अमेरिकी एसाइलममा नयाँ नियम : “लास्ट इन, फस्ट आउट” यूएससीआइएसमा करिब ३ लाख ११ हजार पेन्डिंग एसाइलम निवेदन

दूरबिन नेपाल     १७ माघ २०७४, बुधबार १९:२० | ८९७७ पटक पढिएको

अमेरिका, ३१ जनवरी / अमेरिकी नागरिकता र आप्रवास सेवा (यूएससीआईएस) ले बुधवार नयाँ नीति “लास्ट इन, फस्ट आउट” सार्वजनिक गरेको छ । देशको अध्यागमन सम्बन्धी हेर्ने निकायले एसाइलमको निवेदन दिएर पर्खनु पर्ने लामो समय र संख्यासमेत धेरै भए पश्चात् यसलाई प्रभावकारी रूपमा समाधान गर्नको लागि नयाँ नियम लागु गरेको जनाएको छ ।
यूएससीआइएसमा जनवरी २१, २०१८ सम्म करिब ३ लाख ११ हजार पेन्डिंग एसाइलम निवेदन रहेको हुँदा यसको दुरुपयोग गर्न सक्ने अवस्था बढ्ने हुँदा यसलाई प्रभावकारी बनाउन नयाँ नीति लागु गरिएको समेत सूचनामा जनाइएको छ । विगतको पाँच वर्षमा पेन्डिंग एसाइलम निवेदनको संख्या १ हजार ७ सय ५० प्रतिशले बढेको र नयाँ एसाइलम निवेदकको संख्या तीन गुणा बढेको समेत उल्लेख छ ।
नयाँ नियम अनुसार यूएससीआईएसले पहिले अन्तर्वार्ता तोकेर निवेदक वा यूएससीआईएसबाट सारेको छ भने सो निवेदनलाइ पहिलो प्राथमिकता, निवेदन राखेको देखि २१ दिन वा सो भन्दा नयाँ निवेदनहरूलाइ दोश्रो प्राथमिकता र अरू निवेदनहरूमा जसको निवेदन नयाँ छ उसैको पहिला हेर्ने जनाएको छ ।
तत्काल यूएससीआईएसले निकाल्दै आएको एसाइलम अन्तर्वार्ता कहिले पर्छ भनी निकाल्दै आएको सूचनासमेत जारी नगर्ने भएको छ । एसाइलम निवेदनलाई पहिलो आएकोलाई पहिला हेर्ने नीति सन् १९९५ देखि २०१४ सम्म करिब बिस वर्ष रहेकोमा पुन: “लास्ट इन, फस्ट आउट” नीतिमा फर्कँदा यसको दुरुपयोग गर्नेहरुको पहिचान गरी चाँडो बाहिर पठाउन सकिने समेत जनाइएको छ ।
यस नयाँ नियमले गर्दा यूएससीआईएसमा एसाइलम निवेदन दिएर वर्षौँ देखि अन्तर्वार्ताको लागि पर्खी बसेका नेपालीहरू समेत प्रभावित हुनेछन् ।


१७ माघ २०७४, बुधबार १९:२० मा प्रकाशित