डालास टेक्ससका नेपालीमा हर्षको आशु

ध्रुव कुँवर     २३ बैशाख २०७६, सोमबार ०७:५०    

ध्रुव कुँवर

मे ५, अमेरिका ।

बढ्दो आबादी साथै मध्यम स्तरको आर्थिक प्रगतिका कारण टेक्सस डालास वरपर बसोबास गर्ने नेपालीहरू अमेरिकामा सञ्चालित नेपाली सङ्घ संस्थामा हस्तक्षेपकारी भूमिकामा उक्लिदै गरेको आभास हुन्छ । राजनीतिक र आर्थिक गतिविधिमा मात्र होइन सामाजिक ,सांस्कृतिक र भाषा संस्कृतिको जगेर्नामा उनीहरू लागि परेका छन् । डलासमा नेपालीहरूले नै पशुपतिनाथको भव्य मन्दिर स्थापना गरेका छन् । जहाँ नेपाली पुजारी र भक्तहरूबाट नियमित पूजा, आरती, भजन कृतन चल्छ । मन्दिरको नियमित कार्य र दैनिक व्यवस्थापनमा हक्की स्वभावका अध्यक्ष सुरेशचन्द्र पोखरेलको सक्रियता र समन्वयको तारिफ नगर्ने विरलै भेटिन्छन् ।

यति मात्र होइन नेपाली मन्दिर परिसरमा अग्रेजी लवज भएका केटाकेटीको नेपाली ध्वनि गुन्जिरहेको हुन्छ । नेपाली भाषा संस्कृतिलाई जोगाउन नेपाली सोसाइटी अफ टेक्सस (एनएसटी) लामो समय देखि सक्रिय छ । डालास क्षेत्रमा बस्ने नेपाली अभिभावकहरूका लागि एनएसटीको पहलमा सञ्चालित नेपाली भाषा कक्षा आकर्षणको एउटा कारण बन्न पुगेको छ । अहिले ८० जना नेपाली बालबालिका भाषा कक्षामा अध्ययनरत छन् । स्कुल सञ्चालक संयोजक समीर ज्ञवाली , गणित शिक्षक मुरली अधिकारी, संयोजक भोज बहादुर बलाएर लगायत १५ जना भन्दा बढी स्वयमसेवीको संलग्नता र नियमित मेहनतको जोडफल हो नेपाली भाषा कक्षा ।

अमेरिकाको भूमिमा आधारभूत नेपाली भाषा सिक्दै गरेका बालबालिका आइतबार दीक्षित भए । अर्थात् आइतबार उनीहरूको दीक्षान्त समारोह भयो । अभिभावकका मुहारमा हर्ष मिश्रित मुस्कान भरियो । आफ्ना नानी बाबुहरूले नेपाली भाषामा कुरा गर्न सक्ने भएको पाउँदा कतिपयका आँखाबाट हर्षका आशु झरे । डालासका नेपाली अभिभावकमा अन्तर आत्मामा खुसीको सञ्चार भर्न समन्वयकारी भूमिका निर्वाह गरेका एनआरएनए टेक्सस च्याप्टरका सभापति साथै एनआरएनए अमेरिकाको सचिवका लागि प्रतिस्पर्धा गरिरहेका भानु खरेल पनि निक्कै हर्षित थिए । १७ वर्षको किशोर अवस्थामा अमेरिका छिरेर यहीको संस्कारमा भिजेर पनि खरेलमा नेपाली भाषा संस्कृतिको जगेर्नामा देखिएको लगाव र रुचि सह्रानिय छ । खरेलले दूरबिन नेपालसँग भने “हामी नेपाली बोल्ने मात्र होइन संस्कार संस्कृति पनि सिकुन भन्ने पक्षमा छौँ ।”

नेपाली भाषा कक्षाको निरन्तरतामा नेपाली समाज टेक्ससको वर्तमान नेतृत्व पनि उत्तिकै सक्रिय छ । एनएसटीका अध्यक्ष सुमन थापाले दूरबिन नेपालसँग कुरा गर्दै भने “नेपाली भाषा कक्षाको निरन्तरताका लागि संस्था भित्र नियम र विधि बनाएका छौ । आउँदा दिनमा नेतृत्व परिवर्तन हुँदा नेपाली भाषा कक्षाको निरन्तरतामा कुनै समस्या आउँदैन ।”


२३ बैशाख २०७६, सोमबार ०७:५० मा प्रकाशित