एनआरएनए अमेरिका चुनाव: सचिव पदका लागि कट्टेल र खरेलको उम्मेदवारी

दूरबिन नेपाल     ७ बैशाख २०७६, शनिबार १८:१३    

अमेरिका, एप्रिल २०/ एनआरएनए अमेरिकाको आसन्न चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय सीमा गए राती ११.५९ (इस्टर्न स्टयान्डर्ड टाइम) बाट सकिएको छ। सामाजिक संजालबाट उम्मेदवारी घोषणा गरेका कैयन व्यक्तिहरुले समय सीमा भित्र उम्मेदवारी दाखिला गरेनन् भने केहीले घोषणा गरेभन्दा फरक पदका लागि उम्मेदवारी दिएका छन्।

चुनावी तालमेलका प्रक्रियाहरु चलिरहँदा सचिव पदको लागि पूर्व घोषित उम्मेदवारहरु अमृत कट्टेल र भानु खरेल बीचको प्रतिस्पर्धाले पनि धेरैको ध्यान खिचेको छ। वर्तमान कार्यसमितिमा बोर्ड अफ डिरेक्टर रहेका कट्टेल ओक्लोहमाका नाम चले कै युवा व्यवसायी हुन् भने डालास बस्ने सूचना-प्रविधी क्षेत्रमा कार्यरत भानु खरेल टेक्सस च्याप्टरको वर्तमान अध्यक्ष हुन्। उता कट्टेल ओक्लोहमा केन्द्रित व्यवसाय गर्ने भएपनि डालास वरपर समेत उनको उत्तिकै चहल-पहल र दरिलो सामाजिक सम्पर्क देखिने गरेको छ। 

उम्मेदवारी दर्ता गर्ने बेलासम्म दुईमध्ये एकजनाले मात्र सचिव पदका लागि उम्मेदवारी दाखिला गरे हुने भन्ने धेरैको चाहना बिपरित दुबैजनाले उम्मेदवारी दाखिला गरिसकेको सामाजिक संजालबाट जानकारी गराइसकेका छन्। कट्टेल एनसीसीमा बोर्ड अफ डिरेक्टर भइसकेकाले माथिल्लो पदको लागि स्वभाविक आकांक्षी हुन् भने उता खरेल च्याप्टर अध्यक्ष भएर सक्रियता देखाएकाले अब एनसीसीको कुनै सक्रिय पदका लागि आफूलाई योग्य ठानिरहेका छन्। 

उम्मेदवारी फिर्ता लिने समयभित्र दुईमध्ये एकले उम्मेदवारी फिर्ता लिएनन् भने नेपालमा चितवन जिल्ला घर भएका दुबैजना युवा उम्मेदवारहरुबीच चुनावी भिडन्त हुने निश्चित छ। संभावना भएका दुबै युवा एनआरएनहरुबीचको प्रतिस्पर्धाले एनआरएनए अमेरिकाको केन्द्रीय समितिममा को पुग्ने हो भन्ने कौतुहलता चुनावको नतिजा नआउन्जेल रहिरहने देखिएको छ। 


७ बैशाख २०७६, शनिबार १८:१३ मा प्रकाशित