अमेरिकामा नेपालीले पानी जहाजमा मनाए नयाँ वर्ष

अमृत कुँवर     ६ बैशाख २०७६, शुक्रबार ०५:३९    

अमृत कुँवर

-ओकल्याण्ड ।
नयाँ वर्ष २०७६ लाई अमेरिकाको पश्चिम तटीय सुन्दर सहर सनफ्रानसिस्को वरपर बस्ने नेपालीहरूले यस पटक फरक ढङ्गले मनाएका छन् । भव्य पानी जहाजमा नेपाली रौनक भर्दै उत्सवको उल्लासमा नयाँ वर्ष धूमधामका साथ मनाएका छन् । प्रोजेक्ट इन्टरटेन्मेंट ग्रुप द्वारा आयोजना गरिएको नयाँ वर्ष क्रुज पार्टीमा झुम्दै रमाउँदै सनफ्रानसिस्कोको रात्रि दृश्यलाई अवलोकन गर्दै नयाँ अनुभवका साथ आनन्द लिए ।
शनिवार साँझ करिब ७. ३० बजे देखि सुरु हुने भनिएपनि ६.४५ देखि नै आएर लामबद्द भएको देख्दा उत्सवको उल्लासलाई सजिलै अनुमान गर्न सकिन्थ्यो ।
चिसो मौसम । नेपाली झन्डा फहराई रहेको पानी जहाज । नयाँ वर्षको उल्लासले ढाकेको समय । नेपाली भण्डा भएको जहाजमा तस्बिर लिनेको भिड लागि हाल्यो । आलामेड़ा हार्बरबाट सुरु भएको जहाज संसारकै आकर्षणका केन्द्रहरू वे ब्रिज, गोल्डेनगेट ब्रिज, ए टि एन्ड टि पार्क, ट्रेजरर आइल्याण्ड, सौसलितो तथा सनफ्रान्सिस्को एतिहासिक कारागार केन्द्र अल्कट्रेज आइल्यानको रात्रि दृश्यमा रमाउँदै प्यासिफिक ओसन सम्म पुगेर पुनः अलमेडा आएर नयाँ वर्षको उत्सव यात्रामा बिराम लगाएको थियो ।

डिजे कान्छा (अमृत) र डिजे एसबाबु (सन्दीप) को सङ्गीतमा झुम्दै गर्दा प्रवीण बस्नेत (कजिक्रियासन)ले सबैलाई आफ्नो क्यामरामा कैद गरेका थिए । आयोजक द्वय उद्दव केसी र हरि ओझाले भन्नु भयो “हामी खुसी छौँ विदेशमा आएर पनि यसरी नयाँ वर्ष मनाउँदै छौँ ।” सबैको साथ सहयोग मिलेकोमा धन्यवाद पनि दिएका थिए । धेरै जनाले चाहँदा चाहँदै पनि सरिक हुन नपाएकोमा दुख मनाउँदै आगामी वर्षमा यो भन्दा ठुलो क्षमताको जहाज लिने पनि आयोजक द्वयले बताए ।


६ बैशाख २०७६, शुक्रबार ०५:३९ मा प्रकाशित