‘यो जीवनको के भर छ’ म्युजीक भिडियो सार्वजनिक अमेरिकामा हुने बन्दुक हिंसाबाट हुने पीडाको बिषयमा म्युजीक भिडियो निर्माण

दूरबिन नेपाल     १९ बैशाख २०७६, बिहीबार १४:२३    

अमेरिका, २ मे/ लस एन्जल्समा रहेका युवाहरुले बन्दुक हिंसाको पीडाको विषयमा एक म्युजीक भिडियो सार्वजनिक गरेका छन् । अमेरिकामा बन्दुक हिँसाबाट नेपाली लगायत धेरै मानिसहरुको हत्या भएको छ ।
एस राज प्रोडक्शनका एस.राज (शङ्कर राज वाग्ले)को निर्देशन तथा छायाङ्कन रहेको भिडियोमा मुख्य कलाकारहरू लसएन्जल्स निवासी सुरज श्रेष्ठ र न्यु योर्क फिल्म एकेडेमीमा अध्ययनरत ब्राजिलिएन मूलकी कलाकार रेब्बिका, कुसुम थापा, इन्दिरा त्रिपाठी, डोल्मा लामा, चक्रपाणि मिश्र, चूडामणि शास्त्री को अभिनय रहेको छ । भिडियो एस राज प्रोडक्टसनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
बन्दुक हिंसा विरुद्ध जनचेतना फैलाउने भिडियोको अवधारणा सञ्चारकर्मी डोल्मा लामाले ल्याएकी हुन् । नेपालमा पनि हत्या हिंसा विरुद्ध जनचेतनामुलक भिडियोहरू बनाउँदै अभिनय गर्ने वाग्ले हाल अमेरिकामा समेत विभिन्न हिंसा, हत्या र सामाजिक विकृतिसँग सम्बन्धित जनचेतनामुलक भिडियोहरू निर्माण गरी रहेका छन् । भिडियोका निर्देशक वाग्लेले यसअघि चर्चित नेपाली धारावाहिक ‘मेरी बास्सै’मा राईफलेका भूमिकामा अभिनय गरेका थिए ।
अनमोल मणिले रचना गरेको ‘यो जीवनको के भर छ र !’ बोल रहेको गीतको सम्पादन हलिउडका तानो जोर्की,सङ्गीत वरिष्ठ सङ्गीतकार हरि लम्साल तथा संयोजन दिनेश शाहले गरेका छन् ।


१९ बैशाख २०७६, बिहीबार १४:२३ मा प्रकाशित