अमेरिकाको न्युयोर्कमा नेपाल डे परेड २०१९ हुँदै महाबाणिज्य दुतावासको सक्रिय सहभागिता रहने

बद्रि गौतम     ७ बैशाख २०७६, शनिबार ०३:१३    

 

बद्रि गौतम, न्युयोर्क,१९ अप्रिल


अघिल्लो बर्ष जस्तै यसपटक पनि न्युयोर्कमा नेपाल डे परेड हुने भएको छ । यहि मे १९ तारिख आईतबारका दिन न्युयोर्कको म्याहनहाटन स्थित ३८ स्ट्रीट र मडिसन एभिन्युमा नेपाल र नेपालीको पहिचान झल्काउने नेपाल डे परेड २०१९ हुन लागेको हो । परेडको बारेमा छलफल गर्न अघिल्लो बर्षका कन्भेनर रविकिरण कोईरालाको आव्हानमा न्युयोर्कको ज्याक्सन हाईट्समा एक छलफल गरी पूर्व कोकन्भेनर सत्येन्द्र शाह को संयोजकत्वमा एक स्टेरिङ कमिटि बनाइएको छ । न्युयोर्कका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु छलफलमा जम्मा भएको जनाइएको छ ।

नेपाल डे परेड २०१९ को सन्दर्भमा कसैले चासो नदिएकोले आफुले टाउनहल बैठक बोलाएको पूर्व कन्भेनर कोईरालाले बताए । सन २०१६ देखि हरेक बर्ष नेपालको गणतन्त्र दिवस, बुद्ध जयन्ती तथा माउन्ट एभरेष्ट डेको अवसर पारेर गरिदै आएको छ । नेपाल डे परेडमा नेपाल झल्काउने विभिन्न मौलिक तथा सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिन्छ । त्यस्तै नेपाली राष्ट्रिय पोशाक दौरा शुरुवाल र टोपी तथा नेपालका विभिन्न जातजातीहरु झल्काउने पहिरनमा नेपालीहरुको उपश्थित हुने गर्दछ । यसपटकको नेपाल डे परेड भिजिट एअर २०२० को पूर्व सन्ध्यामा हुने भएकोले विशेष अर्थ राख्ने देखिन्छ ।

 


महाबाणिज्य दुतावासको सक्रिय सहभागिता रहने


भिजिट एअर २०२० को पूर्वसन्ध्यामा हुन लागेको नेपाल डे परेडलाई भव्य रुपमा सफल बनाउन न्युयोर्क स्थित नेपाली महावाणिज्यदुतावासले पनि चासो दिएको छ । नेपाल डे परेड २०१८ का कन्भेनर रविकिरण कोईराला सहितको टोलीले शुक्रबार महावाणिज्य दुतावासलाई नेपाल डे परेड २०१९ को बारेमा जानकारी गराएको थियो । भेटमा महावाणिज्य दुत पुष्पराज भट्टराईले नेपाल र नेपालीको पहिचान झल्काउने परेडलाई भव्य रुपमा सफल बनाउन दुतावासले सक्रिय सहभागिता जनाउने र सबैलाई उपश्थितिको लागि अव्हान गर्ने प्रतिबद्धता जनाएको कोइरालाले दुरबिन नेपालसंग बताए ।

 


अघिल्लो बर्ष सामान्य विवादका विच केही समुदाय अनुपश्थित भएकोले यसपाली सबैको सहभागीताबाट परेडलाई भव्य रुपमा सफल पार्न लागि परेको एनआरएनए, अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले जनाएका छन । आप्रवासीको सहर न्युयोर्कमा आयोजना हुने नेपाल डे परेडले विश्वका विभिन्न स्थानबाट आई बसोबास गरिरहेका मानिसहरुलाई नेपालको बारेमा जानकारी दिन र सकारात्मक सोच बनाउन महत्वपुर्ण भुमिका खेल्न सक्ने देखिन्छ ।


७ बैशाख २०७६, शनिबार ०३:१३ मा प्रकाशित