फिलिपिन्समा भूकम्प :  पाँचको मृत्यु

दूरबिन नेपाल     ९ बैशाख २०७६, सोमबार १३:२४    

 मनिला, ९ बैशाख –  राजधानी मनिलामा समेत धक्का महसुस हुनेगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५.७ म्याग्नीच्यूडको भूकम्पका कारण दुई भवन भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

 

“भूकम्पपछि परिचालित सुरक्षाकर्मीको उद्धार टोलीले उत्तरी फिलिपिन्सको पोराक शहरमा भवनको भग्नावशेषमा फसेका तीन शवलाई निकालिसकिएको र लुबाओ शहरमा भवनको भग्नावशेषमा दुई मृत शरिर फसेका छन्,” एबीएस–सीबीएन टेलीभिजनले प्रान्तीय गभर्नर लिलिया पिनेडालाई उद्धृत गरी समाचार प्रशारण गरेके छ ।

 

साँझको समयमा आएको भूकम्पका कारण शहरी क्षेत्रमा विद्युत सेवा अवरूद्ध बन्दा कतिपय स्थानमा उद्धार कार्यसमेत प्रभावित बनेको उहाँले बताउनुभयो ।

 

अमेरिकी भूगर्भ सर्भेले फिलिपिन्समा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।

(रासस-सिन्ह्वा)


९ बैशाख २०७६, सोमबार १३:२४ मा प्रकाशित