्रस्ताव विभिन्न व्यक्ति मार्फत लम्सालकहाँ उनीहरूले पुर्‍याएका थिए । महासचिवमा अगाडि बढाउने भनिएका पशुपति पाण्डेलाई लम्साल महासचिवमा आएमा छोड्न राजी हुनु पर्ने सन्देश उनीहरूले दिइसकेका थिए । पाण्डे त्यसका लागि तयार भए ।

अध्यक्षका लागि गरेको लगानी, लामो समय देखि भएको मेहनत र सहयोगी समूहको दबाबले लम्साललाई पछि हट्न सजिलो छैन । लम्सालले महासचिवको प्रस्ताव स्वीकार गरेनन् । हाइकमाण्ड र सहयोगी समूहलाई लम्साल चुनौतीको रूपमा खडा भए ।

विधानले एनआरएनए अमेरिकाको पदाधिकारी भइसकेको व्यक्तिलाई मात्र आर सी , डी आर सी मा लान मिल्ने व्यवस्था गरेको छ । लम्साल कार्यसमिति सदस्य मात्र भएकाले त्यो पदमा अगाडि बढाउन सक्ने ठाउँ भएन । आइसीसी सदस्य र महासचिव बाहेक अरू ठाउँ नभएकाले लम्साल लचिलो नहुँदा मिलाउनेहरूलाई पनि सजिलो छैन ।

निर्वाचनको सामना गरेर जितेमा अध्यक्ष बनेर इतिहास रच्ने, आफ्ना योजना कार्यान्वयन गर्ने र सबैलाई मिलेर अगाडि बढ्न आह्वान गर्ने लम्सालको चाहाना र लक्षित विकल्प त छँदै छ । नतिजा आफ्नो पक्षमा नआएमा प्रतिपक्षको रूपमा उभिएर पहरेदारी गर्ने वा विगतका हरुवा उम्मेदवार जस्तै झगडियाको रूपमा अदालत धाउँदै एनआरएनए विरुद्ध मुद्दा गरेर अप्रिय बाटो रोज्ने भन्ने कुरा परिस्थिति र उनको मनस्थितिले तय गर्ने छ ।

अप्ठ्यारोमा सञ्जय

अध्यक्षका अर्का दाबेदार सञ्जय थापासँग पनि मिलेर अगाडि बढ्ने विषयमा उनीहरूको संवाद विभिन्न तहमा चलिरहेको छ । व्यक्तिगत हिसाबले थापा जित्ने समूहसँग मिलेर जानु पर्ने पक्षमा छन् । अध्यक्षबाट पछाडि हटेर अरूसँग मिल्न गएमा सहयोग नगर्ने प्रवासी मञ्चका थुप्रै नेताहरूको चेतावनी पछि उनी हच्किएका छन् । आफ्नो भोटको प्रमुख स्रोत प्रवासी मञ्चको दबाबमा थापा एनआरएनए अमेरिकाको अध्यक्षमा लड्नै पर्ने अप्ठ्यारोमा रहेको धेरैको बुझाइ छ ।

उनी कुनै समूहमा मिल्न गएमा प्रवासी मञ्चका अधिकांश उनको विपक्षमा उभिने लगभग निश्चित छ । सफलताको सिडी चढ्दै जाने सहज मार्गमा उनका राजनीतिक सहगोत्रीहरु नै अहिले बाधक बनेका छन् ।

नैरश्यता, आवेश, आक्रोश र प्रतिसोधको भावना डुबेका बेला परिस्थितिको सही मूल्याङ्कन र उचित मार्ग चयन गर्न गाह्रो हुन्छ । आफ्ना अन्ध समर्थक वा कडा विरोधी भन्दा केही टाढा भएर सच्चा शुभचिन्तकहरूको सल्लाह र सुझाव लिन नसक्दा सम्भावनाको ढोका बन्द हुन पनि सक्छ ।

मिल्नै नदिने, आफूले भनेको पदमा बाहेक मिल्दै नमिल्ने र जसरी पनि जता भए पनि मिलाउन खोज्नेहरूको प्रयासले कस्तो आकार ग्रहण गर्छ, अप्रिल १९ तारिख मध्यरात पछि छर्लङ्ग हुने छ । यसपछि आसन्न निर्वाचनको परिणाम कस्तो हुन्छ भनेर आकलन गर्न सकिन्छ ।


५ बैशाख २०७६, बिहीबार १४:०२ मा प्रकाशित