राष्ट्रपतिको समुपस्थितिमा पद तथा गोपनीयताको शपथ

दूरबिन नेपाल     ८ बैशाख २०७६, आईतवार १४:४०    

काठमाडौँ, ८वैशाख  : राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्मा हुनुहुन्छ ।

 

उहाँहरुमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुनुहुन्छ भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुनुहुन्छ । प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । उहाँ नेपाल सरकारको सचिव हुनुहुन्थ्यो ।

 

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।

 

राष्ट्रपति भण्डारीले उहाँहरु सातै जनालाई तत् पदमा गत शुक्रबार नियुक्ति गर्नुभएको थियो । सर्वाेच्च अदालतका न्यायाधीश न्याय परिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुनुभएको हो ।

 

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

रासस


८ बैशाख २०७६, आईतवार १४:४० मा प्रकाशित