नालापानीको युद्ध अब दृश्यमा, “कथा नालापानीको” बृत्तचित्र न्युयोर्कमा प्रदर्शन अमेरिकाका अन्य शहर र युरोपमापनि प्रदर्शन गरिने

बद्रि गौतम     २२ बैशाख २०७६, आईतवार ०४:५६    

 

बद्रि गौतम, न्युयोर्क, मे ५
दन्त्य कथा जस्तो लाग्ने, तर गौरवशाली यथार्थ नालापानीको इतिहासले नेपालीहरुको रौं संधै ठाडो पार्छ । थोरै जनशक्ति, श्रोत साधनको अभावमा कसरी नेपाली विर विरंगानाहरुले नालापानीमा अंग्रेज विरुद्ध लडे र नेपालीको शिर उंचो बनाए भन्ने गौरवशाली इतिहास बा्ेल्छ नालापानीले । इतिहासका पानामा लेखिएको गौरवगाथालाई दृश्यमा देख्न पाउंदा कस्तो हुन्छ होला ? अब त्यो कौतुहलतापनि मेटिएको छ । नालापानीको इतिहासलाई अब बृत्तचित्रमार्फत दृश्यमा पनि हेर्न सकिने भएको छ । बरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछाने नेतृत्वको टिमले तयार पारेको ऐतिहासिक बृत्तचित्र “कथा नालापानीको” यतिबेला अमेरिकाका विभिन्न शहरहरुमा प्रदर्शन गरिंदैछ । बृत्तचित्रलाई शनिवार न्युयोर्कका दुई स्थानमा प्रदर्शन गरियो । न्युयोर्कको शेर्पा किदुक र लेफ्राक सिटीमा देखाइएको डकुुमेन्ट्रीमा दर्शकहरुको बाक्लो उपश्थिती थियो भने बृत्तचित्र निकै उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिए । गौरवशाली विषयवस्तु, ओजिलो आवाज, गहिरो अनुसन्धान र खंदिलो प्रस्तुतीले आफ्नो गौरवशाली इतिहास दृश्यमा हेर्न पाएकोमा दर्शकहरु निकै भावुक बनेका थिए । बृत्तचित्रको निर्माणमा नेपाल फाउण्डेसन फर एड्भान्स स्टडिज (एनइएफएएस–निफाज) ले दुई वर्ष लामो गहिरो अध्ययन अनुसन्धानमात्र गरेको छैन बिभिन्न इतिहासविद्हरुसंग कुराकानी गरी तयार पारिएको छ ।

पुर्खाको गौरवशाली इतिहासलाई दृश्यमापनि देख्न सकियोस र यसको प्रदर्शनलाई विश्वव्यापी बनाउन सकियोस भन्नका लागि आर्थिक स्रोत जुटाउन बिभिन्न मुलुकमा बृतचित्र देखाइएको, तीन दशकदेखि सञ्चारकर्ममा सक्रिय बरिष्ठ सञ्चारकर्मी हरिशरण लामिछानेले बताए । मे महिनाको तेश्रो साता टेक्ससको डालास, अस्टिन र ह्युस्टनमा प्रदर्शन गरिने कथा नालापानीकोलाई अमेरिकाका वसिङ्ग्टन सिटी, भर्जिनिया, बाल्टिमोेरमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको लामिछानेले जानकारी दिए ।

संसारभरी आफ्नो साम्राज्य फिजाइ सकेको अंगे्रजसंग कसरी नेपालीहरुले लडे र आफ्नो मुलुकको अस्तित्व जोगाएभन्ने जान्न बृत्तचित्र कोशेढुंगा सावित हुने, बृत्तचित्र हेर्न आएका मुरारी पाण्डेले बताए । नालापानीको युद्धमा नेपालीहरुको अदम्य शासह, युद्ध कौशल तथा राष्टप्रेमको गाथा तथा आफ्ना विरोधी सेनाको सम्मानमा अंग्रेजहरुले निर्माण गरेको स्मारक आदीले आफ्नो आंगै सिरीङ्ग बनाएको पाण्डेको भनाइ थियो । बृत्तचित्रमा नेपाली महिला पुरुष तथा बालबालिकाहरुको विरता र त्यागको गौरवशाली कथालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
विदेशी भुमिमा रहे पनि आफ्नो जन्म मुलुक र त्यसको गौरवलाई सायदै कसैले भुल्न सक्ला तर विदेशी भुमिमै जन्मेका नेपाली पुस्ताको लागि भने नालापानीको युद्धको गाथा कुनै दन्त्य कथा जस्तो लाग्न सक्छ । यसकारण अमेरिकाका विभिन्न शहर र नेपालीको बसोबास भएका अधिकांश मुलुकमा प्रदर्शन गरिने लक्ष्य लिइएको बृत्तचित्रका निर्देशक तथा बरिष्ठ सञ्चारकर्मी लामिछानेले बताए । बृत्तचित्र प्रदर्शनीमा एनआरएनए न्यूयोर्क च्याप्टर, नेपाली महाबाणिज्यदूतावास लगायतले समन्वयकारी भुमिका खेलेका थिए ।


२२ बैशाख २०७६, आईतवार ०४:५६ मा प्रकाशित