अमेरिकामा आचार्य सिग्देलको “आँकुरापुन्ज” बिमोचित “नेपाली साहित्यको विकासमा योगदान” कृशु क्षेत्री

बद्रि गौतम दूरबिन नेपाल     ८ बैशाख २०७६, आईतवार २०:५३    

 

बद्रि गौतम\दूरबिन नेपाल 

 

न्युयोर्क, अमेरिका, अप्रिल २१ । आचार्य तथा न्युयोर्ककका चर्चित पण्डित पीपलमणि सिग्देलको साहित्यिक कृति आँकुरापुन्ज सार्वजनिक भएको छ । शनिवार न्युयोर्कको लङआईल्याण्ड स्थित आसामाई हिन्दु मन्दिरमा आयोजित विशेष कार्यक्रममा कृतिलाई नेपाली महावाणिज्य दुतावास न्युयोर्ककका बाणिज्यदुत कृशु क्षेत्रीको प्रमुख आतिथ्यतामा बिमोचन गरिएको हो । झण्डै पाँच घण्टा चलेको साहित्यिक कृति विमोचन कार्यक्रममा न्युयोर्कका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । शुभकामना दिने अधिकांश बक्ताहरुले विदेशमा रहेरपनि नेपाली भाषा र साहित्यको विकासमा पुस्तकले महत्वपुर्ण भुमिका खेल्न सक्ने भन्दै आचार्य तथा साहित्यकार सिग्देलको तारिफ गरेका थिए

 

स्वस्ती बाचन पछि नेपाली र अमेरिकी राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा कविता संग्रहका लेखक आचार्य कपीलमणि सिग्देलले विदेशमा बसेर भएपनि नेपाली साहित्यमा एउटा कृति थप्न सकेकोमा खुशी व्यक्त गरे । सिग्देलले कविता संग्रह भनिएपनि पुस्तकमा नेपाली कविताको विकासका विभिन्न आयामहरुको चर्चा गरिएकोले नेपालका विश्वविद्यालयहरुमा पाठ्यक्रममा पनि समावेशको पहल भइरहेको जानकारी दिए ।

 

 

कार्यक्रमका प्रमुख अतिथि बाणिज्य दुत कृशु क्षेत्रीले आचार्य सिग्देलको नेपाल देखिको योगदानको चर्चा गर्दै आँकुरापुन्जमा कविता कम र समालोचना धेरै भएकोले यसलाई समालोचनात्मक कृति भन्दा उपयुक्त हुने धारणा व्यक्त गरे । क्षेत्रीले आचार्य सिग्देलको अर्को कृति अझ उत्कृष्ट र कवितामय होस भन्ने शुभकमना दिए । त्यस्तै जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले सिग्देलको कृति उत्कृष्ट भएकोले यसको अंग्रेजी संस्करण प्रकाशित गर्न आफुले सहयोग गर्ने घोषणा गरे ।

 

एक सय ७६ पृष्ठ लामो कृतिमा नेपाली कविहरु, आदिकवि भानुभक्त, महाकवि लक्ष्मी प्रसाद देवकोटा, कवि शिरोमणी लेखनाथ पौड्याल, भुपी शेरचन तथा गोपाल प्रसाद रिमाल र अहिलेका पुस्ताका कवि, दुवशु र कृशु क्षेत्रीहरुका कविता र उनीहरुले नेपाली कविताको विकासमा प्रयोग गरेको साहित्यिक आयामको चर्चा गरिएको छ । त्यस्तै पुस्तकका सर्जक तथा लेखक आचार्य कपीलमणि सिग्देलका आफनै रचनाका कविताहरु पनि पुस्तकमा समावेश गरिएका छन ।


८ बैशाख २०७६, आईतवार २०:५३ मा प्रकाशित