रुँदै बिदाइ गरे, अव गीत र सङ्गीतमा मात्र गुन्जिरहनुहुने छ

बाबु आचार्य "खोटांग"     १४ बैशाख २०७६, शनिबार १८:०५    

बाबु आचार्य “खोटांग”

           -उहाँका गीत र सङ्गीतमा नडुबेका नेपाली सायदै होलान् । रेडियो टिभी र विभिन्न सञ्चार माध्यममा घन्कने यी गीत त भन्नै नपर्ला

सुरिलो रुख सल्लै हो… ममता दिपविम

झस्केर दुख्छ यो मुटु मेरो … लाक्पा शेर्पा

के भुल भयो प्रिया म सँग बोल्दिनौँ … नरेन्द्र प्यासी

मैले तिमीलाई माया गर्दा … विश्व नेपाली

फुलै फुलको गाउँबाट भएको छु टाँडा … मिलन अमात्य र नरेन्द्र प्यासी

कुनै न कुनै दिन जीवनमा तपाइ हामी सबैले गुनगुनाएका यस्ता धेरै गीतहरू हामी बिचमा सदा सदा रहने छन् तर हाम्रा प्रिय सङ्गीतकार, गीतकार ,गायक, निर्देशक, कोरियोग्राफर मदन दिपबिम ज्यूको भैतीक शरीर हामीसँग रहेन अब । १५ सय जति गीतका सङ्गीतकार मदन बस्नेत दिपबिम अब हाम्रो सम्झनामा मात्र रहनु हुनेछ ।

भन्छन् कोही जिन्दगी यो कर्कलाको पानी जस्तै हो… लगायत २ सय जति गीतका रचनाकार पनि हुनुहुन्छ मदन दिपबिम । जीवन र जगतको चक्रलाई सजिलै गीत र लयमा ल्याउने गीतकार अब हाम्रो मन मस्तिष्कमा र शब्द शब्दमा बस्नु हुने छ ।

फुलै फुलको गाउँबाट भएको छु टाँडा, स्वर्ग जस्तो जन्म भूमि बिर्सिएर आज… जस्ता हजारौँ परदेशीको विवशतालाई झल्काउने धेरै गीतका निर्देशक दिपबिम गीतका दृश्य-दृश्य र कथामा बस्नु भएको छ । नेपाली गीत सङ्गीतको आकाशमा कहिल्यै ननिभ्ने गरी ज्योति जलाएर गीत सङ्गीतका आदि देवसँग सरणागत अर्थात् शिव सायुज्य प्राप्त गर्नु भएको छ । पूर्वीय दर्शनले गीत–सङ्गीतका साधकलाई प्रत्येक जुनीमा भगवानको विशेष कृपा प्राप्त हुन्छ भन्ने मान्यता राख्छ । सायद यसैले होला यो जुननीबाट बिदा भए पनि हाम्रो तन , मन र मस्तिष्कबाट टाँडा हुनुहुन्न ।

क्यालिफोर्निया बे एरिया बसोबास गर्ने सयौँ नेपालीहरू भावुक हुँदै उहाँलाई यही 25 April 2019 Thursday बिदाइ गरे । दिपबिम सङ्गीतक क्षेत्रका ठुला व्यक्ति भएर पनि बे एरियामा सबैलाई आदर सम्मान गरेर बोल्ने बस्ने हिँड्ने गर्नु हुन्थ्यो । उहाँसँग बे एरियाका नजिका साथी भाइ मध्य म पनि एक थिएँ । उहाँलाई विगत ७–८ वर्ष देखि धेरै नजिकबाट चिन्ने र बुझ्ने मौँका मलाई जुरेकोमा भाग्यमानी सम्झन्छु । उहाँसँगका धेरै रमाइला घुमाई ,डुलाई ,बसाई र गीत सङ्गीतका अनुभव म सँग छन् । यदि कुनै दिन अवसर मिलेमा तपाइहरू समक्ष ल्याउने छु ।

मेरा आदर्णीय दिदीहरू, भाइ र सम्माननीय आन्टी सिवा बस्नेतलाई यो शोक सहन गर्ने धर्यता प्राप्त होस । तपाइले सिकाउनु भएका र बुझाउनु भएका कुरा कहिल्यै भुल्ने छैन । जीवन मरणको चक्रबाट हजुरलाई सदा–सदाका लागि मुक्ति मिलोस् । परमानन्दको यात्राका लागि हजुरलाई श्रद्धा सुमन ।

(साहित्यकार–गीतकार साथै नायक बाबु आचार्य “खोटांग” स्याक्रोमेन्टो, क्यालिफोर्निया निवासी हुन्)


१४ बैशाख २०७६, शनिबार १८:०५ मा प्रकाशित